• आइतबार ११-३-२०८२/Sunday 02-15-2026
स्वास्थ्य

'स्न्याक्स'ले हाम्रो खाने तौरतरिका यसरी बदले

काठमाडौं । मानिसहरूले हजारौँ वर्षदेखि स्न्याक्सको स्वाद लिँदै आएका छन् तर आधुनिक समयमा यो क्षेत्र वार्षिक रूपमा एक ट्रिलियन डलरभन्दा बढी मूल्यको विशाल उद्योगमा परिणत भएको छ। आज हामीमध्ये धेरैले दिनको दुई वा तीन पटक गरिने नियमित भोजनभन्दा अधिक क्यालरी स्न्याक्सबाट प्राप्त गर्ने गरेका छौँ। तर उक्त विशाल उद्योग केवल हाम्रो चाहना र दौडधूपयुक्त जीवनशैलीका कारण मात्र बनेको होइन, खानेकुरा उत्पादन गर्ने कम्पनीहरूको बजारीकरणको चतुर शैलीले पनि हाम्रो खानपानलाई स्न्याक्सतर्फ धकेल्न ठूलो भूमिका खेलेको छ।

 

यदि स्न्याक खाने चलन ('स्न्याकिङ') मानव इतिहासको धेरै भागमा सामान्य कुरा थियो भने कहिलेदेखि हामीले यसलाई 'भोजनको बीचमा खाइने खानेकुरा' का रूपमा बुझ्न थाल्यौँ त? "'स्न्याक' शब्दलाई पछ्याउँदै जाँदा हामी आधुनिककालको सुरुवाततिर पुग्छौँ जब यसलाई अङ्ग्रेजीमा पहिलो पटक प्रयोग गरियो। यसले 'कुनै कुराको एक भाग' भन्ने अर्थ दिन्थ्यो," डा ग्रे भन्छिन्, "त्यसैले त्यहाँ शेअरिङ गर्ने विचार अन्तर्निहित छ तर त्यो केवल खानेकुराको कुनै भागको कुरा मात्र नभई रकम वा नाफाको भाग पनि हुन सक्छ।" त्यहाँबाट यो शब्द छिट्टै खानेकुरासँग जोडिन थाल्यो। "जस्तै कि खेतबारीमा काम गरिरहेको कुनै कामदारले भन्न सक्छ, मलाई भोक लागेको छ र म एक स्न्याक केक खाँदै छु," उनले भनिन्।

 

"यसरी यो शब्दले १८ औँ शताब्दीको मध्यतिरबाट खानाको मात्रै अर्थ बोक्न थाल्यो र पारम्पारिक भोजनको चलनबाट अलग हुन पुग्यो।" यो त्यही समय हो जति बेलाबाट चल्तीको स्न्याक 'स्यान्डविच'को चलन सुरु भयो। कथनका अनुसार, जन मोन्टागु नामका एक जना कुलीन एक साँझ तास खेलिरहेका थिए। उनलाई भोक लागेको थियो तर खेल त्याग्न चाहँदैनथे। त्यसपछि उनले आफ्ना सेवकलाई दुई टुक्रा पाउरोटीका बीचमा मासु राखेर ल्याउन अह्राए ता कि खेल जारी राख्दै खान सकियोस्। यही नै वास्तवमा स्न्याकको परिभाषा हो।

 

औद्योगिककालको प्रारम्भमा अमेरिकी उत्पादकहरूले कारखानाका कामदारहरूलाई लक्षित गरेको देखियो। सुरुमा कारखानाको प्रवेशद्वारवरपर स्न्याक बेच्नेहरू देखा पर्न थाले जसले ओइस्टर र वेल्कलगायत जीवका मासु र स्यान्डविचहरू बेच्ने गर्थे। अनि १९ औँ शताब्दीमा अमेरिकामा पप्कर्न लोकप्रिय बन्यो र पछि अरू पनि आउन थाले। "सन् १९१० मा पहिलोपटक चिप्सको व्यवसायीकरण भयो। यो अवधिमा थुप्रै निर्मित र औद्योगिक खाद्य पदार्थहरू देखा परे," डा ग्रे भन्छिन्।बीबीसी

 

दोस्रो विश्वयुद्धपछि खाद्य प्रशोधनमा उल्लेखनीय विस्तार भयो र प्याकेजिङ पनि थप सुध्रियो। त्यसले तीव्र रूपमा आय बढिरहेका वर्गसम्म ती स्न्याकहरू सहज रूपमा पुर्‍याउन मद्दत गर्‍यो। "त्यो समय धेरै मानिसहरू घरबाहिर काम गर्न थालेका थिए र फरकफरक समयमा काम गर्नेहरूलाई भोजनको व्यवस्था गर्न समय निकाल्न गाह्रो पर्थ्यो," उनले थपिन्।"सँगसँगै उद्योगहरू विस्तार भए, मध्यम वर्गको विस्तार भयो र खर्च गर्न योग्य आयमा पनि वृद्धि भयो, त्यसले गर्दा मानिसहरूले स्न्याक्समा ज्यादा खर्च गर्न थाले।"

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार