• आइतबार ११-३-२०८२/Sunday 02-15-2026
स्वास्थ्य

कृषीमा विषादी बढ्दो, मानव स्वास्थ्य र वातावरणमा जोखिम 

-देवी सापकोटा

धनुषामा विगत १५ बर्ष देखि माछा पालन गर्दै आएका ४६ बर्षका पुरुषलाई ठूलो आन्द्रामा क्यान्सर देखियो । दाजुको उपचार चलिनैरहेको थियो । ४३ बर्षका उनकै भाइलाई पनि ८ महिनाको अन्तरालमा उस्तै प्रकृतिको क्यान्सर पहिचान भयो । एकै घरपरिवारको सदस्यलाई एउटै समस्या देखिएपछि पाटन अस्पतालमा कार्यरत क्यान्सर रोग विशषज्ञ अरुण शाहीको टिमले माछामा फरर्मालिनको प्रयोग भएका कारण क्यान्सर भएको हुन सक्ने निष्कर्ष निकाल्यो। डा. शाहीको टिमले दुई दाजुभाईसंग गरेको कुराकानीमा उनीहरुले फरर्मालिनको प्रयोग गरेको स्वीकार पनि गरे। 

 

फरर्मालिन माछालाई ताजा र आर्कषक बनाउन प्रयोग गरिन्छ। काठमाडौं उपत्यकामा खपत हुने माछा तराईका जिल्लाहरुबाट आउँछन भने छिमेकी देश भारतलगायत तेस्रो मुलूकहरुबाट पनि उपत्यकामा माछा भित्रिने गरेका छन् । भारतबाट नेपाल भित्रिएका माछामा फरर्मालिनको मात्रा यसअघि  पनि भेटिएको थियो । काठमाडौं विश्वविद्यालय प्राकृतिक विज्ञान विभाग, धुलिखेलका सहायक प्राध्यापक बबीकुमार काफ्लेको टीमले गरेको अनुसन्धानमा उपत्यका भित्रिने माछाहरुमा फर्मालिन भेटिएको थियो । सो टिमले गरेको अन्तराष्ट्रिय फूड जर्नलमा प्रकाशित लेख अनुसार भारतबाट आउने माछामा फर्मालिनको मात्रा भेटिएको हो । यस्ता विषादी गैरकानुनी ढंगबाट नेपालमा भित्रिने गरेका छन । विश्व स्वास्थ्य संगठनले मानवमा क्यान्सर निम्त्याउने पहिलो कारक तत्वको रुपमा फर्मालिनलाई लिएको छ ।

 

धनुषाका केवल मुखियाले झण्डै २ दशक देखि माछा पालन गर्दै आइरहेका छन । एकसय विघा जमिनमा फैलिएको माछापालन अहिले ४० विघामा मात्रै छ । माछाको दानाहरु महंगो भएपछि माछाको संख्यामा पनि कमी आएको उनको भनाइ छ। मुखियाले उत्पादन गरेका माछा स्थानिय बजार हुदैं लाहान र काठमाडौंसंम्म आइपुग्छन। माछामा डेल्टामेसीन,क्रसोलिन र हर्बल विषादीहरु मात्र प्रयोग गर्न गरेको मुखियाले बताए। त्यस्तै जनकपुरमा माछा पालन व्यवसाय गर्दै आइरहेका जितेन्द्र यादव, धनेश्वर शाहले पनि माछामा फिटकीरि, चुना प्रयोग गर्न गरेको र हर्बल विषादी प्रथमीकतामा पर्ने गरेको बताए । 

 

गोरखाको गण्डकी गाउँपालिकामा विषादी प्रयोगका कारण तरकारी किसानको स्वास्थ्यमा प्रतिकुल असर गरेको पाइएपछि तत्कालिन कृषी तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले गत बर्ष बरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोखरेलको संयोजकत्वमा पाँच सदस्य कार्यदल समेत गठ्न गरेका थिए । एउटै गाउँपालीकामा ६१ जना तरकारी किसानमा क्यान्सर र १५ जनामा मिगौलामा समस्या देखिएको थियो । तरकारीको पकेट क्षेत्र मानिएका ठाउँमा समस्या देखिएपछि कृषकहरुमा त्रास बढ्यो। तत्कालिन समयमा क्यान्सर देखिएका अधिकांशले चितवन र केहिले काठमाडौं उपत्यकामा क्यानसरको उपचार गराइरहेका छन । उक्त कार्यदलले सो घटना पछि मन्त्रालयलाई प्रतिवेदन पनि बुझाइसकेको छ ।  तर कार्यदलका संयोजक समेत रहेका पोखरेलले तरकारी बालीमा प्रयोग भएको विषादी कै कारण स्थानियलाई क्यान्सर भएको भन्न नमिल्ने जिकीर गरे । 

 

 

षि तथा पशुपन्छी कृषि तथा

तस्बिर: कृषि तथा पशुपन्छी विकास मन्त्रालय

 

गोरखा घ्यालचोकका एक अगुवा किसानका अनुसार विषादी कुनै एक क्षेत्रमा मात्रै नभएर देश व्यापी रुपमा यसको प्रयोग बढेको बताउदै उनले भने ‘सरकारले कडा निग्रानी गरोस मनलाग्दी बजारबाट ल्याउने र प्रयोग गर्ने गर्दा यसको दुरुपयोग बढेको छ ’। कृषक स्वयमले पनि जैविक विषादीलाई प्राथमिकतामा राख्न उनले सुझाव दिए ।प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका बरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोखरेलले किसानले विभिन्न खालका विषादी विरुवा, तरकारी र लामखुट्टे तथा किरा भगाउन प्रयोग गर्ने गरेको बताए । 

 

हरेक किसीमका विषादी बातावरण र मानवका लागि जोखिम युक्त मानिन्छन । फूमिगेन्टस (धुवाउने विषादी धुवाबनाएर किरा भगाउने) धुवा बालेर किराहरु मर्न विषादीको प्रयोग गर्नु मानव स्वास्थ्यका दृष्टीले समेत हानिकारक मानिन्छ । यसले हावाको सम्पर्कमा आएपछि विषाक्त ग्यास बाहिर निस्कन्छ र उक्त ग्यासले किरा मार्छ। यस्ता किसीमका विषादी अधिकांश कृषी उपज भण्डारण गर्दा लाग्ने किरा मार्न बढी मात्रामा प्रयोग हुने गरेका छन । धुवाउने खालका विषादी हावामा खुला रहदाँ फोस्पाइन ग्यास बनाउछ । जुन मानव स्वास्थ्यका लागि निकै जोखिम पूर्ण मानिन्छ यस्ता विषादीहरुको प्रयोग गरेपछि हावा चल्ने स्थानमा अन्नहरु राखेको भए पनि एक हप्ता देखी १५ दिन पछि मात्रै प्रयोग गर्न योग्य मानिने विज्ञहरुले सुझाव दिने गरेका छन। बातावरणीय दृष्टिले विषादीलाई दुई किसीमबाट बर्गिकरण गरीएको छ। वातावरणामा क्षय हुदैं जाने र बायुमण्डलमा भएको हावा, पानी, प्रकाशको सम्पर्कमा आएपछि विस्तारै क्षय हुदै जाने  । वातावरणमा केहि दिन मात्र रहने र पछि आफै क्षय भएर जाने पनि हुन्छ । अर्को हुन्छ बातावरणलाई नै थप प्रदुषित गराउने । बातावरणविद भुपेन्द्र दासले कृषीजन्य पराल र विषादीयुक्त  धुवाले वायुको गुणस्तर र जनस्वास्थमा गम्भीर असर पुग्ने बताए। बातावरण विद दासले नगरपालिका, गाउपालीकाहरुले बायुपण्डलमा असर गर्न धुवा बारे सार्वजनिक रुपमा सुचना आवहान गरेर बातावरणमा हुने क्षतिकाबारेमा सचेत गराउन सुझाव दिए । 

 

रासायनिक विषाधीको सुरक्षित प्रयोगको अभाव, प्रयोगकर्ताहरुमा विषादीका बारेमा प्रयात जानकारी नहुदाँ यसको दुरुपयोग हरेक दिनजसो बढदो क्रममा देखिएको छ। विश्वमा विषादीको खपत करिव २० लाख मेट्रीक टन छ जस्मा ४५ प्रतिशत  युरोप, २५ प्रतिशत अमेरीका, २५ प्रतिशत छिमेकी देश भारतले प्रयोग गरेको छ भने ३.७५ प्रतिशत बाकी अन्य देशले विषादी प्रयोग गर्न गरेको तथ्याङक छ । विश्वका करिव साढे २ करोड मानिसमा विषादीको प्रत्यक्ष असर पर्ने गरेको छ भने जसमा २० लाख बढीले मृत्यु बरण गर्न तथ्यांक छ । 

 

विषादी व्यवस्थापन केन्द्रका अनुसार नेपालमा बार्षिक ६ सय टनसम्म विषादी प्रयोगमा आउने गरेको छ । यसको झण्डै ६५ प्रतिशत तरकारीमा २५ प्रतिशत फलफूलमा र बाकी अन्यबालीहरुमा  प्रयोग हुने गरेको केन्द्रको तथ्याकंमा उल्लेख छ । आलु र प्याजमा प्रयोग हुने विषादी म्यान्कोजेवको अत्याधिक प्रयोगले क्यान्सर निम्त्याउने जोखिम उच्च हुन्छ । विषादीले छाला, आँखा, मुख र स्वास प्रस्वाशको माध्यमबाट सहजै मानव शरीरमा प्रवेश गर्छ । विषादीका कारण पेट,मुटु,नशा, ठूलो आन्द्राको क्यान्सर स्मरणशक्तिमा हस, महिला पुरुषमा बाँझोपन, गर्भपतन जस्ता असर देखिएका छन । फलफूल र तरकारीमा प्रयोग हुने विषादी  मानव स्वास्थका लागि अत्यन्तै घातक भएको बताउछन । क्यानसर रोग विज्ञ डा.शाही । क्लोरोडेन,डिडिटि, डाइअल्इिन, ईल्ट्रिन, हेप्टाक्लोर, मिरेक्स, इन्डोसल्फाइन, टोक्साफेन, बि.यच.सी, लिन्डेन, फस्मामिडन, मिथायल पाराथायन,अग्र्रनोमर्करी क्लोराईड,मोनोक्रोटोफस, इन्डोसल्फानलगायतका विषाधी नेपालमा प्रतिबन्धित छन ।
 
 

विषादी कम गर्ने उपाय र जैवीक विषादीबारे छलफल
विषादी प्रयोगबारे संवेदनशिल देखीएका अधिकांस कृषकहरु पछिल्लो समय  सचेत देखिएका छन । बागमती गाउँपालीका वडा न १ भुर्सलका गोविन्द गौतमले तरकारी उत्पादन सुरु गरेको २ दशक नाघेको छ । तरकारीमा काउली बन्दा, टमाटर उत्पादन गरिरहनु भएका गौतमले पछिल्लो १ दशक देखी तरकारी भन्दा फलफूलमा जोड दिनु भएको छ । ५ वटा टनेलमा मात्र टमाटर फलाउनु भएको छ भने बाकी जमिनमा २ सय बढी बोट कीवि र ११५ बोट एभोकाडो लगाएका छन । तरकारीमा विषादी प्रयोग गरेर भए पनि हेर्दा राम्रो देखिने बनाउनुपर्ने दवाब भएको बताउदैं  गौतमले भने ‘हामी कृषक पनि उपभोक्तामा निर्भर भएका छौं, उपभोक्तालाई हेर्दै सलक्क परेको आर्कषक तरकारी चाहिएको छ । बिषादी प्रति कसैको चासो भएन । हामी कृषक पनि बाध्य भएर उपभोक्ताको रोजाई फलाउन लाग्यौं ।’ विषादीले मानव स्वास्थ्यमा असर गर्छ भन्ने लागेर नै तरकारीबाट फलफूल खेति तर्फ गौतमको झुकाव बढेको हो । बार्षिक ६० केजी कम्पोष्ट मल भए कीविलाई प्रयाप्त हुने भए पछि तरकारी भन्दा फलफूल खेतिमा कम खतरा हुने देखेर नै यस तर्फ आकृषीत भएको उनको अनुभव छ । जाने र वा नजानेरै आफ्ना उत्पादनले बढी प्रतिफल दिने र उत्पादन ताजा र आर्कष देखाउन विषादीको प्रयोग अनिर्वाय जस्तै बनेको छ । 

 

तिलक कंडेल पछिल्ला ३० वर्ष देखी कृषी पेशामा छन । मूख्य गरि हरिया तरकारी र खाद्ययान्न उत्पादनमा  कंडेलको रुची छ । दर्जनौं कृषी तालिमहरुमा सहभागी भइसकेका कंडेलले आधा दर्जन बढी कृषी विषादी संग सम्बन्धीत तालिम लिएका छन । गण्डकी प्रदेशमा केहि बर्ष अघि कृषी विज्ञ दुर्गा दवाडीले दिएको जैविक विषादी प्रयोग सम्बन्धी तालिमले भने कंडेलको कृषी कर्मको बाटो थप सहज र वातावरण मैत्री बन्न पुगेको छ । कडेलले फलाउने सबै किसीमका तरकारीहरुमा जैवीक विषादी नै पहिलो प्रथमीकतामा पर्न गर्दछ ।‘गाई बस्तुको मलमुत्र, बकाइनाका पात लगायतबाट घरेलु विषादी बनाउने तरिका हामीलाई सिकाइएको हुन्छ तर सबैले यस तर्फ ध्यान दिएको पाइदैंन । छिटो छरितो खोज्ने मानव प्रवृतिले गर्दा विषादीको अत्याधिक प्रयोग जहाँतही देखिन्छ कृषी प्राविधीकहरुले खबरदारी गर्दागदैं पनि वेवास्ता गरेको जस्तो देखिन्छ ’उनले भने ।

 

तस्बिर: कृषि तथा पशुपन्छी विकास मन्त्रालय

षि

वातावरण र जैविक विविधतामा प्रभाव
नेपाल कृषि अनुसन्धान परिषद नार्कका वरिष्ठ वैज्ञानिक सुरज वैद्य अनुचित वा अत्यधिक कीटनाशक विषादीको प्रयोगले लाभदायक सूक्ष्मजीवहरू मर्ने र माटोको स्वास्थ्य पनि नष्ट हुने बताउछन । ’रासायनिक अवशेषहरूको संचयले गर्दा माटोको उर्वरतामा असर पर्छ र प्राकृतिक पोषक तत्व चक्रमा समेत बाधा पुग्छ । विषाधीको बढ्दो प्रयोगको प्रत्यक्ष असर पानीमा पनि परेको छ । जलचर जीवनलाई पनि खतरामा पार्छ र पिउने पानी असुरक्षित बनाउँछ ।’

 

पछिल्ला केहि बर्षहरुमा हाम्रो बातारणबाट धेरै त्यस्ता लाभदायक कीराहरु हराउने क्रममा छन । त्यस्ता किराको संख्यामा बिस्तारै कमि आउनु भनेको भोलि ती लाभदायक किरा हराउने खतरा बढ्नु हो । मौरी, पुतली र लाभदायक कीराहरू जस्ता परागकणहरूलाई क्षति पुगेको छ । तिनीहरु कतिपय स्थानमा देखिन छाडेका छन । जसले गर्दा प्राकृतिक कीट नियन्त्रणमा कमी आउँछ । यसको अतिरिक्त, यसले वनस्पति प्रजातिहरूको विविधतामा प्रभाव पारेको वरिष्ठ वैज्ञानिक वैद्यको भनाइ छ। चराहरू,माछाहरू र साना जनावरहरूलाई प्रत्यक्ष रूपमा वा खाद्य श्रृंखला मार्फत विषाक्त हुने क्रम तिब्ररुपमा देखिएको छ । नजिकैका फार्महरूबाट हुने प्रदूषणले जैविक कृषि प्रणाली विस्तार गर्न कठिन समेत हुने गरेको वरिष्ठ वैज्ञानिक वैद्यको भनाइ छ ।

 

अत्याधिक विषादीको प्रयोगले माटोको उर्बर क्षमता घटाउछ । नेपालका विभिन्न क्षेत्रहरुको माटोमा प्राङ्गारिक पदार्थको मात्रा अति कम देखि बढीसम्म रहेको सरकारी तथ्याकंमा देखिन्छ । उच्च पहाडि क्षेत्रहरुको माटोमा प्राङ्गारिक तत्वको मात्रा तुलनात्मक रुपमा बढी रहेको पाइएको छ  भने तराई क्षेत्रको माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम रहेको देखिन्छ । जसमध्य मधेश प्रदेशका जिल्लाहरु धनषुा, सिरहा र सप्तरीका केही क्षेत्रहरुको माटोमा प्राङ्गारिक पदार्थको मात्रा अति कम रहेको सरकारी प्रतिवेदनमा उल्लेख छ ।
 
 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार