• बिहीबार ८-२७-२०७५/Thursday 12-13-2018
डबली

बलात्कारीलाई मृत्युदण्ड

सविना सिन्धु

यतीबेला घरमा आमा पूजा गर्दै होलिन् । उनले बालेको  दियोको बत्ति, जति तेल थपे पनि मधुरो बल्दै होला । यसै गरी पूजा गर्दा–गर्दै कुनै दिन झ्याप्प निभ्ला दियोको बत्ति । अनि आमाको मन अत्तालिएला । तर्सिएलिन् उनी । मलाई सम्झेर ‘बखते’  भन्दै चिच्याउलिन् । आमाको मन न हो । 

 

तर यस्तो हुन सक्दैन । यो मेरो भ्रम मात्र हो । आमालाई थाहा छ म विदेशी जेलमा छु । अभियोग पनि थाहा छ । तर मैले उनलाई फोनमा पटक पटक भनेको छु, “म दोषी होइन है आमा !” आमा विश्वस्त छिन् । म निर्दोष प्रमाणित भएर आफ्नै देश फर्किन्छु भनेर । यो मेरो देश नेपाल होइन ।

 

उनीहरु अरु अपराधिहरुलाई झैं मलाई पनि झिकाउँछन् । इजलासमा पटक पटक बहस गर्छन । वकिल फाईल तेस्र्याउँछ र नबुझिने उसकै भाषाको लवज निकलेर चिच्याउँछ । औंलो ठड्याउँछ म तिर  र भन्छ ,“बखत बहादुर......। बखत बहादुर !!” अरु वाक्य के के भट्यायो तर मैले मेरो नाम बखत बहादुर बाहेक केही बुझिँन । उसले बेलाबेलामा नेपाल, नेपाल पनि भन्थ्यो । त्यसले शायद बखतबहादुर नेपालको हो भन्न खोजेको होला । उनीहरुको देशमा म विरानो थिएँ । मेरो पक्षमा बोलिदिने  कोही थिएनन् । टुटेफुटेको अंग्रेजीमा त म निर्दोष छु भन्न खोजेकै हो । धेरै पढे लेखेको भए किन आउँथे र मजदुरी गर्न अर्काको देशमा ।

 

उनीहरुले घटनास्थल जाँच गरेको रिर्पोट पेश गरे । नजिकैको गमलामा भेटिएको कपालको सानो टुक्रा र नजिकै भेटिएको फिन्गरप्रिन्ट मेरै थियो । किनभने त्योे पार्कमा गोडमेल गरी सकेर मलजल गरी साँझ पर्नु अघि नै फर्किएको थिएँ । त्यसपछि को आयो । मैले थाहा पाइँन । पार्कमा दश बजे मात्र सुरक्षा गार्डले ताल्चा लगाउँथ्यो । बलात्कार पछि युवती मारिएकी थिई । मृत युवतीको अगाडि भेटिएका सामानहरु मेरा थिएनन । शरीरको जाँच गर्दा म निर्दोष छु भन्ने कुरा प्रष्ट हुन्थ्यो । म बलात्कारी होइन । त्यसैले उनीहरुले मलाई बलात्कारी प्रमाणित गर्न सक्ने छैनन् । फेरी केही दिनपछि उनीहरुले मेरो शरीर जाँच गरे । रिर्पोट अर्के आयो । यो विरानो ठाउँमा के हुँदैछ ! म कुरा बुझिरहेको थिइन । मलाई राखिएको ठाउँमा म एक्लो थिईँन । धेरै मानिसहरु थिए । अभियोग प्रमाणित नहुँदासम्म उनीहरु त्यही हुन्थे । दैनिक पाँच छ जना मानिस एकैसमयमा त्यहाँ छिर्थे । त्यसपछि यताउता हेरेँझैं गर्दथे । च्याप्प एउटालाई समात्थे । त्यो दिन उसको मृत्युवरण गर्ने पालो हुन्थ्यो । अपराधि पुष्टि भएको ब्यक्ति उनीहरुसँग जान खोज्दैनथ्यो । उनीहरु कालो कपडाले उसको टाउको छोपिदिन्थे र घँचेड्दै लान्थे । त्यसपछि त्यस अपराधिलाई मृत्युदण्ड दिइन्थ्यो । अनि उसको देहलिला समाप्त हुन्थ्यो । त्यस ठाउँमा दिनकादिन मृत्युदण्ड दिनु पर्ने अभियोग लागेका अपराधिहरु थपिन्थे ।

 

बलात्कृत युवतीका आफन्त म प्रति आक्रोशित थिए । उनीहरु मलाई नै बलात्कारी ठानिरहेका थिए । ‘ब्लड मनी’ ले समेत उनीहरु मान्नेवाला थिएनन् । उनीहरुको दृष्टिमा यो बखत बहादुर भन्ने नेपाली केटो बलात्कारी नै हो । मेरो जिउँदो शरीरलाई चरम यातना दिएर मेरो शरीर अन्त्य भएको हेर्न चाहान्थे उनीहरु । 

 

उनीहरुको पीडा म बुझ्न सक्थेँ । तर एउटा निर्दोषको पीडा बुझिदिने को थियो र अर्काको देशमा ? वास्तविक अपराधि झैं बनेर टाउको निहुराउनु बाहेक अर्को बिकल्प थिएन । तर अपसोस म जस्तै सोझा साझालाई दण्डित गरेर वास्तवकि अपराधिले उन्मुक्ति पाउनेछ । कस्तो दुर्भाग्य ? त्रुटी कहाँ निर भयो ?  कोबाट  भयो ? वा पैसाको चलखेल भयो ?
पाँच छ जना मानिसहरु त्यसैगरी छिर्नेछन् र मलाई दायाँबायाँ घेरी, च्याप्प समात्नेछन् । घिसार्दै लग्नेछन् । त्यसपछि के हुनेछ म माथि, अनुमान लगाउँदा पनि शरीर सिरिङ्ग हुन्छ । मुटुको ढुकढुकी बढ्न थाल्छ । मन बेचैन रहन्छ । देवताको पालामा त छलकपट हुन्थ्यो । हामी त मान्छेको युगमा छौं । एउटा सत्य प्रमाणित गर्नु थियो कि म बलात्कारी होइन । परिबन्दमा पारिएको मात्र हुँ । 

 

कसैको सानो त्रुटिले कसैको सानो बदमासिले, कसैको सानो चलखेलले अपराधि ठहरिएको अपराधि मात्र हुँ म । मृत्युदण्ड पछि त्यो फाइल क्लोज हुनेछ । अपराधि दण्डित भएको सम्झि पीडितका आफन्तले सुखको श्वास फेर्नेछन् । एक दिन त्यो कलियुग समाप्त हुनेछ  ...र फेरी सत्ययुग प्रारम्भ हुनेछ ।  

 

मैले मृत्युवरण गरेको युगौं पछि फेरी त्यही घटना खोतलिनेछ । वास्तविकता बाहिर आएपछि त्यो देशका नागरिकले आँशु चुहाउने छन् । उनीहरुसँग ‘श्रद्धाञ्जली’का दुई शब्द बाहेक केही हुनेछैन ।  म माथि फेरी ‘निर्दोष’को ट्याग  त लाग्नेछ । तर म बिलिन भईसकेको हुनेछु । अस्तित्वको समाप्ति पछि पाएको न्यायको कुनै अर्थ हुनेछैन । त्रुटी चाहे मानवीय त्रुटी नै किन नहोस् । 

 

सजायको दायरमा ल्याउनुपर्ने त अपराधिलाई पो हो । वास्तविक बलात्कारीले मृत्युदण्डको सजाय पायो भने त ठिकै होला । तर यस्तै घटना दोहोरियो भने मानिसको अमूल्य जीवन फिर्ता हुन सक्छ र ?  
 

( यो कथा काल्पनिक देशको काल्पनिक कथा मात्र हो )

[email protected]

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार