• आइतबार ११-३-२०८२/Sunday 02-15-2026
बिश्व

इरानमा जारी विरोध प्रदर्शन 'अभूतपूर्व' मानिनुका पाँच कारण

काठमाडौ । इरानमा सरकारविरोधी प्रदर्शनहरू यो इस्लामिक गणतन्त्रको ४७ वर्षको इतिहासमा कहिल्यै नदेखिएको अवस्थामा पुगेको कैयौँ विज्ञ र प्रत्यक्षदर्शीहरूले बताएका छन्। देशका विभिन्न सहरहरूमा मानिसहरू सडकमा उत्रिएका बेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यदि अधिकारीहरूले प्रदर्शनकारीमाथि दमन गरेमा 'दुख्ने ठाउँमा निकै कडा प्रहार गर्ने' र अमेरिका ूसहयोगका लागि तयार रहेकोू चेतावनी दिएका छन्। इरानी अधिकारीहरूले यस क्षेत्रमा अमेरिकी सहयोगीहरू र स्वार्थहरूमा आक्रमण गरेर जबाफ फर्काउने दृढता प्रकट गरेका छन्।

 

विज्ञहरू यस वर्षको विरोध प्रदर्शनको तह र विस्तार अभूतपूर्व भएको ठान्छन्। समाजशास्त्रका अनुसन्धाता एलि खोर्स्यान्द्फर इरानका प्रमुख सहरहरूमा भएका प्रदर्शनहरू 'धेरै मानिसले कहिल्यै नाम नसुनेको' साना सहरहरूमा पनि फैलिएको बताउँछिन्। इरानमा यसअघि पनि विरोध प्रदर्शनहरू भएका छन्। सन् २००९ मा 'हरित आन्दोलन' ले चुनावमा भएको भनिएको धाँधलीविरुद्ध मध्यम वर्गको विरोध प्रदर्शनको नेतृत्व गरेको थियो। सन् २०१७ र २०१९ मा भएका अन्य प्रमुख विरोध प्रदर्शनहरू कमजोर वा गरिबबहुल इलाकामा सीमित थिए।

 

सबैभन्दा तुलनात्मक पछिल्लो प्रदर्शन सन् २०२२ मा भएको थियो, जुन हिरासतमा २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि सुरु भएको थियो। ती युवतीलाई इरानको आचार तथा व्यवहार निगरानी गर्ने प्रहरीले नियमानुसार हिजाब नलगाएको आरोपमा पक्राउ गरेको थियो। ती विरोध प्रदर्शनहरू अमिनीको मृत्युपछि तीव्र रूपमा चर्किए तर कैयौँ समाचारहरूका अनुसार छ दिनपछि त्यो उच्च बिन्दुमा पुगेको थियो। त्यसभन्दा फरक, अहिले भइरहेका विरोध प्रदर्शनहरू ठूला, व्यापक देखिन्छन् र डिसेम्बर २८ तारिखमा सुरु भएदेखि निरन्तर बढ्दै गएको देखिन्छ। सन् २०२२ को विरोध प्रदर्शन जस्तै, अहिलेको विरोधको जरो कारण एक विशिष्ट खालको असन्तुष्टि हो, जुन तत्काल गम्भीर प्रणालीगत परिवर्तनको मागमा परिणत भएको छ।

 

'२०२२ मा महिलाको मुद्दाबाट आन्दोलन सुरु भएको थियो। तर त्यसमा अन्य असन्तुष्टि पनि प्रतिबिम्बित थिए‘ डिसेम्बर २०२५ को विरोध प्रदर्शन आर्थिकजस्तो देखिने मुद्दाहरूबाट सुरु भयो र निकै छोटो अवधिमा त्यसले साझा सन्देशहरू बोक्न पुगेको छ,' खोर्स्यान्द्फरको भनाइ छ। डिसेम्बरको अन्त्यमा, अमेरिकी डलरसँग इरानी रियालको विनिमय दरमा देखिएको तीव्र उतारचढावको प्रतिक्रियास्वरूप व्यापारीहरू तेहरानको मुख्य स्थानमा हडतालमा उत्रिए।

 

विरोध प्रदर्शनहरू देशको पश्चिमी भागको सबैभन्दा गरिब क्षेत्रहरूसम्म फैलिए। यद्यपि सन् २०२२ मा जस्तै इलम र लोरेस्तान प्रान्तहरू मुख्य केन्द्रबिन्दुमध्ये पर्छन्। डिसेम्बरको अन्त्यसम्म पुग्दा, प्रदर्शनहरूले हजारौँ मानिसहरूलाई ताने किनकि मध्यम वर्गसमेतका लाखौँ इरानीहरू गम्भीर आर्थिक सङ्कट र तीव्र रूपमा बढ्दो मूल्यको सामना गर्न बाध्य छन्।  त्यसपछि सडकमा उत्रिएका प्रदर्शनकारीहरूले नारा लगाएका छन्, 'तानाशाह मुर्दावाद!'उनीहरूले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई र उनको नेतृत्वको सत्ताको विस्थापनको माग गरिरहेका छन्।बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार