• आइतबार ८-२९-२०८२/Sunday 12-14-2025
डबली

कला प्रदर्शनी सुरु

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा आर्ट प्रोजेक्ट इन्टरनेसनल जिटु जिन्जा ग्यालरी जिटु, जापान र विन्दु स्पेस फर आर्टिस्टको आयोजनामा आइतबार अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गर्नुभयो । उहाँले कला विश्व भाषा भएको बताउँदै चित्रकला प्रदर्शनी सांस्कृतिक आदानप्रदान हुने एक माध्यम भएको र ती कलामार्फत आफ्नो पृथक् पहिचान, संस्कृति व्यक्त हुने तथा कलामार्फत शान्ति र सौहार्दको सन्देश पाइने बताए ।

 

प्रतिष्ठानका पूर्वकुलपति किरण मानन्धरले प्रतिष्ठानले मित्रराष्ट्रसँग गर्ने यस्ता कला प्रदर्शनीको आयोजना गर्ने काम एकदम सराहनीय भएको बताए । उनले विज्ञान र प्रविधि झैँ कलाले पनि फड्को मारिरहेको धारणा राखे । प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख सौरगङ्गा दर्शनधारीले यस्ता प्रदर्शनीले विभिन्न देशका कलाका आयाम तथा विविध पाटोलाई बुझ्न थप सहयोग गर्ने  बताए ।

 

आर्ट प्रोजेक्ट इन्टरनेसनल जिटु जिन्जा ग्यालरी जिटु, जापानका निर्देशक तामाकी कानोले नेपालमा यस किसिमको प्रदर्शनी गर्न पाउँदा निकै खुसी लागेको बताए । उनले यस पटकको प्रदर्शनीमा बालकलालाई पनि समावेश गरिएको धारणा राखे । प्रदर्शनीका क्युरेटर तथा विन्दु स्पेस फर आर्टिस्टका डिरेक्टर पृथ्वी श्रेष्ठले प्रदर्शनीमा सहभागी सबै कलाकार तथा सहयोगी सबैमा आभार व्यक्त गरे ।

 

प्रदर्शनीमा नेपालबाट प्रदर्शनीमा नेपाल, जापान, दक्षिण कोरिया, जर्मनीलगायतका देशका कलाकृति छन् जसमा नेपालबाट नारदमणि हार्तम्छाली, लालकाजी लामा, सौरगंगा दर्शनधारी, दिनेश्वर महतो, संजय वान्तवा, अरुणा हिङमाङ, प्रदीप शाक्य, सुन्दर सिंख्वाल, एरिना ताम्राकार, पृथ्वी श्रेष्ठ, मनिषलाल श्रेष्ठ, आशा डङ्गोल, सम्झना राजभण्डारी, अनिल शाही, भाइराजा महर्जन, बिनोद लिम्बु, बिनोद प्रधान, दीपक आउजी, जया शर्मा, जेनी घले, कर्मा टासी गुरुङ, कृष्ण लामा, मनोरमा खत्री, मिन थापा, मुना भडेल, नवीन नाल्बो, प्रदीपकुमार बज्राचार्य, प्रद्युम्न श्रेष्ठ, प्रमिला बज्राचार्य, राजन महर्जन, रितु थापा, रोशन प्रधान,सुभाद्री सुभा, सुरेम देशार, दिप्रोज गुरुङ साथै जापान, दक्षिण कोरिया र जर्मनीका कलाकारका कलाकृति रहेका छन् । 

   

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार