• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
डबली

जासुसी साहित्यका सारथी श्रीधर खनाल

नौ दशकको  उमेर टेक्नै लाग्दा अतीतलाई सम्झेर बस्ने हो भने एक दिनले पनि भ्याइदैन होला आफैले गरेको कामको फेहरिस्त उतार्न । चावहिलको कुनामा बसेर ८८ वर्षको उमेरसम्म आइपुग्दा चित्त दुखाउनु पर्ने कुरा खासै छैनन । गुनासा पनि छैनन । आशा पनि छैन त्यसैले निराशा पनि छैन । शरीरले दिउञ्जेल ८४ वर्षको उमेरसम्म मोटरसाइकलमा हुँइकिन र पत्रपत्रिकाको अफिस अफिस पुग्नेदेखि कार्यक्रमहरुमा पनि देखिने मान्छे, यता केही वर्षदेखि घरैमा आफ्नै संसारमा रमाइरहनु भएको छ । त्यही बितेका दिनहरुका संस्मरण टिप्दै लेखिरहनु भएको छ । 

 

माघ महिनाको अन्तिम दिन जयवागेश्वरीस्थित आफ्नै घरमा बसेर अतीतका पाना बटुल्दै लेख्दै गर्दा लेखिसाध्य छैनन उहाँका जीवनका कर्महरु । जीवनका धेरै क्षेत्रमा छरिए पनि लेखनमा धेरै क्षेत्रमा छरिन चाहन्न म ,राजनीतिमा लागेका कुरा , जासुसी उपन्यास लेखनका कुरा यसमा पर्दैनन । २०११ सालमा पोखरामा असिस्टेण्ट हेडमास्टर हुँदाको कुरा, सल्यानमा हेडसर भएर मरिचमानसिंह श्रेष्ठलाई पढाएका कुरा , सम, देवकोटा आदिसँग भेटिएका कुरा आदि समेट्दै छु । आफ्नै कृतिका बारेमा भन्दै हुनुहुन्थ्यो उहाँ । 

 

यतिखेर धेरैको चासो हुनसक्छ त्यतिखेरको चल्तापूर्जा दीर्घबाहु, फाइँफुट्टीराज, श्रीधर खनाल अचेल के गर्दै हुनुहुन्छ होला भनेर । यही जिज्ञासाले डोराएको हो उहाँको दैलो टेक्न मलाई । ८८ वर्षको उमेर स्वास्थले खासै दुख नदिएको शरीर, उही पुरानो रवाफिलो स्वभाव । खासै परिवर्तन छैनन उहाँमा । भिन्नता छ त उमेरको , समयको , जाँगरको । परिवर्तन त पाठकमा पनि आएको छ, हिजो हातहातमा बिक्ने जासुसी उपन्यास अचेल लेखिनै छाडेको छ, यही क्षेत्रमा विशेष पहिचान बनाउनु भएका दीर्घबाहुले पछिल्लो जासुसी उपन्यास बज्रजोगिनीको खजाना प्रकाशमा ल्याउनु भएको छ । 

 

धेरै पछि फेरि पुरानै क्षेत्रमा देखिनु भयो त ? 

 

खै छोराकै तजबिज हो ,अरु कृति पनि प्रकाशित गर्न खोज्दैछ । 

 

स्वभाव अनुसारकै जवाफ पाउछु उहाँबाट । 

 

लेखन र कलाकारितामा नाम कमाएका ब्रजेश खनालको सक्रियतामा पुराना र प्रतिष्ठित जासुसी उपन्यासकार श्रीधर खनाल पुन सक्रिय हुन थाल्नु भएको छ । जासुसी उपन्यास लेखन र यसको प्रकाशन फेरि जुर्मुराउदैछ ।

 

जासुसी साहित्यको इतिहास पुरानो छ, निकै । कुनै समय दबदबा पनि थियो , अचेल हराएजस्तै भएको छ , दबदबा भएकै बखत यस क्षेत्रमा उहाँकै दबदबा थियो । लेख्नेहरु कम थिए , लेखे पनि एक दुई कृतिमै सीमित हुन पुग्थे । श्रीधर खनालले दीर्घबाहुको नामले धेरै जासुसी उपन्यास लेख्नु भयो । नामै लिनु पर्दा–शब्दभेदी लडाई (२०२०), मुर्कुट्टा लाश (२०२४) मेजरको सर्प  (२०२५)  बिखालु इच्छापत्र (२०२५)  छ औंले मान्छे  (२०२६) बाह्र बजेको घण्टी (२०२६) पानको गुलाम (२०२७) डा.डेमोण्ड (२०२९) नांगिएकी सुन्दरी (२०२९)  हंगकंगको ब्यापारी  (२०३०)  हेलम्बुकी अप्सरा  (२०३०)  भेनसका हिप्पीहरु, गुलाबी पिन जस्ता कृतिहरु प्रकाशित भइसकेका छन् । उपन्यास मात्र होइन जासुसी कथा लेखनमा पनि उहाँको सक्रियता देखिन्थ्यो । त्यो सक्रियताले निरन्तरता नपाउनुको कारण जासुसी साहित्यको महत्व त्यति नभएकोले हो ? धेरैले यसै भन्छन् नि ?

 

जासुसी उपन्यासले त विश्वकै हित गर्छ । यसको साहित्यिक महत्व छैन भन्नु त केवल अज्ञानता हो ।

 

अधिकांश उपन्यासमा हुने प्रेमकथाभन्दा जासुसी उपन्यासलाई स्तरीय र महत्वको मान्ने उहाँ भन्नुहुन्छ–एउटा प्रेमकथा कि त दुखान्त हुन्छ यसबाट पाठकले पाउने यत्ति हो तर जासुसी उपन्यासले त अपराधिसम्म पुग्ने बाटो देखाइएको हुन्छ , जासुसी साहित्यले अपराध गर्न हुँदैन भन्ने सन्देश दिइरहेको हुन्छ ,भन्दै यसको महत्व दर्शाउनुहुन्छ ।

 

श्रीधर खनाल विभिन्न विधा र क्षेत्रमा छरिएजस्तै लेखनमा पनि विविध नामको प्रयोग गर्दै आउनु भएको छ । श्रीधर खनाल, दीर्घबाहुको रुपमा बढी परिचित र चर्चित भए पनि बेला बखत उहाँले फाइँफुट्टीराज, श्रीदेव खनाल, श्रीधरराज खनाल, गिद्धचक्षु, शुद्धचक्षु, बमभोला, श्रीधर अनन्तयात्री, देवराज आदि नाममा पनि विविध सिर्जना गर्दै आउनु भएको छ । हास्यव्यंग्य साहित्यमा पनि त्यत्तिकै सक्रिय भएर लाग्ने उहाँले लेखेर छपाएका नमरी संसार देखिन्न (२०२०), उल्लीबिल्ली (२०३०), चट्यांगचुटुंग (२०५७) जस्ता कृतिले हास्यव्यंग्य क्षेत्रमा राम्रै स्थान ओगटेका छन् । उपन्यास विधामा पनि उहाँका अनन्त यात्रा नामक कृति प्रकाशित भइसकेका छन् ।

 

वि.सं १९८८ सालको मंसीरमा काठमाडौंको त्रिपुरेश्वरमा जन्मिनु भएका श्रीधर खनालले गोरखापत्रमा २००५ सालमा पहिलो रचना छपाएपछि लेखनबाट अलगिनु भएको छैन । पहिलेजस्तो सक्रियता नभए पनि निरन्तर कलम चलाउने लेखकमा पर्नुहुन्छ उहाँ । माथि नै भनियो उहाँको विविधता र सक्रियताको कुरा । नेपाली कथानक चलचित्रको आरम्भदेखि नै यो क्षेत्रसँग सम्बद्ध उहाँले हिजो आज भोलिको कथाकार, पटकथा, सह–लेखक, गीतकार, संवाल लेखक र प्रमुख अभिनेता, माइतीघरको कथा संयोजक र संवाद लेखक, मनको बाँधको कथा लेखक भएर काम गर्नु भयो । साथै विविध वृत्तचित्रका निर्देशक र कथा लेखक भएर यो क्षेत्रमा आफ्नो खुबी देखाउनु भएको छ । शिक्षा क्षेत्रमा वि.सं २००९–१० साल त्रिभुवन आदर्श विध्यालय फर्पिंगमा शिक्षक,२०११ मा नेशनल हाइस्कुल,नदीपुर पोखरामा सहायक प्रधानाध्यापक र २०१६ मा सल्यान खलंगाको माविमा प्रधानअध्यापक भएर अनुभव बटुल्नु भएको छ । पत्रकारको रुपमा आफूलाई चिनाउन र चिनिन चाहने उहाँ सगरमाथा संवाद समितिको प्रधान सम्पादक, प्रतिध्वनि साप्ताहिकको सम्पादक, रमिता पाक्षिकको सम्पादक–प्रकाशक, संरक्षक साप्ताहिकको सम्पादक–प्रकाशक, लामो समय स्तम्भ लेखक बनेर काम गरेको विगतले पनि उहाँको योगदान पत्रकारिता क्षेत्रमा उल्लेख्य रहन पुगेको छ । केही वर्ष संयुक्त प्रजातन्त्र पार्टीको केन्द्रिय सदस्य भएको हिसाब गर्ने हो भने राजनीतिसँग पनि जोड्न सकिन्छ उहाँलाई । यी सबैको भारी बिसाएर आफ्नै घरमा बसेर लेखन क्षेत्रबाट चाहिं नअलग्गी बस्नु भएको छ । 

 

नेपाली साहित्यमा महाकवि देवकोटालाई इमान्दार साहित्यकारको रुपमा आफूले बढी चिनेको र यसै रुपमा उहाँको सम्मान गर्ने उहाँ दुखका साथ भन्नु हुन्छ–यस्ता इमान्दार साहित्यकार अरु देखिएनन ।

 

श्रीधर खनाल जे–जस्तो नाम र उपनामले चिनिए पनि उहाँ विशेषगरी जासुसी उपन्यास लेखन र हास्य व्यंग्य क्षेत्रमा सुपरिचित हुनुहुन्छ । जासुसी साहित्यमा त उहाँ सारथीजस्तै भएर चिनिनु भएको छ । सम्मान र पुरस्कारमा यतिखेर चासो नभए पनि उहाँले हास्यव्यंग्य क्षेत्रमा दिइने धेरै पुरस्कार पाउनु भएको छ । सबैभन्दा ठूलो पुरस्कार र सम्मान उहाँको नाम नै भएको छ नेपाली साहित्यमा –श्रीधर खनाल, दीर्घबाहु आदि  । ८८ वर्षको उमेरसम्म्म आइपुग्दा पनि साहित्य क्षेत्रमै लागिरहने उहाँको यही योगदान र चासोकोे प्रशंसा गर्नै पर्छ ।   


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार