• बुधबार ५-४-२०७६/Wednesday 08-21-2019
डबली

शताब्दीको उमेर

मान्छे उमेरले होइन कृतिले बाँच्नु पर्छ भन्नेहरुका लागि राष्ट्रकवि माधव घिमिरे अपवादमा पर्नु होला । उहाँ उमेरले पनि बाँच्नु भएको छ कृतिको त कुरै नगरौं । एक से एक कृतिका माध्यमबाट चुलिनु भएको छ ।

 

गौरीले सिर्जनाको शिखर छोएको कलम राष्ट्रमाता, धरतीमाता, किन्नर किन्नरी, मालती मंगले जस्ता अनेकौं कृतिका माध्यमबाट नेपाली पाठकका मनमनमा बस्न सक्नु भएको छ । देशभक्ति, राष्ट्रियता, प्रणय–प्रेम, समाज सबै पक्षलाई सशक्त रुपले समेट्न सक्ने स्रष्टा माधव घिमिरे नेपाली साहित्यले पाएको एउटा उल्लेख्य प्राप्ति हो । जीवनको एक शताब्दीसम्म पनि निरन्तर साधना र सिर्जनामा रम्न सक्ने साधक विरलै भेटिन्छन् । सिर्जना र साधनामा मात्र होइन उहाँ सोच र व्यवहारले पनि त्यत्तिकै सम्मानयोग्य हुनुहुन्छ । 

 

 

लमजुङको पुस्तुनमा वि.सं १९७६ सालको असोज ७ गते जनिमु भएका माधवप्रसाद घिमिरेले कलिलो उमेरमै घर छाडेर काठमाडौं आउदा धेरैले चित्त दुखाए पनि होलान, जन्मदिने बाबु आमाले मन दुखाए पनि होलान, इष्टमित्र छरछिमेकले खल्लो महसुस गरे पनि होलान । आफू जन्मे बढे हुर्केको थलो छाडेर राजधानी आउदा उहाँँको पनि मन दुख्यो होला ।

 

कलम चलाउने रहर अचेल धेरैमा पलाएको देखिन्छ, आत्मकथा लेखन त फेसनजस्तै भएको छ, बढी बिक्ने प्रचारमा अचेल साहित्य क्षेत्रमा यसको दबदबा देखिन थालेको छ । अचेल लेखकका कमी छैन, बढी बिकेको प्रचार सुनिसाध्य छैन । रातारात लेखक बनेकाहरु, बनाइएकाहरुको कमी छैन । राजनीति दलका कार्यकर्ता आफ्नै नेताका रचना समेट्दै कृति बनाउदै साहित्यकार बनाउने होड चल्न थालेको छ । समष्टिमा भन्नु पर्दा यता केही समयदेखि साहित्यको वातावरणमा धेरैको नाम जोडिन थालेको छ ।

 

एक शताब्दीको उमेर टेकिसक्नु भएका माधवप्रसाद घिमिरेको त्यतिखेरको निर्णयले आजको माधवप्रसाद घिमिरे पक्कै पनि बनाउन सघायो । लमजुङमा प्रारम्भिक शिक्षा ग्रहण गरेर काठमाडौं आउनु भएका माधव घिमिरेले राजधानीको यही थलोमा बसेर एक से एक कृति दिदै जानु भयो । यही भूमिमा बसेर नेपाली भाषा र साहित्यको क्षेत्रमा उहाँले मनग्गे योगदान दिनुभयो र दिइनै रहनुभएको छ । 


उमेर बढ्दै गएपछि मान्छेले हरेस खान्छ, म त अब केही गर्न सक्दिन, अब त युवापुस्ताले गर्ने हो जस्ता कुरा गरेर बस्नेहरुका लागि राष्टकवि माधव घिमिरे चुनौती बन्नु भएको छ, प्रेरणाको स्रोत बन्नु भएको छ, अनुकरणीय व्यक्ति बन्नु भएको छ । सिर्जना साधनासँगै देशको राजनीति, साहित्यको अवस्था, विविध क्षेत्रका मान्छेहरुको गतिविधि, अन्तराष्टिय जगत सबै पक्षको जानकारी देखिन्छ उहाँँमा यो धेरै कममा पाइन्छ । स्वभाव, सिर्जना, साधना, व्यबहार सबै दृष्टिले माधव घिमिरेको व्यक्तित्व अझ प्रखर र सम्मानयोग्य भएको अनुभूत गरेको छु । 

 

माधव घिमिरेको कलमको सबैभन्दा सशक्त पक्ष भनेको राष्ट्रियता हो । नेपाली हामी रहौंला कहाँ नेपालै नरहे जस्ता गीतका स्रष्टाको गीत आज पनि त्यत्तिकै सान्दर्भिक बनेको छ । गाँउछ गीत नेपाली ज्यातिको पंख उचालीले कस्को मन उचालिंदैन र ? गौरीको मन छुने पङ्क्तिले कसको आँखा नरसाउला, मालती मङ्गलेको वेदनामा सहानुभूति नदर्शाउने हो होला र ? यतिमात्र होइन बालबालिका लागि पनि उहाँको कलमले त्यत्तिकै सशक्त रचना, कृति सिर्जिएको छ ।

 

कविका रुपमा धेरैले माधव घिमिरेलाई सम्मान गर्नेगरेकाले हो कि पाठक धेरै भएकाले हो  साहित्यकार माधव घिमिरेको बाल साहित्य, अनुवाद, सम्पादन, निबन्ध , समालोचना, संस्मरण, पत्रकारिताआदि पक्ष ओझल परेका छन् । नेपाली बाल साहित्यको क्षेत्रमा उत्कृष्ट बाल साहित्यकारको रुपमा उहाँ चुलिनु भएको छ । गोरखापत्रमा केही वर्ष पत्रकारिता गरेको उहाँको विगतले अनि पछिल्ला दिनहरुमा इन्दे्रणी, कविता आदि पत्रिकाहरुको सम्पादनमा उहाँले दिएको योगदानको मूल्यांकन गर्ने कसले ? 

 


सय वर्षको आयु स्वयंमा ठुलो कुरो हो त्यसमा पनि सक्रिय र सिर्जनशील जीवन बाँच्न पाउनु ठुलो करो हो । माधव घिमिरे, सत्यमोहन जोशी जस्ता साधकहरु हाम्रै साहित्यिक जगतले पाएको छ,उहाँहरु अरु क्षेत्रका लागी पनि अनुकरणीय बन्नुभएको छ ।  

 

यता केही वर्षदेखि निरन्तर रुपले माधव घिमिरेको लेखनमा ऋतम्भरा महाकाव्य जोडिदै आएको छ। उहाँको ९८ औं जन्मोत्सवको बेला यो पङ्क्तिकारले उहाँसँग गरेको कुराकानीमा उहाँले आफू खण्डकाव्य, फुटकर कविता र गीत लेखन मै बढी केन्द्रित हुँदै आएको र बढी पाठक, श्रोताले यसैलाई रुचाएको र आफूले इच्छा नगरे पनि केही प्राध्यापकहरुको बलले महाकाव्य लेखनमा लाग्नु परेको बताउनु भएको थियो । माधव घिमिरेको लेखन गौरीमै चुलिइसकेको छ, उहाँका अरु कृतिमै चुलिइसकेको छ । जीवनको नौ दशक काटिसकेको एउटा साधकलाई निरन्तर ऋतम्भरा कहाँ पुग्यो ? कहिले पूरा हुन्छ जस्ता प्रश्न उठने गरेका छन् ।

 


उहाँ स्वयंले  आफनो इद्धछाले भन्दा अरुका इच्छाले लेख्नु परेको हो भनिसकेपछि उहााको योगदान र सिर्जनामा महाकाव्य किन जोडिन खोजिदैछ बुझिनसक्नु लाग्छ । स्रष्टा एउटै कृतिले अमर बन्दछ, माधव घिमिरे अनेकौं कृतिका माध्यमबाट चुलिइसक्नु भएको छ । अब उहाँको सिर्जनामा महाकाव्य नै थपिनु पर्छ भन्ने छैन । महाकाव्य लेखन पुरा गर्ने नगर्ने लेख्ने नलेख्ने कुरा उहाँमै छाडिदिंदा राम्रो । हरेक सन्दर्भ र कुराकानीमा माधव घिमिरेलाई महाकाव्यको सन्दर्भ जोडेर किन प्रश्न गरिदै आएको छ । जिज्ञासाको विषय ।    

 

कलम चलाउने रहर अचेल धेरैमा पलाएको देखिन्छ, आत्मकथा लेखन त फेसनजस्तै भएको छ, बढी बिक्ने प्रचारमा अचेल साहित्य क्षेत्रमा यसको दबदबा देखिन थालेको छ । अचेल लेखकका कमी छैन, बढी बिकेको प्रचार सुनिसाध्य छैन । रातारात लेखक बनेकाहरु, बनाइएकाहरुको कमी छैन । राजनीति दलका कार्यकर्ता आफ्नै नेताका रचना समेट्दै कृति बनाउदै साहित्यकार बनाउने होड चल्न थालेको छ । समष्टिमा भन्नु पर्दा यता केही समयदेखि साहित्यको वातावरणमा धेरैको नाम जोडिन थालेको छ ।

 

 

गोविन्द गोठालेको पल्लोघरको झ्याल, पोषण पाण्डेको भिनाजुको स्वीटर, दौलतविक्रम बिष्टको चपाइएका अनुहार, विजय मल्लको अनुराधा, मोहन कोइरालाको मोहन कोइरालाका कविता, रमेश विकलको नयाँ सडकको गीतआदि कृतिको चर्चा कम हन थालेको छ । यस्ता कृतिका सर्जकलाई सम्झिने काम कम हुन थालेको छ । अचेल बजारमा साहित्यभन्दा व्यापारको बढी चर्चा हुन थालेको छ । 

 

राष्ट्रकवि माधव घिमिरेको लेखन र योगदान नेपाली साहित्यमा गढेर रहिसकेको छ । साहित्यमा जस्तै हावा हुण्डरी आएपनि उहाँका सिर्जना हल्लाउन सक्दैन । उहाँ कसैले थै थै गरेर चुलिएको स्रष्टा होइन । नेपाली काव्य साहित्यमा स्वच्छन्दतावादी भावधारा, परिष्कारवादी कविका रुपमा विशिष्ट स्थान बनाउन सफल कविवर माधव घिमिरेका नवमञ्जरी, उषाचरित्र, नयाँ नेपाल, गौरी, राजेश्वरी पापिनी आमा, राष्टनिर्माता, धरती माता, इन्द्रकुमारी बोराको परदा, गजधम्मे–खण्डकाव्य, शकुन्तला, विषकन्या, अश्वत्थामा, हिमालवारि हिमालपारि, देउकी बालकुमारी, मालती मंगले–गीति नाटक,नव मञ्जरी, चैत बैशाख–कविता संग्रह, आफ्नै बाँसुरी आफ्नै गीत, चारुचर्चा–निबन्ध संग्रह, मनचिन्ते मुरली– कथा संग्रहजस्ता कृति प्रकाशित भइसकेका छन् । बालसाहित्यको क्षेत्रमा उहाँका घामपानी, बाला लहरी, सुनपंखी चरी, बिजुरी र बिजुला प्रकाशमा आइसकेका छन् । 

 

 

वि.सं १९९२ सालमा गोरखापत्रबाट थालिएको उहाँको साहित्य यात्राले आजसम्म निरन्तरता पाइरहेको छ । निरन्तर एकपछि अर्को सशक्त कृति  दिनसक्ने कमै स्रष्टामा उहाँ पर्नुहुन्छ । केही वर्षको शिक्षण सेवा, केही वर्षको पत्रकारिता, निकै वर्ष नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानसँगको आवद्धता अनि जीवनको ८४ वर्ष एकनाशले साहित्य साधनामा रमाउने साधक हो माधव घिमिरे । धेरैले भित्री मनले नै मानेका  साहित्यकारमा पर्नुहुन्छ उहाँ । सहज र सशक्त लेखनका पर्याय माधव घिमिरेको नाम नै श्रद्धा र सम्मानको नाम हो । नेपाली साहित्यले पाएको एक उत्कृष्ट साधक ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार