बाँदरको अपिल
थाहा छैन–
सभ्यताको कुन मोडनेर पुगेपछि,
तिम्रा पुर्खाहरूले तरे असंख्य जंघार
जसकारण लोप भयो पुच्छर
र, बने होमोसेपियन मान्छे
ठिक त्यही मोडबाट–
शुरु भयो सायद प्राकृतिक विभेदको तिम्रो सत्ता
चेतन र अवचेतनको विभाजित रेखा
तर्न नसकेर सपनाका असंख्य जंघारहरू
हिड्न नसकेर समयको किनारै किनार
हामी त छाडियौं अलपत्र,
इतिहासको त्यही सुदुर कुनामा
फलत : आदिम पुच्छर सहित
कैद छौं हामी यतिबेला
तिमीले बनाएको यो भव्य चिडियाखाना भित्र
क्रम विकासका सिद्धान्तकार
च्राल्स डार्बिनको उही पुरानो ह्याट लगाएर
जब तिमी आउँछौं यो चिडियाखानाभित्र
सुम्सुम्याउँदै तिम्रा खिरिला औंलाहरू,
मलाई सोध्न मन लाग्छ–
‘मेरो प्यारो भाई !
सभ्यताको कुनै मोडमा
तिमी र मैले
ओडारभित्र खेपेको दुःखको रंग
के एउटै थिएन र ?’
तर, तिमीले त
निर्धक्क रचना गर्यौ
एकतर्फी निरंकुश मिथहरू
जस्तो कि– ‘बाँदरले घर बनाउँदैन, अरुको पनि भत्काउँछ’
महाशय !
सोध्न चाहन्छु म–
कसले भत्काउँदैछ यो पुथ्वी जस्तै घर ?
कसले गर्दैछ होडबाजी आतंकको आकाश ठड्याउन ?
को गरिरहेछ बमवार्ड फूल जस्तै कलिला सपनाहरू माथि ?
चिडियाखानाका यी साँघुरा झ्यालहरूबाट
जब नियाल्छु म तिम्रो फराकिलो संसार
सोच्छु– हामी बाँदर हौ कि मान्छे ?
तिमी मान्छे हौ कि बाँदर ?
मान्छे र बाँदर
बाँदर र मान्छे
उस्तै उस्तै देखिरहेछु म अचेल
जस्तो कि– अमेरिकी राष्ट्रपति
संयुक्त राष्ट्र संघका महासचिव
आइएस र तालिवानका भुमिगत नेताहरू
हरेकबर्ष फेरिने, तिम्रै देशका शासकहरू
सब–सब हाम्रै अनुहारका छन्
निख्खुर हामी जस्तै
अनि किन कैद छौं हामी मात्रै
यो साँघुरो चिडियाखाना भित्र ?
प्रतिकृया दिनुहोस