• सोमबार ७-२३-२०८३/Monday 11-09-2026
बिश्व

उनी २८ वर्षअघि हिँडेका थिए; ३६ हजार माइलको यात्रापछि अब घर पुग्नै लागेका छन्

काठमाडौं ।  आफ्नो यात्रा लगभग पूरा हुनै लाग्दा कार्ल बुशबीले चार महादेशहरू कटाउने आफ्ना साहसिक अनुभव, यस क्रममा बिग्रिएका सम्बन्ध र आफ्नो जीवनमा आउन लागेको ठूलो परिवर्तनबारे सोचिरहेका छन्।

 

सन् १९९८ मा २९ वर्षका पूर्व प्याराट्रुपर कार्लले चिलेको पुन्टा एरेनासबाट आफ्नो गृह नगर 'हल'सम्म पैदल यात्रा सुरु गरेका थिए। उनले यसका लागि दुई वटा कडा नियम बनाएका थिए: यात्रा पूरा नभएसम्म ब्रिटेन नफर्कने र अघि बढ्नका लागि कुनै पनि सवारी साधनको प्रयोग नगर्ने।

 

अहिले ५७ वर्ष पुगेका उनी आफ्नो यात्राको अन्तिम चरणमा छन्। यसबीचमा उनले डारिएन ग्यापको घना जङ्गल छिचोलेका छन्। बरफले ढाकिएको बेरिङ स्ट्रेट काटेका गरेका छन्। र केही साताअघि मात्रै 'इङ्लिस च्यानल' पौडिएर पार गरेका छन्।

 

यात्राको अन्त्यमा उनलाई भेट्न उनका ३६ वर्षीय छोरा एडम, १२ वर्षीया नातिनी (जसलाई उनले अहिलेसम्म भेटेका छैनन्), तथा उनका बुबा र दाजुभाइहरू आउने छन्। बुशबीकी आमा भने उनले बाल्यकाल बिताएको घरमा पर्खिरहेकी हुनेछिन्, त्यही घर, जहाँबाट उनी २८ वर्षअघि निस्किएका थिए।

 

"हामी अहिले पक्कै पनि टेरा इन्कग्निटा (एउटा अज्ञात क्षेत्र)मा छौँ वा छिट्टै नै त्यस्तो अवस्थामा पुग्नेछौँ," एउटा लिङ्कनशरको एउटा गाउँमा भेट्दा बुशबीले मलाई भने।

 

"यतिखेर म सहज महसुस गरिरहेको छु किनकि म आफ्नो नियमित काम गरिरहेको छु। तर छिट्टै नै यो काम हठात् रोकिने वाला छ।" ठ्याक्कै 'द बिस्ट'जस्तै, जुन बुशबीको निकै बलियो र गह्रुँगा सामान बोक्ने गाडी हो।

 

यो यात्राको खण्ड सुरु भएको केही माइलमै बुशबीको हातेगाडाको टायर पङ्चर हुन्छ। त्यसमा उनले अत्यावश्यक सामानहरू बोक्छन्। "धेरै पछि यस्तो समस्या आइलाग्यो," उनी भन्छन्। "धत्! यो त निकै झन्झटिलो हुने भयो।"

 

सडकछेउमै त्यसलाई हतार-हतार मर्मत गर्न खोजिरहँदा उनले एकपटक मुस्कुराउँदै थपे: "यदि पानी परिरहेको हुन्थ्यो भने म सायद अझ बढी गुनासो गरिरहेको हुन्थें होला।"

 

"डोभरमा पुगेको सुरुका केही दिनमै पानी पर्न थालेको थियो। तर मौसमको हिसाबले भन्नुपर्दा हामीले एकदमै सही समय जुराउन सक्यौँ। पौडी खेल्नका लागि हामीले ती तीन दिन एकदमै उपयुक्त पायौँ।" गाडीहरू आवाज निकाल्दै हाम्रो छेउबाट हुइँकिन्छन्।

 

बुशबी ठट्टा गर्दै भन्छन्: "तपाईँहरूलाई थाहा छ नि, तपाईँहरू सडकको गलत साइडमा गाडी चलाउँदै हुनुहुन्छ?" उनले प्रयोग गरेको "तपाईँहरू" भन्ने शब्दले उनको आफ्नो घर वा जन्मभूमिबाट रहेको दूरी वा विच्छेदलाई झल्काउँछ।

 

बुशबी टायर पङ्चर हुनेजस्ता भौतिक अवरोधहरू पार लगाउन सिपालु छन्। तर के उनी त्यसपछिको अवस्थाका लागि तयार छन्? "म जे हुँ र मलाई आफ्नो बारेमा जे जति थाहा छ, त्यो सबै अब हराउँदै जाने छ," उनी भन्छन्। "र यो एउटा समस्या बन्ने छ। यहाँ 'पहिचानको सङ्कट' उत्पन्न हुने छ। किनकि कार्ल भनेको यही [एक साहसी यात्री] हो र आफ्नो आधा जीवन उनले यसरी नै बिताएको छ।"

 

"म खासमा को हुँ भन्ने मैले फेरि पत्ता लगाउनुपर्ने छ। यी सबैको अर्थ के हो? म त्यो अर्थ र उद्देश्य कसरी फेला पार्न सक्छु? अचानक आइपर्ने त्यो शून्यता वा खाडललाई म कसरी भर्न सक्छु?"

 

"मेरो अस्तित्वको हरेक अंश, हरेक दिन, अहिले म जे गरिरहेको छु, त्यसैमा केन्द्रित रहँदै आएको छ। यही नै मेरो अभियान थियो।"

 

"एउटा पुरानो भनाइ छ नि... आफ्नो सपना पूरा गर्न नसक्ने मानिसभन्दा पनि खराब अवस्था त ती मानिसको हुन्छ जसले आफ्ना सपनाहरू पूरा गरिसकेका छन्... किनभने, त्यसपछि के त?" लामो दूरीकी अमेरिकी पदयात्री एन्जेला म्याक्सवेल डोभरमा उनीसँग यस पदयात्रामा सामेल भइन्; उनी 'द च्यानल' पौडेर पार गरेपछि त्यहीँ आइपुगेकी थिइन्।

 

"मलाई लाग्छ कार्ल आफैँ पनि आफ्नो बाटो (यात्रा) कति धेरै याद आउने छ भनेर छक्क पर्ने छन्," उनी भन्छिन्। "हामी कहिलेकाहीँ कार्ललाई हिँड्न मन पर्दैन भनेर ठट्टा पनि गर्छौँ । तर उनलाई आफ्नो अभियान मन पर्छ। उनलाई त्यो जोस र उद्देश्य मन पर्छ।" बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार