• शनिबार १-१५-२०८१/Saturday 04-27-2024
मनोरञ्जन

पानीमा राजनीति :  ‘छ माया छपक्कै'

फ्रेसन्युज संवाददाता, काठमाडौं । पानीका लागि गाउँमा हुने राजनीति र सामाजिक प्रभावको कथा हो  ‘छ माया छपक्कै' ।  लोकतान्त्रिक गाउँमा पानीको मुहान छ र पानीको दुख छैन तर बामपन्थी गाउँ काकाकुल छ । वर्षौसम्म दलिय घोषणापत्रले गाउँमा पानी ल्याउन नसकेपछि बामपन्थी विचार राख्ने गाउँ पानी ल्याउन जुर्मुराउँछ । यही पानीको कथामा घुमेको छ, चलचित्र । 

 

बिपी (दिपकराज गिरी) का बुबा (प्रकाश घिमिरे)  चुनाव जितेर गाउँमा पानी ल्याउन चाहन्छन् । तर छिमेकी गाउँमा लोकतान्त्रिक मत राख्ने नेताहरुको दबदवाले उनी गाउँमा पानी ल्याउन सफल हुँदैनन् । बुवाले एक्लै गर्न नसकेको कामलाई छोराले पनि सघाउने सुरसार गर्छन । त्यसपछि शुरु हुन्छ चलचित्रमा टुइस्ट । 

 

चलचित्रका पात्र काल्पनिक भएपनि यसको कथा कञ्चनपुरको गोदावरी गाविसको सत्य घटनामा आधारित रहेको फिल्म युनिटको दाबी छ । बीपी, उसका बुबा, साथीहरु गोली कान्छा (केदार घिमिरे) र प्रवीण (जितु नेपाल), मीतबुबा (शिशिर वाङदेल), अनि प्रवीणकी प्रेमिका पूजा (सुपुष्पा भट्ट), यी  पात्रहरुको अभिनय हेरुन्जेल रमाइलो लाग्छ । यी सबै पात्रहरुले आ-आफना भुमिकालाई फरक शैलीबाट प्रस्तुत गरेका छन् ।

  

 

चलचित्र भित्र पानी सँग अन्य समस्याहरु पनि देखिन्छन् । बीपीको पार्टी भित्रको आन्तरिक टकराव, प्रवीणको प्रेम,  बीपीलाई बिहे गर्न  दवाब र गोली कान्छाको बाबुलाई राजनीतिमा लागेर छोरो बिग्रियो भन्ने चिन्ता । यी चलचित्रको कथा भित्र आउने समस्याहरु हुन तर चलचित्रको मुख्य कुरा भने पानीमा नै आएर अड्किन्छ । 

 

यसैबिच लोकतान्त्रिक दलका नेताकी छोरी जल (केकी अधिकारी) बिपीको क्रान्तिकारी विचारबाट प्रभावित हुन्छिन् र उनलाई मन पराउँन थाल्छिन् । बीपी  र भिन्न बिचार बोक्ने गाउँको नेताकी छोरी जल बीच प्रेम पनि बस्छ । तर यी दुईबिचको प्रेममा पनि पानी कै समस्या आउँछ । दुबैका परिवारले एकअर्कामा आरोप प्रत्यारोप थोर्पदै जान्छन् । पानी नहुने गाउँमा छोरी नदिने कुराले अन्तमा  विद्रोहको रुप लिन्छ र नेताहरु मेलमिलापका लागि बाध्य हुन्छन् ।

 

 

‘छक्का पन्जा’ सिरिजमा  कहिले वैदेशिक रोजगारी त कहिले डिपेन्डेन्ट भिषामा बिदेशिनेका कथा थियो र धेरै नै हास्यप्रधान पनि थियो । यसपटक ‘छ माया छपक्कै’ मा दर्शकले पहिला जस्तो हाँसो केही कम मात्रामा पाउन सक्छन् ।   चलचित्रमा दीपकको चरित्र गम्भीर छ । चलचित्रमा उनी यसपटक भारतीय अभिनेता सलमान खान स्टाइलमा देखिएका छैनन् । उनी एउटा सच्चा युवा नेता जो गाउँलेहरुको लागि सधै लडिरहने भुमिकामा प्रस्तुत भएका छन् ।  उनी पटकथाकार कम कलाकारका रुपमा बढि जमेका छन् । 

 

चलचित्रको अर्को मुख्य पात्र भनेको केदार घिमीरे (माग्ने बुढा) हुन । चलचित्रलाई धेरै मात्रामा माथी उठाउने काम उनको हास्यप्रधान शैलीले पनि गरेको छ । उनी चलचित्रमा मनोरञ्जनको मुख्य स्रोत नै बनेका छन् भन्दा खासै फरक पर्दैन । उनको चरित्रले दर्शकलाई पेट मिचिमिचि हास्न लगाउँछ । यस्तै प्रेममा असफल जितु नेपाललाई पनि दर्शकले सम्झिरहन्छन् ।

 

चलचित्रले नायिका केकी अधिकारीलाई पक्कै पनि केही राहत दिएको छ । लगातार फल्प चलचित्र दिइरहेकी अधिकारीलाई यो हिटले पक्कै पनि केही उचाइमा पुर्याएको छ ।  अन्य कलाकार प्रकाश घिमिरे, सुपुष्पा भट्ट, शिशिर वाङ्देलको अभिनयलाई पनि बिर्सन सकिन्न । दीपक–दीपा फिल्म मेकिङको जति तारिफ गरेपनि कम हुन्छ । निर्देशकीय पाटोमा दीपेन्द्र लामा झन झन उचाईमा उक्लदै छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार