निर्वाचनका सम्पूर्ण तयारी पुरा, २४ घन्टाभित्र प्रत्यक्षतर्फको मत परिणाम
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोगका अनुसार आवश्यक मतपत्र, मतपेटिका तथा अन्य निर्वाचन सामग्री सबै मतदान केन्द्रमा पुर्याइसकिएको छ । बिहिवार हुने निर्वाचनका लागि मतदान केन्द्रहरूको निर्माण, व्यवस्थापन, पहुँच व्यवस्थापन, लैङ्गिक र अपाङ्गमैत्री व्यवस्था तथा कर्मचारी परिचालनलगायतका सम्पूर्ण तयारी भइसकेको आयोगले जनाएको छ ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्तलगायतका पदाधिकारीले आज पत्रकार सम्मेलन गरेर संवैधानिक दायित्व अनुसार आयोग स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय निर्वाचनको दायित्व पूरा गर्न क्रियाशील रहेको स्मरण गराउँदै तयारी पूरा भएको जनाएको हो ।
२४ घन्टाभित्र प्रत्यक्षतर्फको मत परिणाम
आयोगले मतगणना सुरु भएको २४ घन्टाभित्र प्रत्यक्षतर्फको मत परिणाम दिने गरी गणना गराउन प्रबन्ध गरेको जनाएको छ । त्यसलगत्तै समानुपातिकतर्फको मतगणना हुने जनाइएको छ । दुर्गम पहाडी जिल्लाका ६१ स्थानबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत मतपेटिका संकलन गरिने र अन्य स्थानको गाडीबाट संकलन गरिने आयोगका सचिव कृष्णबहादुर राउतले जानकारी दिए ।
मतपत्र र मतपेटिकाको सुरक्षा र संकलन विगतमाझैँ एकीकृत सुरक्षा योजनाबमोजिम हुने भएकाले मतपेटिका सुरक्षित हुने आयोगको भनाइ छ । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने, “मतपेटिका संकलन पहिलेदेखिकै व्यवस्था अनुसार हुने हो । नेपाली सेनाले छुट्टै संकलन गर्ने होइन । मतपेटिका किञ्चित साटफेर हुँदैन। यसका शङ्का गरिरहनु पर्दैन ।’’
निर्वाचनामा पहिलो हुने निर्वाचित हुने प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दल प्रतिस्पर्धामा छन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार मैदानमा छन् ।
त्यसैगरी सामानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार छन् । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि निर्वाचन हुने छन् ।
यसपटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम छन् । एक लाख ८६ हजार १४२ अस्थायी मतदाता रहेका छन् ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस