• शुक्रबार ७-२९-२०७६/Friday 11-15-2019
डबली

पलेँटीमा आँखाका डाक्टर सुमनले गुञ्जाए आँखा कै भाका

काठमाडौं । नेपालयले आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा यसपाली नेत्र विशेषज्ञ सुमन थापा प्रस्तुत भए । शुक्रवार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा प्रस्तुत भएको कार्यक्रममा सुमनले १३ वटा गीत सुनाए । कार्यक्रममा प्रस्तुत भएका कतिपय गीतहरू आँखा र दृष्टिसँग सम्बन्धित थिए । आफ्नो पेशासँग सम्बन्धित संस्मरण सुनाउँदै गाइरहेका सुमनलाई सुन्दा लाग्थ्यो उनी आँखा र भाकाका संगम हुन् ।

 

कार्यक्रमको सुरुवातमा उनको सांगीतिक यात्राको पहिलो चरणको झलक प्रस्तुत भएको थियो । सुमनको आफ्नै शैली झल्किएका दुईवटा गीत प्रस्तुत भएपछि दोस्रो चरणमा गाइएका सबै गीतहरू नयाँ थिए । दोस्रो चरणका ९ वटा गीतहरू गीतकार तथा कवि श्रवण मुकारुङले सृजना गरेका थिए । सुमनका निम्ति बनेका सबै नयाँ गीतमा संगीतकार आभासको धुन सृजना रहेको थियो । 

 

प्राय अँग्रेजी भाषामा गाउने सुमन पहिलोपल्ट नेपाली गीत मात्र प्रस्तुत गर्दै थिए । तीलगंगा अस्पतालसँग सम्बन्धित डा। सुमन आफ्नो सांगीतिक रुचिलाई सदुपयोग गर्दै रकम जुटाउँछन् र विकट गाउँ पुगेर निशुल्क स्वास्थ शिविर संचालन गर्छन् । त्यसको लागि उनी ‘एक एक पाइला’ नामको संस्थासंग आबद्ध छन् ।

 

कार्यक्रममा संचालकले सरप्राइज प्रस्तुति भन्दै एउटी नयाँ गायिकालाई सुमनसँग युगल गीत गाउन निम्ता गरे । मञ्चको किनार छाम्दै उनी मञ्चमा पलेँटी कसेर बसिन् । उनको नाम थियो आशा राई । आशा जन्मदै संसारको दृश्य देख्नबाट बन्चित भएर जन्मेकी रहिछन् । आशालाई नै केन्द्रमा राखेर रचिएका २ वटा गीतमा उनले सुमनसँग स्वर मिलाइन् । 

 

कार्यक्रमको अत्यतिर प्रस्तुत भएका बाँकी गीत गीत मध्ये ‘ओ पासाङ दाइ, ओ बैनी फूलमतिया’मा प्रयोग भएको शब्द ‘स्लिट ल्याप्प’लाई बुझाउन डा। सुमनले आँखा जाँच्ने उपकरण नै बोकेर आएका थिए । उनले सोही उपकरण देखाउँदै, गीतार र घाँटीमा भिरेको हार्मोनिका बजाउँदै सुनाए- ‘ओ पासाङ दाइ, बैनी फूलमतिया, पर्ख है पर्ख म ‘स्लिट ल्याम्प’ बोकेर आउँदै छु तिमीलाई सुन्दर संसार देखाउन’ । 

 

त्यसपछि प्रस्तुत भएको फंकी शैलीको गीत ‘हतार छ, एकदम हतार छ, तर ट्राफिक जाम छ’लाई शहरको व्यस्तता र डा. सुमनको पेशासँग जोडेर प्रस्तुत गरिएको थियो । तिहारको माहोललाई ध्यानमा राखेर प्रस्तुत गरिएको अन्तिम गीत ‘साँझको बेला, अप्ठ्यारो बाटो’ पनि आँखासँगै जोडिएको थियो । यो गीत देउसी पारामा प्रस्तुत भएको थियो ।

 

गीत सुनिसकेपछि कार्यक्रममा उपस्थित गीतकार श्रवण मुकारुङले मन्तब्य व्यक्त गरेका थिए । मन्तव्यका क्रममा श्रवणले भने- ‘यसपालीको हाम्रो यो सांगीतिक सहकार्यले मलाई नयाँ गीत लेख्न प्रेरित गर्‌यो । अहिले पलेँटीमा गीत सुनिसकेपछि लाग्यो यो हाम्रो रचनात्मक कर्मको एउटा सुन्दर मोड पनि हो ।‘

 

कार्यक्रम समापनपछि  गीतकार रत्नशमशेर थापा भन्दै हुनुहुन्थ्यो- ‘नयाँ प्रयोगले नै गीत संगीतको रचनाको घेरालाई फराकिलो पार्छ, आजको प्रयोग राम्रो छ ।‘ अर्का गीतकार विप्लब प्रतीकको प्रतिक्रिया थियो( ‘सांगीतिक क्षेत्रमा रहेका धेरै कलाकारले सुन्नै पर्ने रचनाहरू सृजना भएको साँझमा संगल्न हुन पाएँ । मन प्रफुल्ल भयो ।‘ त्यस्तै नेपथ्यका अमृत गुरुङ भन्दै थिए( ‘धेरै समयपछि गीत, संगीत नसा झैँ झ्याम्म लाग्यो ।‘

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार