• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
अर्थ

लेखा समितिका सभापतिले नै सक्कली प्रतिवेदन गायब बनाए : सांसद यादव

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका सांसद एवम् वाइडबडी खरिद प्रकरण छानबिन उपसमितिका सदस्य प्रदीप यादवले सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले नै सक्कली प्रतिवेदन गायब बनाएको गम्भिर आरोप लगाएका छन् ।

 

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले समितिका सभापतिले नै समितिको पूर्ण बैठकले मिडियाको रोहबरमा पारित गरेको प्रतिवेदनका मुख्य मुख्य अंशहरु नै परिवर्तन गरेर अख्तियारलगायत सम्बन्धित निकायमा पठाएको आरोप लगाए ।

 

उनले भने,‘सभापतिजीको यो कदमले आज मलाई संसदीय मर्यादा नै खत्तम भएको महशुस भएको छ । विभागीय मन्त्रीलाई नैतिक जिम्मेवारी ठहर गर्दै कानुनी कारबाहीको लागि सिफारिश गर्नेगरि लेखा समितिको पूर्ण बैठकले गरेको निर्णयको पाना नै चोरी भएको छ ।’

 

साक्षात्कारमा बोल्दै उनले आफूले पनि बल्ल–बल्ल आजमात्रै मुश्किलले प्रतिवेदन हात पारेको सुनाए । उनले भने,‘प्रतिवेदन हेर्दा पो थाहा भयो, अब विभागीय मन्त्रीमात्रै होईन, कोही पनि ठूला नेताहरुलाई कारबाही हुँदैन् ।

 

यो प्रतिवेदन बास्तवमा रद्दीको टोकरीमा पर्ने निश्चित् भयो ।’ आफूले यस विषयमा समितिमा लिखित रुपमा प्रस्ताव दर्ता गराउनेपनि जानकारी दिए ।

 

वाइडबडी खरिद प्रकरण नेपालको ईतिहासमा ठूलो घोटाला भएकोले यो प्रकरणमा कर्मचारीमात्रै नभएर ठूला नेतापनि दोषी रहेको उनको आरोप छ ।

 

यद्धपी उनले यो प्रकरणमा अब ठूला नेता वा मन्त्रीहरु कोहीपनि कारबाहीमा नपर्ने ठोकुवा गरे ।

 

उनले भने,‘भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने भनेर जतिसुकै ठुला कुरा गरेपनि यो देशमा भ्रष्टाचार गर्ने ठूला माछा जालमा पर्दैनन् भन्ने अब प्रष्ट भयो । भ्रष्टाचार गर्ने ठूला माछा पर्ने महाजाल अहिलेसम्म नेपालमा बनेको छैन् ।’
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार