• बिहीबार ५-५-२०७६/Thursday 08-22-2019
डबली

सरोकार 

  शनिबारको दिन थियो ।


    म झ्यालमा बसेर अखबार हेर्दै थिएँ । एक्लै थिएँ म डेराको कोठामा । खास खबर केही थिएन अखबारमा । खोज्यो भने बजारमा प्रायः नभेटिने खालको पत्रिका हो यो । पत्रकार मित्रले उपलब्ध गराएको पत्रिकामा के नै हुन्थ्यो । तैपनि एक प्रकारको आलस्यले गर्दा त्यसमाथि आँखा गाडिरहेको थिएँ ।
    

धारामा पानी आएको छैन । त्यसैले नुहाउने कुरा पनि आएन ।  
  

 झ्यालमै बसेर हेर्न थालें बाहिर । म यो घरको सबभन्दा माथिल्लो तलामा होइन, त्यसभन्दा एक तलामुनि बस्छु । अगाडि फोहर चोक छ । त्यही फोहर चोक भएर हिंड्नुपर्छ मैले । अतः त्यहाँका कतिपय कुराहरुसँग मेरो पनि सरोकार रहेको हुन्छ । 
    

शनिबारको चोक अरु दिनको दाँजोमा खासै अन्तर छैन । 
  

 पट्यार लागेर सुत्ने विचारले जसै म उठ्न खोजें झ्यालबाट । पल्लो घरकी एउटी बूढीले मलाई एकैछिन रोकी ।
  

 ए बाबू , कति बज्यो हँ ? 
 

   मैले घडी हेरेँ । 
    बाह्र बज्नै लाग्यो ।, मैले भनेँ ।
  

 कम्तीमा दिनको एक पटक मसँग त्यो बूढी आइमाई समय सोध्ने गर्छे । मलाई थाहा छैन यो उमेरमा समयको जानकारी कत्तिको आवश्यक छ । 
 

   त्यस बूढीको नाति आफ्नो कोठामा बसेर अहिले क्यासेटमा हिन्दी गीत घन्काएर नाच्ने अभ्यासमा लागिरहेछ । एकैक्षणमा अब चोक घन्कन बेर छैन । त्यस आवाजले बूढी कान थुन्दै भगवान्को पुकारा गर्न थाल्छे ।
  

 उच्चाट लागेर आयो । सुत्ने मन त छ तर सुतें भन्देखि जीउ अझ आलस्यको पोको हुन थाल्छ । त्यसैले सुत्ने विचार छोडेँ । 
 

म बीचबीचमा बार्दली गाँसिएको छेउको घरमा दृष्टिपात गर्दै छु । भन्ने हो भने घर – बार्दलीसँग मेरो कुनै तादात्म्य छैन । कुनै लेनदेन पनि छैन । त्यहाँ गहिरिनुपर्ने त्यत्रो ठूलो कुरो पनि छैन । तैपनि फुर्सद भयो कि त्यहाँ अलिबेर आशाकुति भएर हेर्ने गर्छु । अलिबेर आँखालाई त्यतातिर बिछ्याउने गर्छु । यो मेरो एक प्रकारको बिहान उठेर दाँत माझ्नु , हातमुख धुनु जतिकै दैनन्दिन विषयका सामान्य आवश्यकताभित्र पर्दछ । 
    

त्यस बार्दलीमा प्रायशः एउटी केटी देखिने गर्छे – कोपिलाबाट फुल बन्ने क्रममा लागेकी । उमेर मुस्किलले चौध– पन्ध्र होला । उमेरको हिसाबले बैँस अलि छिट्टै फुलेको छ । केटी भर्खर उफ्रन जानेको बाछी जस्ती अथवा भर्खर उड्न सिकेकी बचेरीजस्ती छे । केटी कहिले गुनगुनाउँछे, कहिले कौसीमा गएर आकाश हेर्छे । एकैछिनमा चोकमा पुग्छे । घरीघरी उसलाई आफ्नो बसाइ फेरिरहनुपर्छ । 
    

कहिलेकाहीँ मलाई उदेक लाग्छ त्यसको चुलबुलेपनदेखि । 
    

म कोठामा हुँदा त्यतातिर अलि गहिरिएर हेर्ने गर्छु । त्यस हेराइमा कुनै रतिरागको तरंग छ जस्तो मलाई कहिल्यै भएन । म एक प्रकारले त्यसको किशोरवयका चञ्चलताहरु, अबोधता हेर्न मन पराउँथें । त्यसको अनुहारबाट टप्किने निश्छलता चित्ताकर्षक थियो । 
    

तर आज त्यहाँ केटी देखिएकी छैन । 
 

   फिल्म हेर्न गई कि !
  

 केटाको कोठाबाट बजेको डिस्को म्युजिक चोकमा फैलिरहेछ । चोकको एउटा कुनामा दुई जना स्वास्नीमान्छेहरु आपसमा वार्तालाप गर्दै छन् । अलि पर एउटी सुत्केरी आइमाई इचा (नवजात बच्चाको फोहर पुछ्ने) धोइरहेकी छे । 
    

केटाले क्यासेटमा डिस्को म्युजिक झिकेर अर्को गीत बजायो । अर्को केटो किताबमा आँखा गाड्दै बीचबीचमा केटी देखिने झ्याल र बार्दलीतिर आशातीत दृष्टि दिंदै छ ।
  

 बार्दली अझै एकान्त छ । 
  

 केटी भएकी भए यतिखेर क्यासेट बजाउने केटोसँग गफ गर्दै होली – लभस्टोरीको गीत बजाऊ न ।
  

 केटीको फरमाइसमा केटो मक्ख पर्दै भनेकै गीत बजाइदिन्थ्यो ।
 

   तिमीले दबंग हे¥यौ ?
  

 अहिले हो र ।
  

 अनि कोहीनुर नि ?
  

 त्यो पनि हेरें ।
  

 तिनीहरु फिल्मकै बारेमा बढी कुरा गर्थे । मानौं अन्य कुरा जिन्दगीमा अत्यन्त गौण छन् ।
  

 मलाई अचम्म लाग्छ । सिनेमाका कपोलकल्पित एवं नाटकीय दृश्यहरुमा कति मग्न हुनसक्या , फिल्मकै परिदृश्यहरुमा कसरी आफूलाई भुलाउन सक्या, जबकि आँखासामुको जिन्दगी त्यसभन्दा ज्यादै भिन्न छ । 
  

 एकदिन त्यही केटी आमासँग बाझिरहेकी थिई । केटीले सायद फिल्म हेर्न पैसा मागेकी थिई अथवा हुन सक्छ आफ्नो कुनै आवश्यकता पुरा गर्न ।
    

किन चाहियो तँलाई त्यतिका पैसा ....?

    ...
    पर्दैन जान, चोरेर ल्याएको धन छैन तेरो बासित ।
  

 अरुले भने कति ल्याउँछन् हामीलाई लाज हुँदैन ?
  

 तँलाई अरुको देखासिकी गर्नुप¥र्यो हैन ? अरुले हात्ती चढ्यो भन्दैमा तँ के पर्खाल चढ्छेस् ?
  

 ००
    तैपनि ऊ कहीँ न कहीँबाट आफ्नो आवश्यकता पुरा गर्थी । नयाँनयाँ फेसन लाउँथी । जतिपल्ट झ्याल वा बार्दलीमा देखापर्थी उतिपल्ट पहिरन पनि फेरिएको हुन्थ्यो । उसको पहिरन फेराइबारे मेरो ध्यान त्यस बेला मात्र गयो जब मकहाँ एउटा साथी केही घण्टा बसेर गयो । त्यसले पो मलाई यस कुराको सुइँको दियो । तीन– चार दिन मैले पनि ध्यान दिएँ । कुरो हो रहेछ । तर चार पाँच पटकपछि पहिरन पुनः दोहोरिन्थ्यो । 
    

भात खाएर डेरामा फर्किंदा नौ बज्न लाग्दैथ्यो । एकछिन किताब हेर्न बसें । मेरा दृष्टिहरु किताबमाथि नै थिए । यसै बेला पल्लो घरबाट केही गनगन तथा खबलबलजस्तो सुनियो । कुनै स्वास्नीमान्छे सुँकसुँकाएको जस्तो सुनें । मैले खास चाख देखाइनँ । चोकको हाल यस्तै हो । हाँसो, रोदन एवं रडाको घरभित्रकै अंग हुन् । 
  

 म सुतें ।
  

 मलाई आज के भो थाहा छैन । तर सपनामा मैले त्यस किशोरी केटीलाई भेटेँ– कहीँ जान सजिएर आएको अवस्थामा नजिकैबाट उसलाई हेरेँ । कोपिलाको अवस्था लुप्तप्रायः थियो । वास्तवमा त्यो मसँग कुरा गर्न आएकी थिई ।
    

किन ?, मैले सोधेथें ।
    

त्यो हाँसी ।
    

दाइलाई हिरोमा को मन पर्छ ?
  

 उसको सोधाइले म छक्क परें ।
  

 मलाई त सलमान मन पर्छ, दाइ चिन्नुहुन्छ ?, उसले भनी । 
  

 अहँ ।
  

 अनि रितिक  ...अभिषेक  .. ?
  

 मैले नकारमा टाउको हल्लाएँ ।
  

 नेपाली हिरोमा को मन पर्छ ?, मैले पनि सोधें ।
  

 शिव श्रेष्ठ, राजेश हमाल,  ... ।
  

 तिमी यीमध्ये कोसँग पाए बिहे गर्न मन पराउँछ्यौ ?
  

 म त कुनै पनि हिरोसँग बिहे गर्न चाहन्छु ।, यति भनेर हाँस्दै दृश्यफलकबाट भागी त्यो केटी ।
  

 बिउँझंदा पनि म छक्क परें । एकछिन त म रनभुल्लमा परेँ । त्यो केटी किन सपनामा आई ? यस कुराले पनि म अचम्मित भएँ ।
 

   झ्याल खोलेँ । अलिकति उज्यालो कोठाभित्र छि¥यो । घाम धेरै लागेको थिएन ।
  

 मुख धुन धारामा जाँदा घरबेटीले मलाई भनी – थाहा पाउनुभयो बाबु ?
  

 के आमै ?, म आमै भन्ने गर्छु घरबेटीलाई । 
    

त्यो नक्कली त भागिछ ।
    

नक्कली अर्थात् त्यही किशोरी केटी ।
  

 कोसँग ? 
    

खै , के थाहा ।, घरबेटी गाग्री बोकेर भ¥याङ उक्लन थाली ।
    

कताकता मलाई च्वास्स घोचेजस्तो भयो । समयभन्दा अपरिपक्व केटी । विचारभन्दा सानी केटी । कुन केटोमा उसले शिव श्रेष्ठ, सञ्जय दत्त वा अनिव कपुरको झल्को पाई ? त्यसो आगामी जिन्दगी .. । त्यसप्रति मेरो मनमा टीठ पलाएर आयो । 
  

 म लगभग विमूढ अवस्थामा कोठामा आएँ । आँखामा त्यही केटीको अबोध अनुहार नाच्न थाल्यो । झ्यालबाट त्यसको घर हेरेँ । घर शून्यजस्तो लाग्यो । झ्यालहरु खुलेका थिए तर पर्दाहरु खुलेका थिएनन् ।
  

 डिस्को बजाउने केटाको कोठामा गीतका कुनै हरफहरु छैनन् । हातमा किताब च्यापेर बस्ने केटो पनि आज झ्यालमा छैन ।
    

यस बेला सामुन्नेको घरबाट त्यही बूढी निस्की र सोधी – कति बज्यो बाबू ? 

००
भक्तपुर । 
 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार