• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
देश/प्रदेश

श्रीमानको हत्याराबाट पैसा असुल्ने महिला पक्राउ

भोजपुर । श्रीमानको हत्याको घटना लुकाउन हत्यारासँग पैसा लिएको अभियोगमा प्रहरीले भोजपुर नगरपालिका–४ सिद्धेश्वर दावाकी मीना मिजार सार्कीलाई पक्राउ गरेको छ । 

 

घटनामा संलग्न रहेको आरोपमा अन्य पाँच जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । विसं २०७४ माघ २७ गते स्थानीय पूर्णबहादुर सुयललाई छिमेकी मोहनबहादुर रम्तेलले चम्पिरा खोलाको भिरबाट धकेलेर हत्या गरेको आरोप छ ।

 

 घटनापछि छिमेकी हरिबहादुर लम्सालले घटना लुकाउन अभियुक्तसँग रु तीन लाख मागेको बयानमा उल्लेख छ । केही समयपश्चात् मृतक पूर्णबहादुरकी श्रीमती मीनाले मुख्य अभियुक्त रम्तेलसँग पैसा मागेको खुल्न आएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिए । 

 

स्थानीय मनकुमार मिजार, सन्तोष मिजार र विष्णु बयलकोटीले मीनालाई हत्याराबाट पैसा दिलाउन सहयोग गरेको आरोप लागेको छ । रम्तेलसँग मीनाले  रु दुई लाख लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

 आफ्नै पतिको हत्याराबाट लिएको सो रकम सदरमुकामस्थित एक सहकारी संस्थामा रु एक लाख ७० हजार र रु ३० हजार आफ्नी सासूलाई भैँसी किन्न दिएको बयानका क्रममा खुलेको छ ।रासस

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार