• आइतबार ८-२९-२०८२/Sunday 12-14-2025
स्वास्थ्य

'सङ्गीतले शल्यक्रियाका बेला बिरामीलाई छिटो सञ्चो बनाउँछ'

भारतको राजधानी दिल्लीमा एक बिरामी एक अपरेशन थिएटरको चर्को प्रकाशमा पल्टिरहेकी छन् र डाक्टरहरू उनको पित्ताशय काटेर फ्याँक्ने तयारी गरिरहेका छन्।उनलाई 'जेनरल एनेस्थेसिया' दिइएको छ: औषधीको मिश्रणले उनलाई बेहोस बनाएको छ। उनी हलचल नगरी स्थिर अवस्थामा छन्, गहिरो निद्रा छ, कुनै कुरा सम्झन नसक्ने तथा दुखाइ थाहा नपाउने अवस्था छ र उनको मांसपेशीमा पनि अस्थायी असर परेको अवस्था छ।

 

तै पनि मनिटरहरूबाट आइरहेको निरन्तरको हूँ... आवाज र शल्यक्रिया गर्ने चिकित्सकहरूको कामको व्यस्तताबीच उनको कानमा हेडफोन लगाइएको छ र त्यसमा बाँसुरीको मधुरो धुन बजिरहेको छ।

 

औषधिले उनको मस्तिष्कको धेरैजसो भागलाई शान्त बनाइदिएको भए पनि सुन्ने भाग भने आंशिक रूपमा सक्रिय छ। जब उनी औषधीको असर सकिएर ब्युँझिनेछिन्, उनको होस अलि छिटो फर्किने छ किनभने उनलाई बेहोस बनाउने प्रोपोफोल तथा दुखाइ कम गराउने ओपिओइड जस्तो औषधीको तुलनात्मक रूपमा कम मात्रा मात्र आवश्यक परेको थियो।

 

दिल्लीको मौलाना आजाद मेडिकल कलेज र लोक नायक अस्पतालको नयाँ 'पीअर रिभ्यूड' (समकक्षीहरूले समीक्षा गरेको) अध्ययनले त्यस्तै देखाएको छ। 'म्युजिक एन्ड मेडिसिन' जर्नलमा छापिएको एक अध्ययनमा सङ्गीतका कारण बिरामीलाई बेहोस बनाउने औषधीको मात्रा पनि कम चाहिने र शल्यक्रियापछि सञ्चो हुने प्रक्रिया पनि तीव्र बनाउने केही बलिया प्रमाणहरू पेस भएको छ।

 

यो अध्ययन खासगरी 'ल्यापरोस्कोपिक कोलेसीस्टेक्टोमी' भनिने छालामा प्वालहरू पारेर पित्तथैली निकाल्नुपर्ने अवस्थाका बिरामीको अध्ययनमा केन्द्रित छ । यो शल्यक्रियाको प्रक्रिया छोटो छ - धेरैजसो एक घण्टा भन्दा कममा सकिन्छ र छिटो सञ्चो होस् भन्ने अपेक्षा राखिन्छ। किन अनुसन्धानकर्ताहरू सङ्गीततर्फ मोडिए भन्ने जान्न आधुनिक 'एनेस्थेसिया' को अभ्यास जानेपछि सहयोग पुग्छ। "हाम्रो उद्देश्य शल्यक्रियापछि बिरामीलाई सकेसम्म छिटो अस्पतालबाट बिदा गरौँ भन्ने हो," अध्ययनमा एनेस्थेसियाबारे वरिष्ठ विज्ञ तथा म्युजिक थेरापिस्ट डा. फराह हुसेन भन्छिन्।

 

"बिरामीहरू छर्लङ्ग मस्तिष्क, सतर्क र दुखाइबिना ब्युँझिनु पर्छ। दुखाइ व्यवस्थापन राम्रो हुने हो भने तनावको प्रतिक्रिया कम हुन पुग्छ।" त्यस्तो अवस्था प्राप्त गर्न पाँच वा छ वटा औषधिको मिश्रण आवश्यक पर्छ जसले बिरामीलाई निदाउनमा सहयोग गर्छ, दुखाइलाई रोक्छ र मांसपेशीलाई आराम दिन्छ। 'ल्यापरोस्कोपिक' तरिकाले पित्ताशय निकाल्ने प्रक्रियामा 'एनेस्थसियोलोजिस्ट' ले अहिले धेरैजसो यो औषधिको मिश्रणको साथमा क्षेत्रीय "ब्लक" पनि दिन्छन् - त्यो भनेको अल्ट्रासाउन्ड निर्देशित सुई हो जसले पेटको भित्तामा नशाहरूलाई शून्य बनाइदिन्छ।

 

मौलाना आजाद मेडिकल कलेजकी पूर्व सिनिअर रेजिडेन्ट तथा प्रमुख अनुसन्धानकर्ता डा. तान्वी गोयल भन्छिन्, "जेनरल एनेस्थिया र 'ब्लक्स' तरिका यही हो, हामीले यो दशकौँदेखि गर्दै आइरहेका छौँ।" तर शरीरले शल्यक्रियालाई सजिलोसँग लिँदैन। 'एनेस्थेसिया' लिएर बिरामी बेहोस भए पनि शरीरले प्रतिक्रिया जनाउँछ- मुटुको चाल बढ्छ, होर्मोनहरूको मात्रा बढ्छ र रक्तचाप पनि बढ्छ। यसरी बढ्ने कुराहरू घटाउने र व्यवस्थापन गर्ने आधुनिक शल्य चिकित्साको प्रमुख उद्देश्यमध्ये एक हो।

 

डा. हुसेन बताउँछिन्- तनावपूर्ण प्रतिक्रियाले सञ्चो हुने प्रक्रिया ढिलो बनाउन सक्छ, सुजन बढाउन सक्छ र त्यसैकारण यसको सावधानीयुक्त व्यवस्थापन असाध्यै महत्त्वपूर्ण छ। तनाव त शरीरमा छुरा लाग्नु पहिले नै सुरु हुन्छ- सुरुमा श्वास नलीमा श्वास ट्यूब घुसाउने बेला देखि नै। यो गर्नका लागि एनेस्थेसियोलोजिस्टले ल्यारिन्जोस्कोपको प्रयोग गर्छन् अनि घाँटीको तलपट्टि जिब्रो र नरम तन्तुबीच हुँदै स्वरनलीमार्फत् ट्र्याकियामा ट्यूब घुसार्छन्। यो जेनरल एनेस्थेसिया दिँदा गरिने नियमित काम हो जसले गर्दा हावा जाने पाइप खुला रहन्छ र बिरामीहरू बेहोस रहँदा उनीहरूको श्वासप्रश्वासमा समस्या आउँदैन।

 

"ल्यारिन्जोस्कोपी र इन्ट्यूबेशन चाहिँ जेनरल एनेस्थेसिया दिँदाका बखतका सबभन्दा तनावपूर्ण कार्य मानिन्छन् भन्छिन् मौलाना आजाद मेडिकल कलेजमा एनेस्थेसिया एन्ड इन्टेन्सिभ केयरका निर्देशक प्रोफेसर डा. सोनिया वाधवान। उनी यो अध्ययनको सुपरभाइजर पनि हुन्। "बिरामी बेहोस रहन्छ र केही पनि सम्झन्न तर पनि उसको शरीरले मुटुको चाल, रक्तचाप र तनाव होर्मोनमा आउने परिवर्तनले उत्पन्न गर्ने तनावप्रति प्रतिक्रिया जनाउँछ।" सौतिक बिस्वास/बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार