एक आपसमा मैत्री भाव प्रकट गर्ने पर्व 'फागू पूर्णिमा'
काठमाडौं । काठमाडौं उपत्यका र देशका पहाडी तथा हिमाली क्षेत्रमा आज फागू पूर्णिमा मनाइँदै छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ ।
फागुको अवसरमा आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् ।
उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ ।
काठमाडौ उपत्यका सहित पहाडी जिल्लाहरुमा मंगलबार र तराइमा भने बुधबार फागु पर्व मनाईन्छ । होलीको अवसरमा बिहानैदेखि रंग तथा अवीर खेल्ने क्रम शुरु भइसकेको छ ।
सत्ययुगमा भगवान् विष्णुका भक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपुले विभिन्न जाल बुन्दा पनि मार्न नसकेपछि हिरण्यकश्यपुले आगोबाट नजल्ने, नमर्ने बरदान पाएकी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा भक्त प्रह्लादलाई केही नभएको तर होलिका जलेर नष्ट भई असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा यो पर्व मनाइने गरिएको हो ।
सम्बन्धित समाचार




प्रतिकृया दिनुहोस