• सोमबार ८-३०-२०७६/Monday 12-16-2019
डबली

डेट एक्सपायर्ड

झोलामा हर्लिक्स थियो । डिब्बामा बन्द भएको धुलो हर्लिक्सको बाहिरपट्टि ‘म्यानोफ्याक्चर डेट’ र ‘एक्सपायर डेट’ लेखिएको थियो । धेरै जसो सामानहरु किन्दा यसैगरी डेट हेरेर किनिन्थ्यो । दुई बर्ष अघि बुढी हजुरआमा बितिन् । त्यसको लगतै टोलछिमेककै दिदी बितेको खबर आयो । धेरै माया गर्ने दिदी हुन् । उनको  सम्झनाले छ महिना जति लखेटिरह्यो । मायालु सम्झना आउँथे जान्थे । कहिले काहिँ डर—डर लागेजस्तो लाग्थ्यो । प्रत्येक जिवित ब्यक्तिले आफूसँगै आफ्नो ‘म्यानोफ्याक्चर डेट’ र ‘एक्सपायरी डेट’ बोकेर हिँडिरहेको हुन्छ । महिला, पुरुष, बालबच्चा सबैले । प्रत्येक ब्यक्ति मृत्युको लाइनमा पालो कुरेर बसिरहेको हुन्छ । मात्र पालो दिलो, चाँडो आउने हो । त्यसैले त संसार ‘मिथ्या ’ हो । 


“ए  दिदी ! अलि साइड लागेर हिँड्नुस् न । गाडिले किच्ला ।”, बाइकवाला कराउँदा झस्याङ्ग भएँ । 


—    “अलि राम्ररी चलाउनु नि !”, मैले उल्टै जवाफ फर्काएँ । 


बाइकवालाले फनक्क फर्केर हेर्‍यो र आफ्नो बाटो लाग्यो । म सुरुसुरी हिँडिरहेँ । 

घरका लागि आवश्यक सामान किनेर घर फर्किँदै थिएँ। के—के सोच्न पुगेछु । हिड्दा हिँड्दै बीस वर्ष अघिका कुराहरु सम्झनामा आए । एउटी महिला थिइन् । पचास बाउन्न वर्ष जतिकी हुँदी हुन् । उनकी छोरीले उनलाई ‘मा’ अर्थात आमा भनेर बोलाउँथिन् । त्यसैले हामी केटाकेटीले पनि उनलाई आमा भन्न रुचायौं । त्यतिबेला मेरो उमेर बाह्र तेह्र वर्षको हुँदो हो । उनीहरु हाम्रो घर (माइत) मा जोडिएको घरमा भाडामा बस्थे । उनकी कान्छी छोरी र मेरी दिदी मिल्ने साथी थिए । उनकी कान्छी छोरीको नाम सरिता थियो । उनलाई म सरिता दिदी भनेर बोलाउँथेँ । 


    केही दिनदेखि बेलाबखत उनीहरु भएतिर रुवाबासी चल्न थालेको थियो । म छक्क पर्थेँ । किन होला भनेर । झलाक झुलुक हेर्दा सरिता दिदीका आँखा सुन्निएका जस्ता देखिन्थे । उनकी दिदी संझना र दाजु समिर पनि निकै निराश देखिन्थे । उनीहरुको बुबाको अनुहार पनि अँध्यारो हुन्थ्यो । 


    हाम्रो घरमा जोडिएको घर भएको हुँदा भर्‍याङ्ग ओहोर दोहोर गर्दा पनि ठूलो स्वरमा बोलेको आवाज प्रष्ट सुनिन्थ्यो । 


सरिता दिदीकी आमा भन्दै थिइन्, “म मर्दिन के मर्दिन । मेरो आयु सय बर्ष नै छ ।”  म छक्क परेँ किन यसो भनेकी होलिन् । अलि पछि थाहा भयो उनको शरीरमा क्यान्सर देखिएको रहेछ । फोक्सोको क्यानसर त्यो पनि अन्तिम स्टेजको । सरिता दिदीकी आमा दुब्ली पातली भइसकेकी थिइन् । तर उनी आत्तिएकी जस्ति थिइनन् । न उनमा मृत्युको कुनै त्रास थियो । बिरामी नै भएपनि मन्दिर धाउँथिन । घरको कामकाज गरिनै रहेकी हुन्थिन् । संसारबाट चाँडै नै विदा हुँदै छु भनेर थाहा पाउँदा मानिसहर कति आतिँदा हुन् । ‘मृत्यु’ शरीरको समाप्ति मात्र होइन । अस्तित्वकै समाप्ति पनि हो । तर सरिता दिदीकी आमामा मैले यो भाव देखिन। उनी धर्मकर्ममै बिन्दास थिइन । स्वर धोत्रो र भास्सिएको जस्तो भइसकेको थियो । तैपनि आत्तिएकी थिइनन् । 


    “छ महिना देखि एक वर्ष ....”, डाक्टरले उनको जिवन बाँच्न पाउने अवधि तोकिइदिइसकेको थियो । उपचार नहुने भएपछि डाक्टरले उनलाई घर फर्काइदिएको थियो ।

 

केमोथेरापीबाट केही महिना लम्ब्याउन सकिन्छ कि भन्ने तर्क राख्ने डाक्टरहरु पनि थिए । तैपनि उनले त्यो उपचार गर्न मानिनन् । 


    छिमेकमा मान्छेहरु कुरा गरेको सुन्दा मलाई भने डर लाग्थ्यो । 


–“अब त्यस घरबाट लाश निस्किने भो ।”


–कठै बिचरा छोराछोरी टुहुरा हुने भए ।”


—“छोटो आयु लिएर आएकी रहिछन् ।”


यस्तै यस्तै भनाईहरु सुनिन्थ्यो । यस्ता कुरा सुनेर मेरो मुटु ढुकढुक हुन्थ्यो । खै के को त्रास, के को त्रास । मनमा उब्जिइरहन्थ्यो । 

 

“ममी हर्लिक्स ल्याउनु भएन ? हर्लिक्स दिनुस् न ।”, छोराले हर्लिक्स माग्यो । मैले हर्लिक्स बनाइदिएँ। खाइसकेर छोरो खेल्न गयो । 


    सरिता दिदीहरु त्यहाँबाट डेरा सरे । कहाँ सरे त्यो पनि थाहा भएन। सरिता दिदीकी आमा ‘एक्सपायर’ भइन् होला अर्थात बितिन् होला । मेरो अनुमान थियो । धन्न डेरा सरिहाले । नत्र उनको लाश देख्नु पर्‍थ्यो होला । 


    बीस वर्ष पछि धेरै परिवर्तनहरु भए । ठेगाना परिवर्तन भयो । केटाकेटी अवस्थाबाट परिपक्क युवती भईसकेकी थिएँ । श्रीमती र आमाको भूमिका समेत थपिईसकेको थियो । 


    एकदिन दिदी र म घुम्न निस्केका थियौँ । गाडि चढ्दा गाडि भित्र मैले सरिता दिदीकी आमा जस्तै महिलालाई देखेँ । एकछिन् गहिरिएर हेरेँ। उनको अनुहार चाउरी परिसकेका थियो । यो कसरी सम्भव हुन्छ । अनुहार मिल्ने अरुनै होला, मैले सोचेँ । 


    “तपाईँ सरिताको आमा होइन ? चिन्नु भएन मलाई ?”, मेरी दिदीले सोधी पो हालिन् । “म दिपा, सरिताकी साथी । पहिले तपाइहरु हाम्रो
 घर सँगै जोडिएको घरमा बस्नुहुन्थ्यो नि ! ”, दिदीले थपिन् । यसो भनेपछि बल्ल उनले हामीलाई चिनिन् । 


“ऊ चाहिँ मेरी बहिनी ।” , दिदीले म तिर देखाउँदै भनिन् ।


“ए नानीहरु त अर्कै जस्ता भइसकेछन् । अनि मैले कहाँ चिन्न सक्नु ? धेरै वर्ष पो भइसकेछ ।”, यति भन्दै उनी हाँसिन् । 


    म हैरान थिएँ। उनलाई देखेर । “तर तपाईँ त ....।”, म भन्न खोज्दै थिएँ । पूरै वाक्य बोल्ने आँटै आएन । 


“मरिसक्नु पर्ने....।”, त्यही भन्न खोजेको हो ?, उनले भनिन् ।


 मेरो आशय त त्यही थियो । त्यसरी भनिहाल्ने आँट चाहिँ थिएन ।  


“हिम्मतले नै बाँचेकी हुँ । नत्र उही बेलामा सिद्दिसक्थेँ।”, उनले भनिन् । 


“अप्रेसन गर्नु भयो ? कि विदेश तिर औषधि उपचार गर्न जानु भयो ?, दिदीले सोधिन् । 


विदेश गइन । देश भित्रै भौंतारिएँ । यता उता  । जडिबुटी उपचार गरेँ । बिस्तारै रोगमा सुधार आउँदै गयो । यसको काहानी लामो छ । ” उनले भनिन् । “अहिले गाइ फर्म खोलेको छु । दुध बेच्छु । बाँचेकै छु । जिविका चलेकै छ। ।”


गाडिमा ठूला ठूला स्वरले गफ गर्दा  त्यहाँका मानिसले हामीलाई हेरिरहेका रहेछन् । हामी तीनै जना माइक्रोकोसँगैको सिटमा अटाएर बसेका थियौं ।


    हामी गाडी (माइक्रोबस) बाट ओर्लियौं । सरिता दिदीकी आमा गाडी भित्रै थिइन् । उनको मोबाइल नम्बर माग्न मन थियो । हेर्दाहेर्दै गाडी आँखबाट ओझेल भयो । 


    मलाई सरिता दिदीकी आमा रहस्यको पोको जस्तो लाग्यो । कहिले काहिँ डाक्टरले तोकिदिएको ‘एक्सपायरी डेट’ र इश्वरले तोकिदिएको ‘एक्सपायरी डेट’ फरक हुँदो रहेछ । मृत्युलाई धकेलिदिएर पर पुर्‍याउन सक्ने हिम्मतिला मानिसहरु पनि समाजमा हुँदा रहेछन । हामी दिदी बहिनी तीन छक्क पर्‍यौं । आधुनिक चिकित्साविज्ञानलाई समेत चुनौती दिन सक्ने यस्ता घटनाहरु पनि समाजमा भइनै रहेका हुँदा रहेछन् । 

sabinasindhu@gmail.com      


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार

प्रेम र किड्नी

२८ मङ्सिर, २०७६

ब्लाङ्क चेक

२१ मङ्सिर, २०७६