आशाको राप
अवसर नि मेरालागी नदेखिने कांडो भयो
जीतमा पनि हारै हुने किन यती घांडो भयो ?
मेरो चित्कार सबका निम्ती , सित्तै बज्ने भांडो भयो
तिम्रो सम्म जमिन आखिर, मैलाई किन डांडो भयो ?
स्वोप्नलोकको संसार पनि कांडे बागको बिहार भयो
दिनभरिको शिकारमा कान्छा बाउको अनुहार भयो,
नखाउ त पेटले माग्छ खांउभने प्रश्न हजार
हर प्रश्नको जवाफमा अदृश्य त्यो तिरको प्रहार ।
हिम्मत मेरो कपास होईन तिम्ले फुक्दै उडिजाने
तिम्रो सानो धक्कैमा यो निराशहुँदै गुडिजाने,
जोश मेरो नौनी हैन ताजा घिउ खरिए झैं छ ,
आंटको मेरो बर पिपल मनको बागमा हरियै छ ।
मलाई थाहा छ निसास भित्र झिनो कतै सानै आश छ
मनको त्यो मझेरी नेर, चुलिदो खै कुन विश्वास छ,
आजको यो छटपटी नै, भोली सफल इतिहांस बन्ला,
आज भलै मौन रहला, भोलिले त पक्कै गन्ला ।
भोलिकै ति औंला समाइ आज हरेक पद चाल्दैछु
जीवनका हरेक मोडमा आशाको एक दिप बाल्दैछु,
आशाको बस त्यान्द्रो समाइ, समुन्द्रमा फालहाल्दैछु
सास भित्रकै आशको रापले, नैराश्यता त्यो गाल्दैछु ।
प्रतिकृया दिनुहोस