• आइतबार ११-३-२०८२/Sunday 02-15-2026
डबली

शाहीको ‘एक मान्ठ एक देउता’ लाई प्रथम पुरस्कार

काठमाडौं । शिवराज शाहीको कथा ‘एक मान्ठ एक देउता’ ले बाह्रखरी कथा प्रतियोगितामा प्रथम पुरस्कार पाएको छ । बाह्रखरी मिडियाले १२खरी कथा प्रतियोगिताको सातौं संस्करण ‘डिशहोम १२खरी कथा प्रतियोगिता २०८२’ को नतिजा सार्वजनिक गरेको हो । प्रथम स्थान हासिल गर्नुभएका शाहीले नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको छ । उत्कृष्ट कथा घोषणा समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले लेखक शाहीलाई नगद, ट्रफीलगायत पुरस्कारबाट सम्मान गरेकी हुन । 


प्रतियोगितामा ऋतेश गुरुङद्वारा लिखित ‘भुइँकुहिरोको बीचमा’ शीर्षकको कथा द्वितीय भएको छ । कथाका लेखक गुरुङलाई नगद एक लाख, ट्रफीलगायत पुरस्कारबाट सम्मान गरियो । यस्तै इन्द्रप्रसाद गोतामे (जगतजंग) द्वारा लिखित ‘अधुरो प्रतिलिपि’ शीर्षकको कथा तृतीय भएको छ । लेखक गोतामेलाई ६० हजार नगदसहित ट्रफीलगायत पुरस्कारबाट सम्मान गरिएको छ । प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नुभएका तीन कथाका कथाकारलाई प्रधानमन्त्री सुशिला कार्की, विशिष्ट अतिथि सम्राट उपाध्याय, बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष तथा प्रधानसम्पादक प्रतीक प्रधान, बिशेष सम्पादक हरिबहादुर थापा, प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य, डिश मिडिया लिमिटेडका अध्यक्ष हेमराज ढकाल र लगायतले सम्मान गरेका हुन ।


कार्यक्रममा प्रधानमन्त्री कार्कीले सरकारले काम गरिरहे पनि धेरैले आलोचना मात्रै गर्ने गरेको गुनासो गरिन् । उनले भनिन्, “हामी अचानोजस्तो पो भएछौँ । सबैले आजै छोड भन्छन् । जेनजीले पनि आजै छोड, भोलि नै छोड भन्छन् । हामी पेन्डुलमजस्तो भयौँ ।” छोड भन्दैमा छोडेर हिँड्न पनि भोलि तिमीहरूको औकात छोडेर हिँड्ने रहेछ भनिहाल्छन् । प्रधानमन्त्री कार्कीले अगाडि थपिन्, “यहाँ कथाकारहरू हुनुहुन्छ । हाम्रो कथा पनि लेख्नुस् । मेरो, गृहमन्त्री र अर्थमन्त्रीको पनि कथा लेख्नुहोस् ।” त्यस्तै निर्णायक समूहका संयोजक अशेष मल्लले विजेता घोषणा तथा पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिले साहित्यकारहरूले सम्मानित भएको महसुस गरेको बताए । उनले भने “प्रधानमन्त्रीको यो उपस्थितिले साहित्यसको महत्व उजागर गरेको छ । साहित्यकारहरूले सम्मानित भएको महसुस गरेका छन्, ।” 


त्यस्तै साहित्यकार सम्राट उपाध्यायले साहित्यको मोह र लत बेग्लै प्रकारको हुने बताए । साहित्यप्रतिको मोहकै कारण आफूले अमेरिका पुगेर पनि साहित्यमै केन्द्रित भएको उनको भनाई थियो । साहित्यकारको माया र सम्मानका लागि प्रधानमन्त्री सुशीला कार्की बाह्रखरी कथा प्रतियोगिताको कार्यक्रममा सहभागी भएको भन्दै बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले साहित्यप्रतिको ठूलो सम्मान भएको बताए । 


कार्यक्रममा १२ खरी उत्कृष्ट २५ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा–२०८२’ पुस्तकको लोकार्पण पनि गरिएको थियो । बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८२ मा उत्कृष्ट २५ कथाका कथाकारहरूमा अनिता कोइराला, अनिता पन्थी, अमित घिमिरे, अविनाश भट्टराई, इन्द्रप्रसाद गोतामे (जगतजंग), उमा शर्मा, उमेश श्रेष्ठ, ऋतेश गुरुङ, कृष्णराज सर्वहारी, चेतनाथ आचार्य, जमुना भट्टराई, टीकाराम पोखरेल, दामोदर ढुङ्गेल, प्रकाशकुमार शर्मा, प्रज्ञा निरौला, भोगेन्द्र लिङ्देन, मन्दिरा मधुश्री, लक्ष्मण सिटौला, वसन्तबायुङ राई (नाम्दोचा), विष्णु एस राई, शिवराज शाही, शेखर दहित, सीता पाण्डे, हरिबोल काफ्ले र डा. हिमलाल श्रेष्ठ रहेका छन् । उत्कृष्ट २५ कथाका कथाकारहरू मध्य २२ कथाकारलाई सात हजार  नगद सहित सम्मानित गरिएको थियो । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार