• आइतबार ८-२९-२०८२/Sunday 12-14-2025
डबली

पुस्तक समिक्षा : महायुग

स्त्रीले शरीरको सीमातीत शक्ति र आत्मालाई चिनेपछि आफूलाई मात्र होइन, सारा मानवता र सृष्टिलाई नै नयाँ उज्यालोतर्फ डोऱ्याउने सामर्थ्य राख्छन् । आत्मजागृति एक व्यक्तिको मात्र नभई पिंढीदेखि पिंढीसम्मको चेतना हो । त्यही चैतन्यका चार पुस्ताको कथामाला हो महायुग । सामाजिक सम्मोहनको घेरामा बाँधिएर पनि स्त्रीहरूभित्र अवचेतन रूपमा गहिरो मौनता बाँचिरहेको हुन्छ । त्यही मौनतालाई नै उनीहरू आफ्नो अस्तित्व, आत्मशक्ति र बोधसहित आवाजमा बदल्न सक्षम हुन्छन् ।

 

स्त्रीले शरीरको सीमातीत शक्ति र आत्मालाई चिनेपछि आफूलाई मात्र होइन, सारा मानवता र सृष्टिलाई नै नयाँ उज्यालोतर्फ डोऱ्याउने सामर्थ्य राख्छन् । आत्मजागृति एक व्यक्तिको मात्र नभई पिंढीदेखि पिंढीसम्मको चेतना हो । त्यही चैतन्यका चार पुस्ताको कथामाला हो- महायुग । सामाजिक सम्मोहनको घेरामा बाँधिएर पनि स्त्रीहरूभित्र अवचेतन रूपमा गहिरो मौनता बाँचिरहेको हुन्छ । त्यही मौनतालाई नै उनीहरू आफ्नो अस्तित्व, आत्मशक्ति र बोधसहित आवाजमा बदल्न सक्षम हुन्छन् ।
 

नारी शक्तिलाई चिनाउने एक शसक्त दस्तावेज हो महायुग ।  यो संग्रहणिय कृति संगै महिला भित्रको चेतनाको बिगुल फुक्न पनि लेखक खरो रुपमा उभिए झै लाग्छ । महायुग मार्फत् पूर्ण रूपमा स्त्रीयुगको यात्रा गर्दै पुनर्जन्म झैँ अनुभूति लिएर म अवतरित भएकी छु। शरीरभित्र नै कुनै नयाँ शक्ति समाहित भएको अनुभव गर्दैछु। महायुग गहिरिएर पढ्ने जो–कोहीले पनि यस्तो अनुभूति पक्कै गर्न सक्नुहुनेछ।उपन्यासमा बिष्णुमाया, छायादेवी, निलाञ्जना/यक्षिणी, ऋत्विजा हुँदै चार पुस्तासम्मका स्त्रीपात्रहरू समेटिएका छन्। स्त्री चेतनाका धेरै उपकथाहरू र सहपात्रहरू जोडिएका छन्।

 

पहिलो खण्डबाट उद्धृत


“रत्नपार्कमा आन्द्राभुडी भुट्दाभुट्दै जिन्दगीसँगै भुटिएकी मेरी आमा र अनेक सिंगारपटार गरिएका देवतामध्ये कसको अनुहार बढी सुन्दर देखिन्छ?” “मान्छेको चोला आगोसम्म त रहेछ, हरेक घाटमा हामीलाई आगोले पर्खेर बसिरहन्छ।” पहिलो खण्ड केही सहज र समसामयिक लागेपनि त्यसभित्र समाजमा व्याप्त गरिबी, अशिक्षा र चेतनाको कमीका कारण सडकबालिका बन्नुपरेको र त्यसपछिको कठोर जीवन र अपहेलनाको पात्रको रुपमा भोग्नुपरेका हृदयविदारक कथाहरू समेटिएको छ।


दोस्रो खण्डबाट उद्धृत 


“चौरको अर्को कुनातिर अनगिन्ती दलदले खाल्टा थिए। प्रत्येक खाल्टाका दलदलका रंग फरक–फरक थिए। प्रत्येक खाल्टामा स्त्रीहरू थिए। दलदलबाट ती स्त्रीहरू निस्किन खोजिरहेका देखिन्थे तर खुट्टा उचाल्दा त्यहीँ लड्थे।” महारानीले निलञ्जना यक्षिणीलाई भनिन्-“यिनीहरू पढे–लेखेका छन्। शारीरिक रूपमा तन्दुरुस्त छन्। सक्षम हुँदाहुँदै जानी–नजानी यो दलदलमा परे। यहाँबाट निस्किन चाहन्छन्। यो दलदल यति लेस्याइँलो छ कि निस्किन सकेका छैनन्। त्यसैले यिनीहरूलाई निकाल्न सकिँदैन, यसै दलदललाई हटाउनुपर्छ।” “स्त्रीहरूलाई लोभ्याउन बनाइएको सम्मोहित दलदल हो यो। स्त्री मस्तिष्कले के चाहन्छ भनेर थाहा पाउनेहरूले स्त्रीलाई शिकार गर्न यसको निर्माण गरेका हुन्। हामी मिलेर यसलाई पातालमा पु-याउनुपर्छ, यक्षिणी।”


दोस्रो खण्ड पूर्णतः काल्पनिक छ—तर त्यसैभित्र वास्तविकतामा पूरा हुन नसकेका सत्यहरू अडिएका छन्। निलाञ्जनाको सपनामा अवचेतन मनले गरेको चिहान–यात्रा सपना भए पनि यथार्थपरक लाग्छ। स्त्रीहरूको छालाद्वारा ग्रन्थहरूको आवरण बनाइएको, डमरूको आवाजभित्र स्त्री–चित्कार मिसिएको जस्ता काल्पनिक तर गहिरा चित्रणहरू प्रशस्तै छन्। निलाञ्जना यक्षिणी बनेपछि अनेक साधनाबाट प्राप्त शक्तिका कारण बलात्कार, बलि, भ्रूणहत्या आदिबाट अकालमा मारिएका स्त्रीहरू पुनर्जिवित हुन्छन्। सबैले आफैँको रुचि र सीपअनुसार जीवनयापन गर्न पाउने सुन्दर, शान्त र हराभरा महायुगको प्रारम्भ हुन्छ।

 

उपन्यासको सारभाव


महायुग नारीभित्र निहित अन्तरचेतना र शक्ति–बोधको प्रष्फुटनका निम्ति लेखिएको कृति हो। पुस्तान्तर हुँदै अन्ततः स्त्रीहरूको शक्ति, विवेक र चेतनाको जागरण, जीवनका विभिन्न परिवन्द तथा ‘दलदल’मा फसाइ शक्तिहीन बनाउने स्त्री–कुचालहरूको अन्त्यपछि सुरु हुने स्त्रीयुग-महायुगको कथा हो। स्त्रीलाई आफैँ कमजोर हुँ भन्ने भान गराउने, शरीर र सौन्दर्यमा मात्र रुमल्लिन प्रेरित गर्ने यस्ता कुचालहरू वास्तविक दुनियाँमा पनि प्रशस्त छन्। सरल भाषामा भन्नुपर्दा उपन्यासले प्रत्येक स्त्रीलाई यस्तो सन्देश दिएको छ । “तिमीमा अन्तरनिहित शक्ति, क्षमता चिन,जागरूक बन, र आफ्नो पहिचान आफैँ निर्धारित गर।”


३५१ पृष्ठमा रहेको पुस्तकका हरेक हरफहरु शिक्षाप्रद छन्। हरेक पृष्ठहरुले स्त्री चेतनाको बिगुल फुकिरहेका छन्। Book Hill बाट प्रकाशित यति शक्तिशाली कृतिको मूल्यांकन पक्कै हुनेछ। लेखक तथा उपन्यासकार आदरणीय सीमा आभासलाई मुरी–मुरी बधाई तथा शुभकामना।
 
 

 
 
 
 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार