• आइतबार ११-३-२०८२/Sunday 02-15-2026
देश/प्रदेश

विपदसम्बन्धी छुट्टै ‘डिजास्टर कोड’ आवश्यक

काठमाडौं । विपत् व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेशप्रसाद भट्टले स्थानीय तहलाई सक्षम बनाउन सके क्षति न्यूनीकरण सम्भव हुने  बताएका छन ।(डिजास्टर प्रिपेयरडनेस नेटवर्क नेपाल–डीपिनेट) को १७औँ वार्षिक साधारणसभामा प्रमुख अतिथि भट्टले विपदसम्बन्धी छुट्टै ‘डिजास्टर कोड’ आवश्यक रहेको र ‘लस एन्ड ड्यामेज फन्ड’ मा पहुँच विस्तारका लागि पहल भइरहेको समेत जानकारी दिए ।

 

 

साधारणसभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रमको अनुमोदन गर्दै चालु आर्थिक वर्ष २०८२/८३ का प्रस्तावित कार्यक्रम प्रस्तुत गरिएको थियो। सभामा डीपिनेटले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, सरकारी निकाय र विभिन्न सरोकारवालाबीच समन्वय, सहकार्य र साझेदारी विस्तार गर्दै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा योगदान गर्दै आएको तथ्य स्मरण गराइएको थियो।

 

वि.सं. २०५२ मा अनौपचारिक मञ्चका रूपमा स्थापना भई २०६४ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत दर्ता भएको डीपिनेट विगत २९ वर्षदेखि विपद जोखिम न्यूनीकरणका क्षेत्रमा क्रियाशील रहँदै आएको छ। हाल सञ्जालमा राष्ट्रिय–अन्तर्राष्ट्रिय संघसंस्था तथा व्यक्तिगत र आजीवन सदस्य गरी १९१ सदस्य आबद्ध छन्।साधारणसभाको अध्यक्षता डीपिनेटका अध्यक्ष डा. राजु थापाले गरेका थिए भने कार्यक्रम महासचिव इ. सुरज गौतमले सञ्चालन गरेका थिए ।

 

साधारणसभामा प्राविधिक सल्लाहकार विशालनाथ उप्रेतीले ‘नेपालमा भूकम्पः पूर्वसूचना प्रणाली’ विषयमा प्रस्तुति दिदैहिमालय क्षेत्रमा ठूला भूकम्पको जोखिम कायमै रहेको बताए। उप्रेतीका अनुसार १५०५ सालको जस्तै ८.५ म्याग्निच्युडको भूकम्प जाने सम्भावना अध्ययनहरूले देखाएका छन्। हाल नेपालमा ४७ वटा सेस्मिक स्टेसन र ११ वटा जीपीएस स्टेसन रहे पनि ठूला भूकम्पको प्रभावकारी पूर्वसूचनाका लागि यो संख्या अपर्याप्त रहेको उनको भनाइ थियो।

 

“४० सेकेन्ड अगावै सूचना दिन सक्ने प्रविधि विकास गर्न सके १० लाखभन्दा बढी मानिसको ज्यान जोगिन सक्छ,” तर आवश्यक प्रविधि र डाटामा पहुँच नहुँदा नेपाल अझै जोखिममै रहेको उनको भनाइ छ। विपद विज्ञ शंकर कोइरालाले पालिका र प्रदेशलाई विपद व्यवस्थापनमा दक्ष बनाउनुपर्नेमा जोड दिए। तालिममा एकरूपता र सर्वसाधारणको पहुँच सुनिश्चित गर्न गृह मन्त्रालयले नेतृत्व लिनुपर्नेमा उनदे जोड दिए । 

 

एनसेट नेपालका कार्यकारी निर्देशक सूर्य नारायण श्रेष्ठले भूकम्प सुरक्षा दिवस सन् १९९५ देखि मनाउन थालिएको र यस वर्ष २१औँ संस्करण मनाइएको जानकारी दिए। आगामी मे महिनामा गोरखा भूकम्पको दशौँ वर्षको सन्दर्भमा ‘एशिया कन्फरेन्स अन इन्जिनियरिङ’ नेपालमा आयोजना हुने पनि उनले जानकारी दिए ।

 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार