• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
अर्थ

चिनियाँ पक्षले बुझायो केरुङ–काठमाडौं रेलमार्गको अध्ययन प्रतिवेदन

काठमाडौं । चीनको नेसनल रेल्वे अथोरिटीले केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई सोमबार बुझाएको छ ।

 

रेलमार्ग निर्माण सम्बन्धमा चिनियाँ प्राविधिक टोलीले तयार पारेको प्रतिवेदन प्राप्त भएपछि कुन ढाँचामा, कसरी रेलमार्ग निर्माण गर्ने भन्ने विषयमा थप गृहकार्य गर्न मार्गप्रशस्त भएको छ ।

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीलाई चिनियाँ नेसनल रेल्वे अथोरिटीका उपप्रशासक आन लुसङले सोमबार रेलमार्ग निर्माणसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाएका हुन् ।

 

रेल विभागका प्रवक्ता अमन चित्रकारकाअनुसार चिनियाँ पक्षले अध्ययन प्रतिवेदन बुझाएको र आगामी दिनमा के–कसरी रेलमार्ग अगाडि बढाउने भन्ने विषयमा छलफल हुनेछ ।

 

नेपाल–चीन रेल्वे को–अपरेसन समितिको सोमबारदेखि बैठक सुरु भएको जानकारी दिँदै प्रवक्ता चित्रकारले आधिकारिक प्रतिवेदन प्राप्त भएको र त्यसलाई थप प्रक्रियामा लैजानसमेत मार्गप्रशस्त भएको बताए ।

 

सो समितिको बैठकका नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अधिकारीको नेतृत्वमा मन्त्रालयका सहसचिवहरु, विभागका महानिर्देशक बलराम मिश्र र अन्य प्राविधिक कर्मचारीकोसमेत सहभागिता रहेको थियो ।

 

बैठकमा प्रारम्भिक अध्ययन प्रतिवेदनमा आधारित भएर विस्तृत् परियोजना प्रतिवेदन तयार पार्ने र शीघ्र लगानीको मार्गदिशा तय गरी रेलमार्ग निर्माण गर्ने विषयमा छलफल भएको थियो ।चिनियाँ प्राविधिकसहितको टोलीले रेलमार्गको विषयमा स्थलगत अध्ययन गर्नेसमेत कार्यक्रम तय गरेको छ ।

 

चिनियाँ प्राविधिक टोली मंगलबार रसुवाको स्थलगत भ्रमणमा जानेछ भने बुधबार काठमाडौं–पोखरा रेलमार्गको विषयमा स्थलगत अध्ययन गर्न पोखरा जाने तयारी गरेको छ ।केरुङ–काठमाडौं रेलमार्गको दूरी करिब ८० किलोमिटर हुने देखिएको छ । सो रेलमार्गको निर्माण अवधि ८ वर्षको हुने र करिब रु तीन खर्बभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ ।

 

लगानी र निर्माण ढाँचालगायतका विषयमा छलफलका लागि मार्गप्रशस्त भएको जानकारी दिँदै प्रवक्ता चित्रकारले भने–‘प्रक्रियामा प्रवेश गरेको छ । कुन प्रक्रिया र ढाँचामा अगाडि जाने भन्ने विषय पनि निकट भविष्यमा निर्क्योल हुन्छ ।’

 

यस्तै, काठमाडौं–पोखरा रेलमार्गको विषयमा यसअघि नै चिनियाँ कम्पनीले सम्भाव्यता अध्ययन गरिसकेको छ । सो रेलमार्गको लम्बाइ १७१ किलोमिटर हुने बताइएको छ ।

 

सोमबारको बैठकमा केरुङ–काठमाडौं रेलमार्गलाई विशेष प्राथमिकतामा राखी विस्तृत् परियोजना प्रतिवेदन तयार पार्ने विषयमा घनिभूत छलफल भएको र चीनमा हुने आगामी बैठकमा सो विषयमा उपयुक्त निर्णय गर्ने सहमति भएको बताइएको छ ।

 

प्रधामन्त्री केपी शर्मा ओलीले गत असार ५ देखि १० गतेसम्म गरेको चीन भ्रमणकाक्रममा सो रेलमार्ग निर्माण प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो ।सो सहमतिलगत्तै चिनियाँ अधिकारीले रेलमार्गको स्थलगत अध्ययनसमेत गरेको थियो ।

 

काठमाडौंबाट नुवाकोटको त्रिशूली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखांकनको अवस्थासहितको सम्भाव्यता अध्ययन प्रतिवेदनमा समेटिएको छ ।यस्तै, सो रेलमार्गमा सुरुङलाई विशेष प्राथमिकता दिन लागिएको छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार