• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
देश/प्रदेश

मजदुर आत्महत्याको कारण मारुती सिमेन्ट उद्योग बन्द

लहान । उद्योग व्यवस्थापनको लापरवाहीका कारण मजदुरले आत्महत्या गरेको भन्दै बुधबार बिहानैदेखि सिरहाको गोलबजार नगरपालिकास्थित मारुती सिमेन्ट उद्योग बन्द गराइएको छ ।

 

उद्योग व्यवस्थापनले कामबाट हटाएपछि गोलबजार नगरपालिका ९ की अनीता पासवानले मंगलबार आत्महत्या गरेकी थिइन् । अखिल नेपाल कारखाना मजदुर सङ्घका सदस्यसमेत रहेकी पासवानले उद्योग नजिकै आत्महत्या गरेको थाहा पाएपछि भेला भएका मजदुरले कामकाज बहिष्कार गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका थिए ।

 

घटनाको २४ घण्टा बित्न लाग्दासमेत उद्योग व्यवस्थापनले समस्या समाधानमा चासो नदेखाएको भन्दै आन्दोलनरत मजदुरले बुधबार बिहानैदेखि उद्योग बन्द गराएका हुन् । मजदुरहरूले सिमेन्ट उद्योगमा कार्यरत पासवानलाई कामबाट हटाएकाले आत्महत्या गरेकाले कामबाट निकाल्नेलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आएका छन् ।

 

बुधबार दुवै पक्ष बसेर वार्तामार्फत समस्या समाधान गर्न उद्योग व्यवस्थापन पक्ष तयार भएपछि मृतकको शव परीक्षणका लागि अनुमति दिइएको अखिल नेपाल मजदुर संगठन प्रदेश २ का सचिव केदार देवले जानकारी दिए ।

 

‘व्यवस्थापन पक्ष समस्या समाधानका लागि लचिलो बनेकाले शव परीक्षणका लागि अस्पताल लैजान दिएका छौं,’ सचिव देवले भने, ‘तर माग पूरा नभएसम्म न त उद्योग सञ्चालन गर्न दिन्छौँ, न त आन्दोलन नै रोकिन्छ ।’

 

मजदुरको आन्दोलनका कारण अवरुद्ध राजमार्ग प्रहरीले खुलाए पनि मजदुरले मृतक पासवानको शव उद्योग परिसरमै राखेर प्रदर्शन गर्न थालेपछि उद्योग क्षेत्र तनावग्रस्त बनेको थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार