• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
मनोरञ्जन

नाच्ने होइन त !

फ्रेसन्युज संवाददाता, काठमाडौं । समाजमा देखिएको परिवर्तनसँगै नृत्यले पनि अहिले धेरै फड्को मारेको छ । अहिले साथीभाइसँगको जमघट, बिवाहोत्सव र बिभिन्न पार्टीहरुमा नृत्य गर्नु सामान्य कुरा भइसकेको छ । तर कतिपय मानिसलाई नृत्य नजान्नुको पिडाको कारण त्यस्ता जमघट र पार्टीहरुमा खुलेर सहभागी हुन र रमाउन सक्दैनन् । त्यही पिडा कम गराउन अहिले युवा देखि वृद्धसम्म नृत्य प्रशिक्षण केन्द्रमा धाउन थालेका छन् । 

 

आफनो नृत्य प्रशिक्षण केन्द्रमा नृत्य सिक्न आउनेहरु मध्य ६० प्रतिशत पार्टी र अन्य कार्यक्रमहरुको लागि भनेर नृत्य सिक्न आउने  गरेको नयाँ बानेश्वर स्थीत मिनिम्याक्स नृत्य प्रशिक्षण केन्द्रका सँचालक राजु श्रेष्ठ बताउँछन् । यहाँ किशोर वयोदखि ६५ वर्ष उमेरसम्मका व्यक्ति नृत्य सिक्न आउँछन् । अहिले बाहिरी कार्यक्रमका लागि भनेर नृत्य सिक्न आउनेहरुका लागि बेग्लै प्याकेजको ब्यवस्था गरिएको श्रेष्ठले बताए । मिनिम्याक्समा नै नृत्य सिकिरहेकी मैतीदेवीकी शान्ती लामाले भनि्छन्, यो नाच्न नजान्नु पनि एउटा टेन्सन कै कुरा हो । कलेजमा कार्यक्रम हुदाँ अरु साथीहरुले नाचेको देखेर आफुलाई पनि नाच्न मन लाग्ने हुनाले अहिले नृत्य सिकिरहेको उनले बताइन । अहिले त म प्रफेक्ट नाचेर देखाउन सक्छु भन्दै थिइन लामा । 

 

लामा जस्तै साधना कला केन्द्रमा नृत्य सिक्न आएका ज्ञानेश्वरका धर्मेन्द्र ओझा आफनो मोटोपन कम गर्नका लागि नृत्य सिक्न आएको बताउँछन् । नाच्नु मेरो रहर होइन तर नाचेर शरिरलाई यताउता गर्दा शरिर अलि घट्छ कि भन्ने मात्र हो । यसले आफुलाई दुई किसिमबाट फाइदा भएको ओझाले बताए । एक नृत्य सिक्न पाउनु र अर्को शरीर घटाउनु । 

 

पहिला पार्टीहरुमा सार्वजनिक रुपले नृत्य गर्दा समाजले राम्रो मान्दैन्थ्यो । तर अहिले समाजको परिवर्तनसँगै यसको दृषि्टकोणमा पनि परिवर्तन आएको बताउँछन् नृत्य निर्देशक राजु शाह । नाच्नु भनेको एउटा कला हो । अहिले नृत्य गर्नु भनेको एउटा टे्रण्ड नै जस्तो भइसकेको बताउँछन् नृत्य निर्देशक शाह । 

 

 

यस्तै मध्य बानेश्वरको स्टार डान्स सेन्टरमा नृत्य सिकिरहेकी शर्मिला पन्त भनि्छन्, साथीहरुले आयोजना गरेको पार्टीहरुमा गयो त्यहाँ नाच्नै नजान्ने । खाली ट्वाल्ल पेरेर बस्नु पर्ने । यही कारणले पनि आफुले नृत्य सिक्नु परेको हो । 

 

कुनै जमानामा आफनो साथीको बिहेमा कर्मर मर्काइ मर्काइ नाचेको क्षण अझै ताजै रहेको पुर्व मिस नेपाल उषा खड्की बताउँछिन् । नृत्यले पार्टीलाई थप आन्नदित र सम्झनलायक बनाउँछ, खड्कीले भनिन् । अहिले नृत्य एउटा आवश्यक्ता नै बनिसकेको छ । अहिले त कतै नृत्यको कार्यक्रम छ भने कम्मर हल्लाउनेको संख्या गनिसाध्य हुँदैन । त्यसमा बालबालिका युवायुवतीको जमात मात्र हुदैन बृद्धबृद्धा पनि टन्न हुने गरेका छन् । ती मध्य कतिले जानेर नाच्छन् भने कतिले नजानेर पनि आफनो जिउ हल्लाइ नै रहेका हुन्छन् । माच्छेमा नाच्न जान्नु पर्छ भन्ने सोच अहिले धेरै बढेको खड्कीले बताइन । सिकेरै नृत्य गर्ने हो भने रिद्म अनुसार नाच्न सकिन्छ त्यसो हुँदा नाच्नेहरुको भीडमा आफु केन्द्रबिन्दु समेत बन्न सकिने पुर्व मिस नेपाल खड्कीको भनाई छ । 

 

नृत्य सिक्न आउनेको सख्या अहिले एकदमै घटेको बताउँछन् कमलादी स्थीत श्रुती नृत्य प्रशिक्षण केन्द्रका संचालक नरहरी पाण्डे । त्यसमाथि पार्टीमा नाच्न कै लागि नृत्य सिक्ने को सख्य जम्मा ३० प्रतिशत मात्र रहेको उनले बताए । अहिले जताततै नृत्य प्रशिक्षण केन्द्र खुल्नाले पनि यस्तो अवस्था आएको पाण्डेले बताए । यहाँ यस्ता पनि छन् जो खाली रमाईलाका लागि मात्र पनि नृत्य सिक्न चाहन्छन् । श्रुती नृत्य प्रशिक्षण केन्द्रमा नृत्य सिक्न आएकी पुतलीसडक की कबिता महर्जन भन्दै थिइन, म त आफनो बहिनीको बिवाहमा नाच्नको लागि मात्र भएपनि नृत्य सिक्न आएकी हुँ । के गर्नु पहिला साथीको पार्टीमा नाच्न नजानेर कस्तो नराम्रो छाप बस्यो अहिले त सबैलाई चकित बनाउन सक्ने गरी नृत्य गर्न सक्छु  । 

 

 

पछिल्लो समय मोडल, कलाकार तथा युवापुस्तामात्र नभइ ब्यवसाय, गृहिणी बृद्धाबृद्धा, व्यापारी, जागिरे, उद्यमी, तथा उच्च वर्गका व्यकि्तहरुलाई पनि नृत्य सिक्ने भुत चडेको छ । साधना कला केन्द्रले मासिक तीन हजारसम्मलाई नृत्य सिकाउँदै आइरहेको छ । केन्द्रमा ६ वर्ष देखि ७० वर्ष उमेरसम्मकाहरुले नृत्य सिक्न आउने केन्द्रका प्रबन्ध निर्देशक मिलन मोक्तान बताउँछन् । उनी भन्छन्, हामी कहाँँ सबै किसिमका नृत्य सिकाइन्छ । क्लासिकल, मोर्डन र फोर्क हामी कहाँ सिकाइने नृत्य हो । कोही आफनो सौखको लागि नृत्य सिक्न आउँछन् भने कोही पार्टी उत्सवहरुमा नाच्नका लागि । यहाँ नृत्यका प्रकार फरक भएपनि शुल्कमा भने खासै फरक नहुने मोक्तानले जानकारी दिए । प्राय धेरै उपत्यका बाहिरबाट आएकाहरु यहाँ नृत्य सिक्न आउँछन् ।

 

बिगत १२ वर्ष देखि साधना कला केन्द्रमा नृत्य प्रशिक्षण सिकाइरहेका यम गुरुङ भन्छन्, बिगतको तुलनामा पछिल्लो चार पाँच वर्षयता पार्टीका लागि नै भनेर नृत्य सिक्न आउनेको सख्या १५ देखि २० प्रतिशतले बढेको छ । दैनिक नियमित रुपमा पसिना निस्कने गरि नृत्य गर्दा स्वास्थ्यलाई पनि प्रत्यक्ष फाइदा पुग्छ र नृत्य पनि सिकिन्छ, प्रशिक्षक गुरुङले भने । मधुमेह, उक्त रक्तचाप र मानसिक तनाव नियन्त्रणका लागि नृत्य एकदमै सजिलो माध्यम भएको उनले बताए । 

 

शास्त्रीय, साल्सा, वल, हिपहप बलिउड, बी—बोइङ, लोकनृत्य लगायतका नृत्यहरु अहिले मुख्य गरेर काठमाडौका नृत्य प्रशिक्षण केन्द्रहरुमा सिकाइने नृत्य हो । 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार