• आइतबार ८-२९-२०८२/Sunday 12-14-2025
स्वास्थ्य

यी खानेकुरा खाँदा शरीरबाट निस्किन्छ 'आकर्षक गन्ध'

काठमाडौं । हामी प्रत्येकको एक विशिष्ट शारीरिक गन्ध हुन्छ, औँठाछाप जस्तै। हाम्रो व्यक्तित्वको स्वभाव - बहिर्मुखी, तनाव लिइहाल्ने आदि- देखि लिएर हाम्रो मनस्थिति तथा स्वास्थ्य अवस्थाले पनि हाम्रो शरीरबाट निस्कने गन्ध निर्धारण गर्छ।

 

"बितेका केही दशकहरूमा भएका अध्ययनबाट हाम्रो गन्ध हाम्रा जीन, होर्मोन, स्वास्थ्य अनि सरसफाइले निर्धारण गर्ने कुरा थाहा भयो," स्कटल्यान्डको स्टर्लिङ युनिभर्सिटीका सोसल साइकोलोजीका प्राध्यापक क्रेग रोबर्ट्सले भने। "चाहे हामी पुरुष वा महिला हौँ, युवा वा वृद्ध हौँ, गर्भावस्था होस् वा नहोस्, बिरामी होस् वा सद्दे, खुसी वा दु:खी।"

 

यीमध्ये कैयन् पक्ष हाम्रो नियन्त्रणभन्दा बाहिर हुन्छन् – तर सबै चाहिँ होइन। हाम्रो शरीरको गन्ध निर्धारणमा उल्लेखनीय भूमिका हामीले खाने कुराको पनि रहन्छ। यसले हाम्रो समग्र गन्धमात्र होइन बरू हामीलाई अरूले कसरी लिन्छन् वा अरूका सामु हामी कति आकर्षक हुन्छौँ भन्ने देखाउने कैयन् अध्ययनहरूले देखाएका छन्।

 

ब्रोकोली, बन्दाकोभी तथा काउली स्वस्थ खानेकुरामा पर्छन् – तर तिनमा टन्नै गन्धकयुक्त यौगिक हुन्छन् जसको गन्ध कुहिएको अण्डाजस्तो हुन्छ। जब यी यौगिकले छालाका ब्याक्टेरियासँग अन्तर्क्रिया गर्छन् तब तपाईँको पसिना गनाउने तरलमा परिणत हुने न्युट्रिसन थेरापिस्ट केरी बिसनले बताइन्।

 

लसुन तथा प्याजजस्ता तरकारीले पनि हाम्रो गन्धमा प्रभाव पार्छन्। तर अध्ययनहरूका अनुसार लसुनले मानिसहरूको सास दुर्गन्धित बनाएपनि तिनले काखीमा हुने पसिनाको गन्ध चाहिँ आकर्षक तुल्याइदिन्छ। वैज्ञानिकहरूले ४२ जना पुरुषलाई काखीमा १२ घण्टासम्म प्याड राख्न लगाए। तीमध्ये केहीले थोरै लसुन खाए, केहीले अलि धेरै लसुन खाए अनि केहीले लसुनको सप्लिमेन्ट खाए। त्यसपछि ती प्याडमा रहेको गन्धलाई कस्तो लाग्यो भनेर ८२ जना महिलालाई भन्न लगाइयो।

 

उनीहरूलाई गन्ध कत्तिको बासनादार छ वा छैन, आकर्षक छ वा छैन, पुरुषत्वको विशिष्टता छ वा छैन, अनि गन्धको सघनता कतिको छ भन्ने जस्ता मापदण्डका आधारमा परीक्षण गर्न लगाइयो। थोरै लसुन खाएकाहरूको गन्धले धेरै प्रतिक्रिया निम्त्याएन तर धेरै खाएकाहरूको गन्ध चाहिँ यौनाकर्षक मानियो। साथै सप्लिमेन्ट लिनेहरूको गन्ध पनि आकर्षक मानियो।

 

गाजर, फर्सी, गोलभेडा र मेवामा पाइने यौगिक क्यारोटिनोइड धेरै हुन्छ र त्यस्ता खानेकुरा धेरै खानेहरूको मुहारको छाला अलिकति पहेँलो हुन्छ जसलाई बढ्ता आकर्षक मानियो। त्यही अध्ययनले थोरै बोसो, मासु, अण्डा, र तोफु खाएकाहरूको पनि गन्ध राम्रो मानिएको देखायो। तर कार्बहाइड्रेट धेरै भएका खानेकुराले चाहिँ सबभन्दा कम आकर्षक गन्ध दिएको पाइयो।

 

मासुमाछाले पनि शरीरमा विशिष्ट गन्ध उत्पन्न गराइदिन सक्छन्। तिनलाई पचाउने क्रममा एमिनो एसिड तथा बोसोतत्त्व निस्कन्छन् जसलाई पसिनामार्फत् बाहिर निष्काशन गरिन्छ – जहाँ तिनको भेट छालाका ब्याक्टेरियासँग हुन्छ। माछा तथा गेडागुडीहरूमा कडा गन्ध भएका ट्राइमिथाइलामिनजस्ता यौगिक हुने हुनाले तिनले शरीरमा गन्ध उत्पन्न गर्छन्।

 

धेरै परिमाण अनि नियमित अन्तरालमा रक्सी खाँदा ग्यास्ट्रोइन्टेस्टाइनल ट्र्याक्ट तथा पसिनाको ग्रन्थी दुवैमार्फत दुर्गन्ध उत्पन्न गर्न सक्ने न्यूयोर्क स्टेट युनिभर्सिटीकी हेल्थ एन्ड वेलनेस स्टडिजका असिस्टेन्ट प्रोफेसर लीना बेग्दाचेले भनिन्। जब तपाईँको शरीरले कलेजोभित्र रक्सीलाई पचाउन खोज्छ त्यसबाट एसिटलडिहाइड भन्ने यौगिक निस्कन्छ। स्वास्थ्यलाई खराबी गर्ने अनि छिट्टै उड्ने उक्त यौगिकमा खास रक्सीको गन्ध हुन्छ। अनि रक्सीले शरीरको पानी घटाइदिने र र्‍यालको प्रवाह पनि घटाइदिने हुनाले तपाईँको मुखमा धेरै ब्याक्टेरिया जम्मा हुन पाउँछन् र सासको दुर्गन्ध रहिरहन्छ। 

 

कफी र चियामा पाइने क्याफिनले एपोक्राइन ग्रन्थीलाई सक्रिय बनाउँछ जसले काखी तथा कासमा पसिना उत्पन्न गराउँछ। धेरै पसिनाले धेरै ब्याक्टेरिया उत्पन्न हुन्छन् अनि त्योसँगै गन्ध पनि बढ्ने न्युट्रिसन थेरापिस्ट केरी बिसनले बताइन्। साथै अर्को अध्ययनमा क्याफिनका मलिक्युलहरू पसिनामा पनि भेटिए तर तिनले आफैँ शरीरको गन्धमा प्रभाव पार्छन् कि पार्दैनन् भन्ने अझै प्रस्ट भइसकेको छैन। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार