प्रेम र किड्नी
लोप्साङ !
ए, लोप्साङ !
सुन न,
पलाञ्चोक जात्रामा
तिमीले किनिदिएको
यी चुराहरू
किन फुट्दैछन् हँ यस्तरी ?
के तिमी मलाई
प्रेम गदिर्नौ र ?
सुनेकी थिए–
पासाङले तिमीलाई
रुमाल किनिदिइन् अरे
उनी तिमीसँगै
भागेर शहर जाने
कुरा गर्दै थिइन्
मात्तिएकी केटी !
लोप्साङ !
ए, लोप्साङ !
हेर न,
बार्ह तिमालबाट
तिमीले ल्याइदिएको
टोटलाको फूल
तिम्रो जस्तै
हाम्रो आँगनमा
किन सप्रिएन हँ ?
के तिमी मलाई
प्रेम गर्दिर्नौ ?
याद छ ?
हाम्रो आप्पाले
तिम्रो पोङ स्वीकारेको बेला
ताम्बाको छेउ
लुक्दै लजाउँदै
मैले तिमीलाई
कस्तरी आँखा जुधाएकी थिएँ
तर, तिमी
डम्फू बजाउँदै
मलाई लिन
किन आएनौं ?
पापीमान्छे !
लोप्साङ !
ए, लोप्साङ !
आउ न हेर्न जाउँ,
माथि लेकमा–
यसपाली
किन गुराँस फुलेन हँ ?
के तिमी मलाई
प्रेम गर्दिनौं ?
ठिक छ
पासाङले तिमीलाई
रुमाल किनिदिइन अरे
तर हामीले खाएको तिम्रो पोङ ?
अनि,
तिमीले खाएको मेरो कसम ?
पर्खि,
मद्रासबाट
हाम्रो आप्पालाई त फर्किन देउ
किड्नी बेचिल्याएको पैसाले
हामी पनि
घरको छानो फेर्नेछौं
र, म पनि तिमीलाई
बुट्टे रुमाल किनिदिनेछु
बुट्टे रुमाल !
प्रतिकृया दिनुहोस