• सोमबार ११-२५-२०८२/Monday 03-09-2026
मनोरञ्जन

रहेनन् ‘राते काइँला’

काठमाडौं । अभिनेता सुनील थापाको निधन भएको छ । कलाकार संघका अध्यक्ष मोहन निरौलाले थापाको निधन भएको पुष्टि गरेका छन् । उहाँको शव थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा राखिएको संघका अध्यक्ष निरौलाले बताए । परिवारका सदस्य आएपछि थप प्रक्रिया अगाडि बढ्इने उनको भनाई थियो । गएराति घरमै उनको निधन भएको हो । सुतिरहेकै अवस्थामा बेहोस रहेको फेला परेपछि उनलाई नर्भिक इन्टरनेशनल हस्पिटल थापाथली पुर्‍याइएको थियो । 

 

शुक्रबार राति अबेरसम्म थापाले चलचित्रको छायांकन गरेका थिए । उनी चलचित्र ‘राम नाम सत्य’को छायांकनमा थिए । “हिजो राति अबेरसम्म उहाँ सुटिङको सेटमै हुनुहुन्थ्यो । राम नाम सत्य भन्ने चलचित्रमा अभिनय गरिरहनु भएको थियो,”  कलाकार विल्सन विक्रम राईले भने । 

 

राति अबेर उनी आफ्नो अपार्टमेन्टमा आएर सुतेका थिए ।  बिहानै सुटिङमा जानुपर्नेछ, मलाई चाँडै उठाइदिनु है भनेर भन्नु भएको रहेछ,” राईले भने, “बिहान स्टाफ बोलाउन जाँदा, उहाँ बेहोस रहेको देखेपछि अस्पताल ल्याइएको थियो । तर, अस्पताल ल्याउँदासम्म धेरै ढिलो भइसकेको चिकित्सकले बताउनुभयो ।” थापालाई धेरैले ‘राते काइँला’ भनेर चिन्छन् भने उनले बलिउडका चलचित्रमा पनि काम गरेका थिए ।

 

यसैविच प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनील थापाको असामयिक निधनको खबरले आफू मर्माहत भएको बताएकी छन् ।अभिनेता थापाको निधनसँगै नेपाली र भारतीय चलचित्रजगत्ले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाएको उनले उल्लेख गरेकी छन् । प्रधानमन्त्री कार्कीले ‘चिनो’का राते काइँलादेखि ‘मेरी कोम’का प्रशिक्षकसम्ममा उनका खलनायक र सहनायकका उम्दा भूमिका करोडौँका मन जित्न सफल भएको बताएकी छन् ।

 

शोक सन्देश जारी गर्दै उनले कलाकार थापाका हरेक चरित्र दर्शकका स्मृतिमा सदैव जीवित रहने बताएकी छन् । सन्देशमा उनले भनेकी छन्, “चार दशकभन्दा बढी समयको उहाँको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत रहनेछ ।” प्रधानमन्त्रीले थापाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक तथा सम्पूर्ण कला क्षेत्रप्रति गहिरो समवेदना व्यक्त गरेकी छन् ।  

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार