• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
डबली

भाग्य फुटेकी आरुषी

शिशिर ऋतुको उजाड प्रकृतिलाई अन्त्य गर्दै, नाङ्गा रहेका बोट विरुवाहरुमा आँकुरा पलाउँदै गर्दा, हरेक पुष्पपुञ्जमा नविनता आई डाँडा पाखाहरुमा लालिगुराँस ढकमक्क भई फुलिरहेको बेला, रुखका टोड्कामा बसेर कोइलीले सुमधुर आवाज दिई वातावरण संगीतमय बनाउँदै प्रकृतिको सौन्दर्यमा डुवुल्की मारेर प्रकृति नै रमाइरहेको वेला वि.सं २०४७ साल वैशाख २५ गते  रुकुम जिल्ला तत्कालिन दुली गाविस वडा नं ५ मा आरुषीको जन्म भयो । यस धर्तीमा पहिलो पटक आँखा खोल्दा आरुषीको घर भित्रको वातावरण र बाहिरको प्रकृति बीचको तादम्यता कति पनि मिलेको थिएन । बाहिर बसन्तको वहार अनि मनोरम प्रकृति, तर आरुषीको घरपरिवार भने अभाव र गरीबीमा तड्पिएका थिए । सुत्केरीलाई खुवाउनको लागि घरमा पकाउने चामल समेत थिएन । 

 

बाबा रोजीरोटीको लागि भारतमा थिए, वर्षको एकचोटी घरमा आँउथे, समय समयमा घरखर्च पठाइदिन्थे । त्यही पैसाले हजुर आमाले घर व्यवहार चलाउँदै आएकी थिइन । आरुषीको आगमन पछि हजुरआमाले नातिनीको हेरचाह गर्ने र घरभित्रको काम गर्न थालिन । आमाले खेतवारी, गाईबाख्रा गोठाला तथा घर बाहिरको सम्पूर्ण काम सम्हालिन । यसैगरी दिन वित्दै थिए ।  आरुषी छ वर्ष पुगरे सात वर्षमा लागेकी थिई, भर्खर स्कुल जान सुरु गरेकी थिई । वि.सं २०५३ साल वैशाख २६ गतेका  दिन आरुषीकी आमा सधै झैं बाख्रा लिएर जंगल गइन, तर जंगलमा बाख्रा चराई बेलुका घरमा फर्कने बेला आफूले टेकेको ढुङ्गा चिप्लेर  भिरबाट खसेर उनको मृत्यु हुन्छ ।आरुषीका बाबा श्रीमतीको दुःखद घटना भएपछि आसौच वार्न एक चोटी मात्र नेपाल आए त्यसपछि गएको कहिल्यै फर्केर आएनन् ।

 

आरुषी आमाको मृत्यु पछि हजुर आमाको न्यानो मायामा हुर्किन्छे । हजुरआमाले आफूले दुःख गरेर भए पनि आरुषीलाई कुनै कुराको कमी हुन दिन्निन, पढेर ठूलो मान्छे वनोस भनी स्कुल पढ्न पठाइन् । आरुषीले वि.सं २०६५ सालमा आफनै गाँउको स्कुलबाट द्धितिय श्रेणीमा एसएलसी पास गरि र प्लस टु पढ्नका लागि हजुर आमाले एकजना छिमेकी काकाको जिम्मा लगाई काठमाडौं पठाईन । काका सिभिल इन्जिनीयर थिए ।  आरुषीलाई काकाले गोल्डेनगेट कलेजमा बिज्ञान विषयमा भर्ना गरिदिए र आफुसँगै राखे र उसलाई लाग्ने सम्पूर्ण खर्च आफै व्यहोरे । आरुषीले  बिहान बेलुका काकीलाई घरको काममा सहयोग गर्ने र दिउँसोमा कलेज जाने र रातको समयमा अध्ययन गर्ने गर्थी । प्लस टु मा पनि उसले राम्रो अंक लिएर प्रथम श्रेणीमा उर्तीण गरी । 

 

प्लस टु को पढाईपछि काकाले आरुषीलाई आर्किटेक्चर पढ्ने सल्लाह दिए । आरुषीलाई पनि आर्किटेक्चर पढ्ने भित्रै देखि रहर थियो तर उसको आर्थिक अवस्थाले गर्दा आफनो इच्छा कसैलाई पनि प्रकट गर्न सकेकी थिइन । काकाले आर्किटेक्चर पढ्ने भनेपछि आरुषीमा खुशीको सिमा रहेन तर त्यो खुशी धेरै समय टिक्न सकेन । आर्किटेक्चर पढ्नको लागि खर्च काकाले त व्यहोर्ने भए तर त्यसबापत आरुषीले एउटा शर्तनामा पूरा गर्नुपर्ने भयो । कार्कीको भाई सल्यानको निरजसँग आरुषीले विहे गर्नुपर्ने शर्त आरुषी माथी राखियो । यो शर्त सुन्नासाथ आरुषीले छाँगाबाट खसेको महशुस गरिन् । ऊ काकाको कुरा टार्न सक्ने अवस्थामा पनि थिइन । उनैको साहाराबाट उ काठमाडौं आएकी थिई । काका काकीले केटा भर्खर दुवईबाट आएको, अर्थशास्त्रमा स्नातक तह गरेको, सम्पन्न घरपरिवार तिमीलाई पडाईको  लागि आर्थिक रुपमा केही दुःख हुँदैन भनेर उसलाई सम्झाए । आरुषी केटा हेर्न तयार भई, उसले केटा हेर्छे, केटा अग्लो कदको, गहुँ गोरो, कम वोल्ने भद्र स्वभावको देखिन्छ । आरुषी केटाको यही एक छिनको अवलोकनले जिन्दगीको दिर्घकालीन निर्णय लिन वाध्य हुन्छे । उसको निर्णयले काका काकी सबै खुशी भए, सबै भन्दा खुशी उसको हजुरआमा हुनुभयो । हजुरआमालाई आफू नमर्दै नातिनीको विहे गराईदिन पाएकोमा एकदमै सन्तुष्टि थियो । 

 

एक समुच्च सुख सुविधा र सुरक्षाको लागि हजुरआमाले आरुषीलाई निरजको हातमा सुम्पिदिइन् । बिवाह पश्चात आरुषी निरजको घरमा गई । घरमा सासु ससुरा, जेठाजु जेठानी र उनीहरुको एक छोरी मात्र । आमा बाबाको माया कस्तो हुन्छ भनेर उसले कहिल्यै महशुस गर्न पाएकी थिइन । उ गएको घर पूर्ण थियो । त्यहाँ उसले बुवा आमा, दाइ, दिदी सवै पाएकी थिई । त्यो पूर्ण परिवारमा घुलमिल हुन नपाउँदै उसलाई अर्को वज्रपात पर्छ । बिहे भएको ७ दिन मात्र भएको थियो, गाँउमा खसी काटेका रहेछन् । आरुषीका ससुराले मासु लिएर घरमा आए । आरुषीलाई पकाउन लगाई, आफूहरु अगेनाको छेउछाउमा सवै रमाइलो गरी वसे । आरुषीले पनि घरपरिवार कै सुझाव अनुसार मासु, भात र गोलभेडाको अचार बनाई । घरमा सबैलाई खाना दिई । सबैजना खाना खाइरहेका थिए, आरुषी आफू भान्से भएकोले पछि खान्छु भनि बसिरहेकी थिई । त्यतीकैमा सासुको आवाज आयो के भयो भनि सबै अताल्लिए । सासुको घाँटीमा हड्डी अड्किएछ जसले गर्दा स्वास प्रस्वासमा समस्या भई अस्पतालमा पुर्‍याउन नपाँउदै वीच बाटोमै उनको मृत्यु हुन्छ । त्यसपछि आरुषीको जीवनमा आएका सम्पूर्ण पात्र तितरवितर हुन्छन् । 

 

दुई वर्षसम्म सँगै बसेकी काकीले तँ अलछिनीले गर्दा मेरो आमाको मृत्यु भयो भनेर फोन मै गाली गर्छिन्् । छिमेकीले कती असुभ बुहारी आएको ७ दिनमा नै सासुलाई खाई भनि लान्छना लगाउँछन् । घरपरिवारका सबै सदस्यहरु आरुषीसँग राम्रोसँग बोल्नै छाड्छन् ।  सासुको मृत्यु भएको दिन देखि आरुषीका श्रीमान एकचोटी पनि श्रीमतीसँग बोलेको छैनन्, आसौच सिद्धियो आरुषी र उसका श्रीमान कोठामा जान्छन् । श्रीमानसँग आरुषी एकदमै रोइ कराई, आफू निर्दोष भएको प्रमाणित गर्न खोजी तर श्रीमान न केही आरोप लगाउँछ, न केही भन्छ । मौनतामा  धेरे दिन बिते, धेरै रात बिते ।

 

एकदिन आरुषीले घरको काम गर्दा गर्दै रिगंटा लागि आगनमा ढल्छे, उसको श्रीमान आएर उठाएर सजिलो ठाउँमा राख्छ, एकछिनपछि होसमा आउँदा सबै परिवार आरुषीको छेउमा वसेका थिए तर सबै चुपचाप । आरुषीले आफ्नो श्रीमानालाई नजिकै देखि, मनमनै खुशी भई । उसले एक गिलास चिसो पानी आरुषीलाई दियो र आफ्नो कोठामा गयो । आरुषी पनि उठेर पानी पिई र कोठामा गई । आरुषी नजिकै गएर बसी, उसको हात समाई अनि घुक्क घुक्क गरी रोई । त्यसरी रोइरहेको देखेर निरजले आफ्ना हातले आँशु पुछ्दिदै, नरोऊ म तिम्रो साथमा छु भनि आफ्नो काखमा लिएर उसको अधरमा चुम्यो । धेरै दिनपछिको मौनता पश्चात प्रेमको बत्ती बलेको थियो दुवैमा, आरुषीले जीवनमा पहिलो पटक यती धेरै माया गर्ने मान्छे आफ्नो साथमा पाएको महशुस गरेकी थिइन । दुवैजना त्यसदिन रातीसम्म कुरा गर्दै बसे, काठमाडौं सँगै बस्ने, आरुषीले आर्किटेक्चर पढ्ने, निरजले समाजशास्त्रमा डिग्रीे गर्ने जस्ता भावी योजनाहरु बनाए । 

 

केही दिन घरको बसाई पश्चात उनीहरु काठमाडौं निरजको दिदीको घरमा आए । घरमा आउँने बित्तिकै भाइलाई अंगालो हालेर रोइन, बिलौना गर्दै आमालाई सम्झिन् भने आरुषीलाई गालीको बर्षा । निरज केही नभनी बसिरहयो भने आरुषीले काकीको गालीका बर्षाले आँशु रोक्छु भन्दा पनि रोक्न सकिन । आरुषीका आँशु देखेर निरज मलिन भयो तर दिदीलाई केही भनेन । एकछिनको रुवावासी पछि निरज, आरुषी र दिदीसँगै बसे, दिदिले निरजलाई अब तिमीहरु पनि हामीसँगै बस भनिन्, आरुषीलाई उनका कुराले अत्यास लाग्यो, आँखाका इशाराबाट निरजलाई नाई भन्न लगाई तर निरज बुझेर पनि नबुझे जस्तो गर्‍यो, केही बोलेन टाउको मात्र हल्लाई राख्यो । पहिला आरुषी बसेको कोठामा नै तिमीहरु बस भनिन् दिदीले । 

 

आफ्ना झोलाहरु लिएर आरुषी र निरज कोठामा जान्छन् । आरुषीले निरजलाई अंगालो हाल्दै हामी दिदीहरुसँग नबसौ छुट्टै बसौं भन्छे तर निरज आरुषीलाई संझाउदै भन्छ, अहिले हामी उहाँको  आग्रहलाई अस्वीकार गर्ने अवस्थामा छैनौ । केही महिनासँगै बसौ त्यसपछि छुट्टै बसौला भन्दै आरुषीका अंगालोबाट छुट्टिदै दुवै हात समाउँछ ।

 

आरुषीले निरजका कुरामा मौन समर्थन गर्छे र दुबै फ्रेस हुन्छन् । आरुषी किचनमा काकीलाई सघाउन जान्छे निरज बिस्तारमा पल्टिन्छ । साँझ निरजका भिनाजु आउँछन्, निरज र आरुषीलाई देखेर खुशी हुन्छन् । सबै मिलेर खाना खान्छन् र आरुषीको पढाइको बारेमा भिनाजुले चासो राख्दछन् । निरजले आफूहरुले बनाएको योजना दिदी भिनाजुलाई सुनाउँछ । भिनाजु उनीहरुको योजना सुनेर खुशी हुन्छन् तर दिदी भने चुपचाप बस्छिन् । केही समयको गफगाफ पछि सबै आफ्नो आफ्नो कोठामा जान्छन् । निरजले आरुषीको टाउको आफ्नो काखमा राख्छ अनि टाउको मुसार्‍दै अर्को दिनको योजना सुनाउँछ । आरुषी पनि निरजको कुरामा सहमत हुन्छे । 

 

बिहान उठेर आरुषीको इन्ट्रान्स तयारी कक्षाको लागि दुवैजना पुतलीसडक नेममा जान्छन्, आरुषी भर्ना हुन्छे निरजले भर्ना शुल्क तिर्छ । भर्नापछि आरुषी कक्षा तिर जान्छे । निरज दिदीको घरमा आउँछ, दिदिले चिया पकाएर दिन्छिन् र दिदिभाई भई कुरा गर्दछन् । दिदिको नजरमा आरुषी अशुभ केटी हो, उ सातवर्ष हुँदा उसको आमाको मृत्यु भयो र अहिले विहे भएको ७ दिनमा सासुलाई खाई, अब आउँदा दिनमा पनि हाम्रो घरमा के के अशुभ हुने हो भनेर चिन्तित हुन्छिन् । निरजले दिदीलाई संझाउने कोशिश गर्दछ तर कत्ति मान्दिनन्, उनको एउटै माग छ आरुषी अलछिनीकी केटी हो उसलाई छाडिदे । तर निरज दिदिको कुरामा सत्य नभएको र आरुषीलाई यस्तो परिस्थितीमा छाड्न नसक्ने जिकिर गर्दछ जसले दिदी भाइबीच खटपट पर्छ । अब निरजलाई पनि दिदिको घरमा बस्न नै मन लाग्दैन, तर छाडेर पनि जान सक्दैन । 

 

आरुषी कलास सिद्धिएपछि घरमा आइ सिधै आफ्नो कोठामा जान्छे, निरज निरास भई बसेको थियो । निरजको नजिक गएर के भयो भनि टाउकोमा सुमसुमाउँछे, निरज केही नभएको बाहाना बनाउँछ । एकछिनको मौनता पछि निरजले आरुषीलाई तिमी यहाँ बसेर पढ म विदेश गएर तिम्रो पढाई खर्च पठाइदिन्छु भन्छ । तिमीले पढिसकेपछि म नेपाल आउँछु । अहिले हामी दुवैसँगै बस्यौ भने आर्थिक रुपमा हामीलाई गाह्रो हुन्छ । आरुषी आँखामा आँशु लिएर केवल निरजको कुरा सुनिरहि, केही जवाफ फर्काइन । आरुषीका आँखामा आँशु देखेर निरज पनि भावुक भयो तर आफनो निर्णय फिर्ता लिएन । निरज ३ महिनाको बिदा लिएर नेपाल आएको थियो, त्यो बिदा वाँकी मात्र ७ दिन थियो, उसले फेरी पनि त्यही आफिसमा जाने निर्णय गर्‍यो । ट्राभललाई फोन गरेर टिकट अर्डर गर्‍यो । वाँकी भएको ७ दिनमा निरजले आरुषीलाई धेरै ठाँउ घुमायो । फिल्म हेरायो, धेरै सपिङ्ग गरिदियो, रेष्टुरेन्टमा लग्यो, खान मन लागेको सबै कुरा खान दियो, दुवै जना धेरै रमाइलो गरे यसैगरी दिनहरु बित्दै गए । सातौं दिन दिउँसो ४ बजे उसको फ्लाइट थियो, आरुषी, उसको दिदी भिनाजु निरजलाई छोड्न एअरपोर्ट गए । आरुषी रोइरहेकी थिई, एकचोटी जाने वेलामा निरजले आरुषीलाई अंकमाल गर्‍यो केही नबोली पिठ्युमा धाप लगायो अनि सबैसँग बिदा भई लगेज लिएर भित्र गयो । 

 

सबैजना निन्याउरो मुखमा घरमा आए, आरुषी आफ्नो कोठमा गएर रुनुसम्म रोई काका आएर सम्झाए । एकछिन पछि किचनमा गएर खाना बनाई सबैलाई खाना दिई, भाडा माझि, किचन सफागरी कोठामा गई रातभरी आँशु बगाईरही, उज्यालो भयो कक्षा लिन गई तर ध्यान कक्षामा थिएन । कतिखेर निरजको फोन आउँछ भनि कुरीरही तर फोन आएन, घरमा गई काकीलाई सोधी काकी बोल्दै बोलिनन् । कोठामा गएर कपडा फेर्दै थिई, काकीले ढोका ढकढक गरीन् ढोका खोल्दा काकीले केही नबोली मोवाइल दिइन । उसले हतार हतार हेलो भनि, उताबाट पनि हेलो भनि निरजको आवाज आयो, म यहाँ आइपुगे, मेरो टेन्सन नलिनु, तिमी दिदीले जे जे भन्नु हुन्छ त्यही गर्नु भनेर निरजले झ्याप्प फोन राखिदिन्छ । उ अक्क न वक्क हुन्छे, काकी केही नभनी मोवाइल लिएर जान्छिन् । आरुषी कोठामा बसिराखी, एकछिनपछि काकी कोठामा आइन र आरुषीलाई भोली देखी यहाँ नबस भनिन् आरुषी हेरेको हेर्‍यै भै केही बोलिन । 

 

अर्कोदिन कक्षा गएर घरमा आउँदा आरुषीका कपडा, व्याग, सवै सामान कौसीमा राखी कोठामा चावी लगाइएको थियो । आरुषीले काकीलाई बिन्ती गरी, रोइ कराई तर काकीको एउटै आरोप त अलछिनी यहाँ बस्न म दिन्न । त्यसपछि आरुषीले काकालाई फोन गरी काकाले उसलाई आफ्नो अफिसमा बोलाए । आरुषी काकाको अफिस गएर काकासँग कुरा गर्दा काकाले उसलाई त्यो घर छाड्न सुझाब दिए । आरुषी रुदैरुदै कोठामा पुगी प्लस टु पढ्दाकी आफ्नी मिल्ने साथी रिजनलाई फोन गरी । रिजनले नयाँ बानेश्वरमा कोठा लिएर बसेकी थिई । उसले आरुषीलाई साथ दिई र सबै सामान लिएर रिजनको कोठमा गई । आरुषीले यो अवधिमा भएका सबै घटनाक्रम रिजनलाई सुनाई । रिजन भावुक हुँदै अब तैले केही गरेर देखाउन पर्छ भनि त्यसमा मेरो साथ सधै पाउनेछेस् भनी ।  

 

रिजन र आरुषीसँगै बस्नथाले, जहाँ जादा पनि सँगै जाने एक छिन पनि छुट्टिएनन् । रिजनका बाबा आमा जापानमा हुनुहुन्थ्यो । उसलाई पैसाको अभाव कहिल्यै भएन । रिजनले आफ्नो साथीको बारेमा  बुवा आमासँग सबै कुरा गरी, उहाँहरुले पनि उसलाई जति खर्च लाग्छ हामी व्यहोर्छौ भन्नु भयो । आरुषी बिहान उठेर क्लास जान्थी, त्यहाँ गएर व्याग हेर्दा उसको व्यागमा जहिले खाजा खाने पैसा हुन्थ्यो । उसलाई पैसाको अभाव कहिल्यै भएन तर सधैभरी रिजनको पैसा चलाएर हिड्न मज्जा नै आउने थिएन, भित्रभित्रै उसलाई पिडा हुन्थ्यो । त्यसैले उ जागिरको खोजीमा थिई, जुन पत्रिका भए पनि उसको पहिलो हेराइ विज्ञापन हुन्थ्यो । कही कतै आवश्यकता देखी अप्लाई गरी हाल्थी, कती ठाँउमा अप्लाई गरी गन्ती गरेर साध्य थिएन तर पनि उसलाई जागिर मिलेको थिएन ।

 

एकदिन भर्खर क्लास सिद्धाएर कोठामा आइ फ्रेस भई वेडमा पल्टिरहेकी थिई । रिजनको दिउँसोको क्लास भएकाले उ त्यहाँ थिइन । उसको मोवाइलमा एक्कासी घण्टी वज्छ, धेरैपछि उसको मोवाइलमा घण्टी वज्दा उ झसङ्ग भई, सोची कतै निरजको फोन त होइन । हेलो भनि उताबाट पनि हेलो आवाज आयो । आरुषी जी हो म वेञ्च मार्क कन्सलटेन्सीबाट तपाइले यहाँ रिसेप्सनिष्टमा अप्लाई गर्नु भएको रहेछ । तपाइको अन्र्तवार्ता आज ४.०० बजे छ भनि फोन काटियो । आरुषी एकदमै खुशी भई, खाना खान किचनमा गई उसलाई खान मन लागेन, रिजनलाई फोन गरी रिजन क्लासमा भएकोले फोन उठाइन । अफिस अनामनगर थियो, बानेश्वरबाट ३.३ं० मा हिड्दै गई ३.४५ मा नै अफिस पुगी । अफिसमा वेटिङ्ग रुममा एकछिन् बसी त्यसपछि एकजना महिलाले भित्र बोलाइन । उ गई सबैलाई नमस्कार गरी । अफिसमा अन्दाजी पचास वर्षकी जस्तो लाग्ने एकजना महिला थिइन, जुन त्यो अफिसको हाकिम रहिछन् । उनैले आरुषीलाइ धेरै प्रश्न सोधिन । आरुषीले उनको प्रश्नको जवाफ दिदै गई । अन्तिममा तिम्रो मासिक तलब आठ हजार हुन्छ । भोली देखि नै अफिस आउ भनिन् । उ खुशी हुँदै त्यहाँबाट निस्किई । त्यसपछि सरासर कोठामा गई रिजन भर्खर आएकी रहिछे, शुरुमा गएर उसलाई वेस्सरी अंगालो हाली र खुशी हुँदै भनि आज मैले जागीर पाए । उसको कुरा सुनेर रिजनले पनि एकदमै खुशी हुँदै वधाई दिई । 

 

भोलीपल्ट विहानै आँखा खुले आरुषी आजदेखी अफिस जान पर्ने भएकोले क्लास लिन गइन । उठेर  फ्रेस भई, कोठा सफा गरी, सधैभरी रिजनले उसलाई चिया बनाएर दिन्थी आज आरुषीले चिया बनाएर दिई । खाना दुवै मिलेर बनाए । अनि ठिक ९.०० वजे अफिस गई, अफिसमा गएर उसलाई सिकाएको काम गर्दै गई । अव देखी उसको काम भनेको अफिस जाने आउने भयो ।

 

उसले आर्किटेक्चरको सपना देख्न छाडी तर पढाईलाई भने निरन्तरता दिने सोच राखी आर.आर. क्याम्पसमा आर्टसमा भर्ना भई । समय बित्दै गयो रिजनको विएससी नर्सिङ्ग सिद्धियोे । आरुषीको पनि स्नातक तह सकियो । अफिसमा पनि आरुषीको प्रमोसन हुँदै गयो, पैसा पनि राम्रो कमाउँदै थिई । तर उसलाई अफिसको काममा मात्र सिमित राखिएको थिएन । अफिसको हाकिम बस्ने फल्याट र अफिस एउटै थियो । हाकिमका श्रीमान पोल्टिसियन थिए,साथै अन्य कन्सलटेन्सीमा समेत काम गर्दथे । आरुषीको काम देखि हाकिमका श्रीमान पनि प्रभावित थिए । आरुषीले कहिले काहीं उनको समेत काम गरिदिनु पर्दथ्यो । अफिस बाहेक व्यक्तिगत काममा लगाउँदा आरुषीलाई नमज्जा लाग्द्थ्यो तर कसैलाई त्यो कुरा भन्न सक्दिन्थी । 

 

एकदिन हाकिमका स–परिवार गाइघाट उनीहरुको पुर्खेउली घरमा जान लागेका रहेछन् र आरुषीलाई पनि त्यहाँ जाँउ भनेर हाकिमले भनिन् त्यसवेला आरुषी जाने मन नहुँदा नहुँदै पनि हुन्छ भनि । विहान काठमाडौंबाट १०.०० वजे तिर गाईघाट हिडे । आफ्नो गाडी भएकोले विस्तारै विस्तारै ठाउँठाउँमा रोक्दै उनीहरु वेलुका गाईघाट पुगे । गाईघाट अत्यन्तै रमाइलो ठाउँ रहेछ । उनीहरुको घर पनि बजारभन्दा करीब १० कि.मि. पूर्व  करीब एक रोपनी जग्गा भित्र सानो एक तल्ले घर, निलो रंङ्ग लगाइएको  चिटिक्क पारिएको, घरको वरिपरी फलफुलहरु लगाइएको, भाद्र महिनाको समय खेतमा लटरम्म धान, साच्चै मनोरम वातावरण आरुषी एकदमै रमाई । करीब दुईदिन जतीको बसाइमा उनीहरुले घर सफा गर्दछन्, वगैचा गोडमेल गर्छन्, खाली भएको जग्गामा फलफुलहरु रोप्छन् । त्यहाँको बसाई निकै रमाइलो हुन्छ । 

दुईदिन पछि करीब १२ वजे गाईघाटबाट काठमाडौं फर्किन्छन् । फर्किने क्रममा एकजना हाकिमका मान्छे थपिन्छन् र अगाडि ड्राइभरको छेउमा बस्छन् । पछिल्लो सिटमा हाकिम बीचमा, उनका श्रीमान दाहिने साइड र आरुषी देव्रे साइड बस्छन् । बीचमा रोक्दै आराम गर्दै आफुलाई खान मन लागेको चिज खाँदै हिडेका थिए । आरुषीका हाकिमको श्रीमानको वानी व्यवहार अलि उचित खालको थिएन । श्रीमतीलाई अंगालो हाल्ने निहुँमा बेला बेलामा आरुषीको पिठ्युसम्म समेत हात पुर्‍याउँथे जसले गर्दा आरुषी झसङ्ग हुन्थिन तर प्रतिवाद कहिल्यै गर्न सकिन, नजर अन्दाज मात्र गरी । गाडि आफ्नै गतिमा थियो, बाहिरको हरियाली मौसम, भाद्र महिना गर्मी भए पनि बाहिर हावा चलिरहेको थियो ।

 

आरुषी बाहिरको वातावरण हेर्दै त्यसको मज्जा लिइ रमाइरहेकी थिई । यतीकैमा उसको नजिक बसेकी हाकिमले आरुषीको दाहिने हात तान्दै हेरिन र हातमा कोरिएका रेखालाई विश्लेषण गर्दै गईन । अन्तिममा हत्केलाको क्रस  भएको रेखालाई देखाउँदै भनिन् ‘कस्तो फुटेको भाग्य’ । आरुषी तीनको कुरा सुनेर छाङ्गाबाट खसेजस्तो हुन्छे, आँखामा टलपल आँशु ल्याउछे तर देखाउँदिन । एमविएस पढेकी, कन्सलटेन्सी चलाएर बसेकी, देशको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनका लागि अहोरात्र खटिएको परिवार भित्रकी एक शिक्षित महिलाको तुच्छ शब्दले आरुषी भावविहल भई । केही जवाफ नफर्काइ चुपचाप वसिराख्छे, उसलाई कतिखेर त्यो गाडिबाट झरौं झरौं हुन्छ तर चाहेर पनि उ झर्न सक्दिन । करीब आधा घण्टा पछि गाडी बानेश्वर आइपुग्छ, आरुषी त्यहाँ ओर्लिन्छे । अनि कोठामा गई केही नगरी रिजनलाई अंगालोमा हाल्छे अनि चिच्याई चिच्याई रुन्छे र हाकिमले भनेको कुरा सुनाउँछे । रिजनले आरुषीलाई सम्झाउन खोज्छे तर उ आफ्नो बिगतमा भएको घटना क्रमलाई केलाउदै, आज हाकिमले आफ्नो हात हेरेर भनेकोे कुरा सम्झि–सम्झि रुन्छे । त्यस रातभरी आरुषी र रिजन निदाउन सक्दैन्न । रिजनले रातभरी आरुषीलाई सम्झाउँछे र जस्तो सुकै कठिन परिस्थितीमा साथ दिने वाचा गर्दछे । 

 

बिहान रिजन र आरुषीसँगै उठ्छन्, फ्रेस हुन्छन्, चिया खान्छन् । आरुषीले दर्शनशास्त्रमा डिग्री गर्न चाहेको कुरा रिजनलाई बताउँछे । रिजनले त्रिभुवन बिश्वविद्यालय अन्र्तगतका कलेजमा एम ए मा दर्शनशास्त्रको पढाई हुँदैन भनेपछि इन्दिरा गान्धी खुल्ला विश्वविद्यालय (IGNOU) ज्ञानेश्वरमा दर्शन शास्त्रमा भर्ना हुन्छे । त्यसपछि उसको सम्पूर्ण समय लेखनकला र पुस्तक अध्ययनमा लगाउँछे । त्यसको दुईवर्ष पछि रिजनको आर्थिक सहयोगमा ‘उपासना’ उपन्यास प्रकाशित गर्दछे साथै दर्शनशास्त्रमा डिग्री गर्दछे । ‘उपासना’ सबैभन्दा लोकप्रिय र सबैभन्दा वढी विक्रीको लिष्टमा हुन्छ । अलछिनी र भाग्य फुटेकी आरुषी आज पाठकहरुको प्रिय सर्जकको रुपमा परिचित हुन्छे । 

  


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार