• आइतबार ८-२९-२०८२/Sunday 12-14-2025
खेलकुद

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा साविकको उपविजेता सुदूरपश्चिम रोयल्सले दोस्रो जित हात पारेको छ । पोखरा एभेन्जर्सलाई १८ रनले हराउँदै सुदूरपश्चिमले दोस्रो जित हासिल गरेको हो ।  जितसँगै सुदूरपश्चिम चार अङ्कसहित तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

 

सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा आठ विकेट गुमाउँदै १७५ रनमा समेटियो । पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले पनि जित दिलाउन सकेनन् । कुशलले ३२ बलमा ५३ रन बनाएर आउट भए । जिम्मी निशमले ४७, ड्यान डाउथवैट ३७ रनको योगदान दिए ।

 

बलिङमा सुदूरपश्चिमका हर्मित सिंहले दुई, स्कट कुइगेलेइन, कप्तान दीपेन्द्रसिंह ऐरी, अभिनास बोहरा, हेमन्त धामी र नरेन साउदले समान एक–एक विकेट लिए । यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै रनको १९३ रन बनाएको थियो ।

 

सुदूरपश्चिमका लागि जोश ब्राउनले ३५ बलमा छ चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक ६८ रनको योगदान दिए । विनोद भण्डारीले ४३, क्रिस लिनले ३१ र कप्तान ऐरीले १५ रन बनाए । पहिलो विकेटका लागि ब्राउन र विनोदले  १०८ रनको शतकीय साझेदारी गरेका थिए ।

 

पोखराका लागि निशमले तीन र ड्यानियल डाउथवेट र आकाश चन्दले समान दुई–दुई विकेट लिए । नेपाल क्रिकेट सङ्घको आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार