आयोगले समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटायो
काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ । उमेर नपुगेका, मतदाता नामावलीमा नाम नभएका, जरिवाना नतिरेका, कालोसूचीमा रहेकाहरूको नाम आयोगले बन्दसूचीबाट हटाएको हो ।
जसमा कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जना, प्रदेशसभाको बन्दसूचीतर्फ नाम कायम भएका २५ जना, आयोगको जरिवाना भुक्तान नगरेका १० जना, २५ वर्ष उमेर नपुगेका ४, मतदाता नामावलीमा समावेश नभएका १, मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका २, महिलाको ठाउँमा पुरुष उम्मेदवारको रुपमा पेश भएका १, राजनीतिक दलबाट नाम हटाउन अनुरोध भएका १० र अन्य कारणबाट २ जनाको नाम हटाइएको आयोगले जनाएको छ ।प्रतिनिधिसभा सदस्य निर्वाचन आगामी फागुन २१ गते हुँदैछ ।
दलबाट प्राप्त जानकारीसमेतका आधारमा उम्मेदवारहरूको विवरण रुजु भई देहाय बमोजिमका ७६ जना उम्मेदवारहरूको नाम बन्दसूचीबाट हटाउने निर्णय भएको छः
१. कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका : २१ जना
२. प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका : २५ जना
३. निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका : १० जना
४. पच्चीस वर्ष उमेर पूरा नभएका : ४ जना
५. मतदाता नामावलीमा नाम समावेश नभएका : १ जना
६. मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका : २ जना
७. महिला उम्मेदवार पेस हुनुपर्नेमा पुरूष उम्मेदवार पेस भएका : १ जना
८. नाम हटाउन भनी सम्बन्धित राजनीतिक दलबाट लेखिआएका : १० जना
९. माथि उल्लिखित कारणहरुमध्ये एकभन्दा बढी कारण भएका : २ जना
यस सम्बन्धी विस्तृत विवरण निर्वाचन आयोगको वेवसाइट www.election.gov.np मा हेर्न सकिने छ।





प्रतिकृया दिनुहोस