• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
देश/प्रदेश

विवाह गर्ने बदलिंदो चलन : खोज्ने होइन आफैं रोज्ने

काठमाडौं । एउटा परिवारको संस्था बन्न विवाह अनिवार्य छ । धर्मग्रन्थहरुमा पनि परिवार संस्कृती, विवाह र नाताकुटुम्बका वारेमा उल्लेख गरिएको छ । हुनत मानवशास्त्रीहरुले पनि विवाहका नियमहरुले नै समाज बन्न सम्भव गराउंछ भनेर उल्लेख गरेका छन् ।

 

अनि भन्ने गरिन्छ जन्म, मृत्यु र विवाह स्वर्गमै तय गरिन्छ । अर्थात जोकोही मानिसको जीवनमा एक पटक विवाह भएकै हुन्छ । अनि जन्मेपछि मानिसको मृत्यु अवश्य हुन्छ । यो प्राकृतिक नियम जस्तै हो ।

 

कतिपय दार्शनिकहरुले ‘विहे यस्तो चीज हो कि गर्ने मान्छे पनि पछुताउँछ नगर्ने मान्छे पनि पछुताउँछ ।’ भनेर व्याख्या गरेका छन् । नेपाली शब्दकोषले विवाह शब्दलाई स्त्री र पुरुषका वीचमा पति पत्नीको सम्बन्ध कायम गराउने धार्मिक वा सामाजिक कर्म भनेर परिभाषित गरेको छ । त्यतिमात्र होइन, विवाह गर्नु भनेको जीवनसाथीको चुनाव गराउनु पनि हो ।

 

यद्यपी यही विवाहको परम्परा र शैली अब विगत जस्तो छैन् । आधुनिक उदार पुस्ताले विवाहलाई नयाँ शैलीमा ढाल्न थालेको छ । अर्थात विवाहको स्वरुपमा नै कायपलट ल्याइदिएको छ । विहे गर्न अब घरघरमा हुल बाँधेर केटी हेर्न जानुपर्दैन् । केटा र केटीको परीवारबीच अनेक सहमति र सम्झौता पनि गर्नुपर्दैन् ।

 

‘विहे गर्नु कुलको पानी खानु मुलको’ हाम्रो समाजमा यो भनाई चर्चित छ । कुल, जात र खानदान हेरेर विवाह गर्ने पुरानो प्रचलनलाई यही भनाइले प्रतिनिधित्व गर्छ । तर विस्तारै कुल खानदानको कुरा अब गौड बन्दै गइरहेको छ । युवा पुस्ता आफ्नो जीवनसाथी रोज्न स्वतन्त्र हुँदै गएका छन् । समाज र परिवारको लगामबाट टाढा बन्दै गएको अहिलेको पुस्ताले विवाह गर्नुपूर्व आफ्नो जीवनसाथी रोजेरमात्र अर्थात पहिल्यै माया–पिरती गांसेर त्यसपछि मात्र परिवारको अनुमती लिने क्रम सुरु गरेका छन् । 

 

समय र समाजसँगै नेपाली रितीरिवास र संस्कारमा व्यापक वदलाव आउन थालिसकेको छ । अधिकांस युवाहरु परिवार र आफन्तको रोजाइ र खोजाइमा विवाह गर्नुपर्छ भन्ने पक्षमा छैनन् । परिवारको खुशी होइन आफू खुशी रहनुपर्छ भन्ने मान्यता स्थापित गर्न युवाहरु चाहान्छन् । केटा वा केटीले एक आपसमा रोजेर घुम्ने, मोजमस्त गर्ने, वानीव्यहोरा वुझ्ने अनि परिवारको मान्यता दिलाई खुशीको जीवन रोज्नेको संख्या बढदै गइरहेको छ । परम्परागत विवाहको संस्कार हराउँदै गएको छ । जन्ते बाख्रो लिएर जन्ती जाने, रातभर रत्यौली खेल्ने जस्ता चलनहरु कम हुँदै आएको छ । 

 

 अन्तरजातिय विवाह सामान्य बन्दै गइरहेको छ । इलाम श्रीअन्तुका बुद्धकाजी लाप्चाले ललितपुरकी नेवारी समुदायकी केटीसँग विवाह गरे पनि यो जोडीलाई परम्परागत संकारले छुनै सकेन ।  ‘यस्ता पुराना भनाइमा अल्झिने समय छैन, हामी नयाँ युगमा आएका छौं त्यसैले समयानुकुल चल्नुपर्दछ ।’ उनले भने–‘परिवारको अस्विकृतीका बावजुत हामी विवाह बन्धनमा बाँधिएका छौ तर खुशी छौं ।’ विवाहका लागी चालेको यही कदम अधिकांस युवाहरुमा लागु हुन थालेको छ । विवाहले केटा र केटीवीचमा सम्बन्ध प्रगाढ बनाउन र खुशी रहनु पर्छ भन्ने विषयलाई प्राथमिकता दिन थालिसकेको छ । 

 

नेपालका कतिपय गाउँतिर अझै पनि पुरानो प्रचलन कायम नभएको होइन । छोराको तर्फबाट आफनै बाबु, आफन्तलाई अघि लगाएर छोरी माग्न र हेर्न जाने प्रचलन यथावत छ । छोरीका तर्फबाट पनि केटाको घर, खान्दान र सम्पत्ती हेर्न जाने चलन छंदैछ । यस्तो प्रचलनले जीवन सुखमय नहुनेमा युवा नेता लाओस राई सहमत छन् ।

 

‘जात–भात, धन–सम्पत्तीमा केन्द्रित विवाहको पुरानो परम्परालाई परिस्कृत रुपमा ल्याउन आजको आवश्यक्ता हो,’ उनले भने–‘परिवार र सामाजिक बन्धनले वैवाहिक जीवन सुखमय हुनै सक्दैन् ।’ पूर्व ब्रिटिस आर्मी तथा समाजसेवी एकराज नेम्बाङ पनि पुरानै प्रचलन मान्नु पर्छ भन्ने पक्षमा छैनन् । ‘विवाह संस्कार स्विकार्नुपर्छ तर परम्परालाई समयानुकुल बदल्नुपर्छ,’ उनी भन्छनः– पहिलै चिनजान, भलाकुसारी, घुमघाम, आनीवानी तथा व्यवहार बारे जानकारी राखेर परिवारलाई ‘कन्भिन्स’ गराएर बाधिएको जोडी जीवनभर खुशी रहन सक्छ ।’

 

नेपालका कतिपय गाउँतिर अझै पनि पुरानो प्रचलन कायम नभएको होइन । छोराको तर्फबाट आफनै बाबु, आफन्तलाई अघि लगाएर छोरी माग्न र हेर्न जाने प्रचलन यथावत छ । छोरीका तर्फबाट पनि केटाको घर, खान्दान र सम्पत्ती हेर्न जाने चलन छंदैछ । यस्तो प्रचलनले जीवन सुखमय नहुनेमा युवा नेता लाओस राई सहमत छन् ।

 

अहिलेको पुस्ताले विवाहलाई डिजिटल पनि बनाउँदै लगेका छन् । सामाजिक संजालमा जोडिएर चिनजान भएकाहरु लगनगाँठो कस्न थालिसकेका छन् । फेसबुक, वीच्याट जस्ता सामाजिक संजालको प्रयोगमार्फत चिनजान भएका पुस्ताले सम्बन्धलाई विवाहमा परिणत गर्न थालिसकेका छन् । 

 

नेपाल सरकारको किशोरकिशोरी तथा युवा सर्वे–सर्वेक्षणले अहिलेका पुस्ताले विवाहमा कस्तो साथी रोज्न भनेर सर्बेक्षण गरेको छ । विवाहित मध्ये ५३.४० प्रतिशत युवक र ३७.५६ प्रतिशत युवतीले आफ्नै रोजाइले जीवनसाथी रोजेको बताएका छन् । सर्वेक्षणले देखाएको महत्वपूर्ण तथ्य के हो भने सहरी क्षेत्रका ३४.८१ प्रतिशत युवतीहरुकालागी सहमतिबिनै अभिभावकले दुलाहा खोजिदिन्छन, जबकी ३६.१७ प्रतिशत युवकका लागी दुलही खोज्दा सहमती लिइदैन भन्ने तथ्य सार्वजनिक भएको छ । 

 

विवाह गर्नैपर्छ ?

 

जोकोहीका अभिभावकहरुले आफ्ना सन्तानको उमेर पुगेपछि विवाह गरिदिन र जिम्मेवारी पुरा गर्न चाहान्छन् । छोराछोरीको पालपोषण, शिक्षादिक्षा अनि उमेर पुगेपछि विवाह गरिदिन पाए अभिभावकले आफ्नो दायित्व पुरा भएको ठान्छन् । उमेर पुगेका छोराछोरी सुरुमा विवाह गर्न हिचकिचाए पनि अन्ततः लगन गांठो जोडेरै छाड्छन् ।

 

पुरानो प्रचलनमा विवाह गर्ने भनेको बुहारी भित्राउने अनि घरको कामकाज चलाउने, खेतीपाती, चुलोचौकोमा सघाउन, बंश विस्तार गर्न मात्र नभई परम्परा धान्नका लागी विवाह गरिन्थ्यो । विवाह गर्नु भनेको व्यक्तिको होइन परिवारका लागि हुन्थ्यो । विवाहको ढुङ्गो लगाउन पनि परिवारको भूमिका बढी हुन्थ्यो । छोरीको विवाह गरेर पठाउँदा ‘पाले पुन्य, मारे पाप’ भन्ने प्रचलन थियो । वैदिक विधिले विवाहलाई पारिवारिक खुशीमा सिमित गराइदिएको थियो । 

 

 

तर समयक्रमसँगै विवाह व्यक्तिको रोजाइमा अघि बढ्न थालेको छ । पुरानो चलन हटदै केटा–केटीको खुशीमा विवाह हुन थालेको छ । जोसंग खुशी भइन्छ उही संग विवाह हुने प्रचलन बढेको छ । युवापुस्ताको चाहाना अनुसार विवाहको शैली फेरिदै गएको छ । 

 

जातभातको ‘वाल मतलव’

 

‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।’ महाकवी देवकोटाको यो भनाई हिजोआज युवाहरुको मन मुटुमा अडेको छ । हुनतमन मिले जोकोही बीच विवाह गर्न पाउने कानुनी मान्यता छ । युवाहरुको चाहाना अनुरुप विवाहले नयाँ फड्को मार्न थालेको छ । हिजोआज विवाह गर्नलाई जातले छेक्न छाडेको छ । मागी विवाह नै गर्नुपरे केटाकेटीको जात, समुदाय बुझने चलन नभएको होइन । यद्यपी मागी विवाहको प्रचलनमा कमी आएकाले जातको कुरै हराएको छ ।

 

अहिलेको पुस्ताले विवाहलाई डिजिटल पनि बनाउँदै लगेका छन् । सामाजिक संजालमा जोडिएर चिनजान भएकाहरु लगनगाँठो कस्न थालिसकेका छन् । फेसबुक, वीच्याट जस्ता सामाजिक संजालको प्रयोगमार्फत चिनजान भएका पुस्ताले सम्बन्धलाई विवाहमा परिणत गर्न थालिसकेका छन् । 

 

मानिसको गुण र दोषका आधारमा मानिस असर र खराब छुट्टाउने प्रचलनको हावी हुन थालेको छ । रोजगारीका सिलसिलाम दुवइ पुगेकी सुनिता गुरुङको कथन पनि जातले जिन्दगी चलाउने होइन मन र माया मिले हुन्छ भन्नेमा छ । सुनिता भन्छिन–‘ठूलो जात र सानो जात भनेर गरिएको विभेद अहिलेको पुस्ताले रुचाउँदैनन, मन, उमेर र भावना मिले विवाह जोकोहीसँग गर्दा फरक पर्दैन ।’

 

हुनत मागी र स्वजातिय विवाहका पक्षमा उभिने युवाहरुको पछाडी अभिभाव र समाजको खुशी मुख्य हुन जान्छ । तर अभिभावक र समाजले पनि अन्तरजातिय विवाहलाई सहज रुपमा लिन थालेको छ । हरेक महिलाहरुले विवाह गर्दा व्यावसायमा लागेको इमान्दारीता र पारिवारीक पृष्ठभूमि बुझने गर्छन भने केटाहरुले पनि पढेकी, सुन्दरी साथै जागिरे केटी रोज्न थालिसकेका छन् । यसका पछाडी जातको कुरा ओझेल पर्न थालेको बुझन गारो छैन् । परिवार र समाजले नस्विकारे अदालती विवाह गर्न पनि युवाहरुले भ्याउन थालेका छन् । 

 

धन होइन मन मिले पुग्छ

 

दाइजो प्रथा विरुद्ध जति नै अभियान चालिए पनि तराइका कतिपय स्थानहरुमा दाइजो प्रथा अझै पनि कायमै छ । यसका विरुद्ध कानुन नै बनेपनि लुकीछिपी दाइजो लेनदेन चलिरहेको छ । दाइजो नल्याउने छोरा र दाइजो नपाउने छोरीलाई समाजमा हेय दृष्टिले हेर्ने गरिन्छ । यद्यपी अहिलेको पुस्ता दाइजोको पक्षमा देखिदैनन् ।

 

विवाहलाई पैसाको लेनदेनमा मिसाइयो भने सम्बन्ध सुमधुर हुनै नसक्ने कुरामा लेखक रामसिंह रावल विश्वस्त छन् । ‘विवाह गर्ने जोडीको सम्बन्ध आपसी समझदारी र विश्वासमा निर्माण गरियो भने धनको कुनै जरुरत नै पर्दैन,’ उनले भने–‘धन त संगै दुःख गरेर कमाउन सकिन्छ, सित्तैमा पाएको दाइजोले मन शान्त गराउनै सक्दैन ।’

 

हाम्रो समाजमा गरिबको छोराले धनी परिवारको छोरी र धनी परिवारको छोराले गरिब परिवारकी छोरी भित्राउने चलन बढ्दै गइरहेको छ । त्यसैले तराईका एकाध जिल्ला बाहेर दाइजो वा धनसम्पत्तीमा विवाहको कुरा अल्झन छोडेको छ । मन मिले जातभात, धनसम्पत्तिको लेनदेन कमी हुंदै आएको छ । 

 

 

शुभसाइत नै हेर्नुपर्दैन

 

विवाह गर्दा हिन्दु धर्ममा शुभसाइत तोक्ने प्रचलन पुरानै हो । ज्योतिषहरुले शुभसाइतको मिति तोकेर विवाह गर्ने सल्लाह दिने र सोही अनुरुप विवाह बन्धनमा बांधिने प्रचलन छ  । कार्तिक, चैत्र जस्ता महिनाहरुमा विवाह गर्नुहुंदैन भन्ने मान्यता कायमै छ । तर पछिल्लो समयमा शुभसाइत नै आवश्यक पर्न छाडीसकेको छ । जोडीको समय र मन मिले विवाह जुनसुकै दिन, वार, महिना कांडेतार बन्दैन ।

 

हिन्दु संस्कारमा शुभ विवाहका लागी १२ मध्ये ६ महिना मात्रै सम्भावित हुन्छन् । ती महिना भित्र पनि विभिन्न ग्रहगोचर, केटा–केटीको जन्मकुण्डलीका आधारमा शुभ लग्न जुराउने चलन छ । ज्योतिष डा. सुनिल सिटौला भन्छन–‘अहिलेका पुस्ता यस्ता शुभसाइतको पक्षमै छैनन, आफ्नो इच्छा र समयलाई प्राथमिकता दिन्छन ।’ तर लग्न वा शुभसाइत नजुराई गरिएको विवाह शुभ हुन नसक्ने र यसको परिणाम नकरात्मक निस्कने धार्मिक विश्वास रहेको सिटौलाको भनाइ छ ।

 

दशैंको टीकाको दिन, अक्षय तृतीया, सरस्वती पूजा, विवाह पञ्चमीका दिनलाई विवाह गर्न उपयुक्त मानिन्छ । तर हिजोआज भ्यालेन्टाइन डे, नयाँ बर्ष जस्ता दिन युवाको शुभसाइत मान्न थालिएको छ । जग्गे र होम गर्ने स्थलहरु पनि बन्न छाडीसकेका छन् । आधुनिकिकरणले हिन्दु संस्कार नै मेटिने हो की भन्ने एकथरीको चिन्ता भने कायमै छ । 

 

 

विवाहबारे रमाइला भनाई

 

विवाहबारे गाउँतिर मात्र होइन समाजशास्त्री, दार्शनीकहरुले रमाइला र घतलाग्दा भनाइहरु सार्वजनिक गरिसकेका छन् । ‘विवाह एउटा यस्तो पोखरी हो जहाँ अविवाहितहरु पौडी खेलेर मजा लिन चाहन्छन भने विवाहितहरु वाहिर निस्केर घाम ताप्न चाहान्छन ।’ लङमेन एक्टिभ स्टडी डिक्सनरीले ‘एक स्त्री र एक पुरुषबीचको औपचारिक धार्मिक विधिमार्फत हुने मिलन नै विवाह हो ।’ बैज्ञानिक अल्वर्ट आइन्स्टाइनले विवाह बारे अलिक भडकिलो भरिभाषा दिएका छन् ।

 

उनले भनेका छन–‘विवाहको अवधारणा पक्कै पनि एउटा सोच्न नसक्ने सुंगुरले ल्याएको हुनुपर्छ ।’ सुकरातले चाहीं विवाह गर्न प्रोत्साहित गरेका छन् । उनले भनेका छन्–‘जे भए पनि विहे गर, असल श्रीमती पायौं भने खुशी हुनेछौं, खराब परे दार्शनिक ।’

 

त्यस्तै अन्य रमाइला तर वास्तविक भनाइहरु पनि चर्चित छन् । ‘विहे भनेको सुनौंलो पिजंडा हो जहां पस्न नपाएकाहरु कतिबेला ढोका खुल्ला र पसौंला भनेर कुर्छन भने पसेकाहरु कतिखेर खुल्ला र निस्कौंला भनी उचित समयको पर्खाइमा हुन्छन ।’ त्यस्तै पुरुष प्रति लक्षित अर्को भनाई यस्तो छ–‘विहे गरेको भोलीपल्ट पूरुषले आफू सातबर्ष थप बुढो भएको अनुभव गर्छ ।

 

तस्वीर सौजन्य : नवराज वाग्ले 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार