नाकका दुई प्वालबाट किन पालो गरेर सास फेरिन्छ
काठमाडौं । दिनमा कैयौँ पटक हामीलाई थाहै नभईकन हाम्रो नाकको प्वालले पालैपालो सास तान्ने र फाल्ने काम गरिरहेका हुन्छन्। यसलाई 'नासिका चक्र' भनिन्छ र यसले हाम्रो नाकको स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। रुघा लागेको बेला वा एलर्जी भएका बेला नाक बन्द भएर सास लिन र छाड्न मुस्किल पर्छ। त्यस्तो विरामी नपरेको बेलामा पनि तपाईँले लामो सास तान्दा याद गर्नु भएको होला नाकको एउटा प्वालबाट मात्र हावा भित्र प्रवेश गरेको हुन्छ। तर यो आत्तिनु पर्ने कुरा होइन तपाईँ जे अनुभव गरिरहनुभएको छ त्यो वास्तवमा एक स्वाभाविक शारीरिक प्रक्रिया हो।
हामी जागा रहेका बेला हरेक दुई घण्टामा हाम्रो नाकको प्वालबाट हावा भित्र जाने र बाहिरिने पालो परिवर्तन भइरहने विज्ञहरू बताउँछन्। तर निदाएका बेला भने त्यस्तो परिवर्तन हुने दर कम हुन्छ किनभने हाम्रो शरीरभित्र प्रवेश गर्ने र निस्कने हावाको मात्रा नै कम हुन्छ। नासिका चक्रको दुई पक्ष हुन्छः एउटा नाक साँघुरो हुने र अर्को नाक फुक्ने। साँघुरो अवस्थामा एउटा नाकबाट बहने हावाको मात्रा कम हुन्छ र खुलेको नाकको प्वालबाट भने हावाको प्रवाह धेरै हुन्छ।
धेरै हावा भित्र लगेको नाकको प्वाल थाक्छ हावाले त्यसलाई सुक्खा बनाइदिन्छ र त्यसमा कीटाणुहरू बस्ने सम्भावना बढ्छ। त्यसैले नाकको प्वालले सास फेर्ने कार्य पालै पालो गर्ने गर्छन्। नाकको यो चक्र स्वचालित हुन्छ र मष्तिष्कमा रहेको हाइपोथलामसले यसलाई नियन्त्रित गरेको हुन्छ। यद्यपि केही मानिसहरू जो चाहिँ हाइपोथलामसमा समस्या भएका हुन्छन् उनीहरूमा नासिका चक्र चलिरहेको हुँदैन।
दायाँ हात प्रमुख रहेर काम गर्नेहरूमा बायाँ नाकको प्वाल धेरै सक्रिय हुने गरेको बताइन्छ। अध्ययनहरूले देखाएका छन्- जब नाकको दायाँ प्वाल सक्रिय हुन्छ त्यसबेला शरीर बढी सतर्कताको स्थिति या तनावको स्थितिमा रहेको हुन्छ। जब बायाँ प्वाल सक्रिय हुन्छ त्यसबेला शरीर आरामको स्थितिमा रहन्छ। धेरै कारणले 'नासिका चक्र' महत्त्वपूर्ण मानिन्छ।
पहिलो यसले नाक र श्वास प्रणालीको माथिल्लो तहलाई जोगाउँछ। हाम्रो नाकबाट हरेक दिन १२,००० लिटर हावा भित्र बाहिर गरिरहेको हुन्छ र त्यसो गर्दा कीटाणुबाट जोगाउन भूमिका खेल्ने बचाउ प्रणालीको रूपमा यो प्रकृयाले काम गर्छ। फरक फरक प्वालबाट हावा भित्र बाहिर गर्दा क्षतिको खतरा कम हुन्छ।
नाकलाई पनि आराम गर्न जरुरी हुन्छ। हावाको सम्पर्कमा आउने हुनाले हावाले यसलाई सुक्खा बनाइदिन्छ। त्यसैले आराम नगर्ने हो भने कीटाणुले यसलाई नोक्सान पुर्याउने स्थिति बन्न सक्छ। नाक बन्द हुँदा नाकका नशाहरूमा रक्त प्रवाह बढ्छ। यसले गर्दा नाकको प्वालको सतह मर्मतका लागि भिजेकै रहिरहन्छ। र हावा यो सतह हुँदै बग्दा तातो र वाष्पयुक्त बन्न पुग्छ। एडम टेलर/बीबीसी
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस