• बुधबार ३-१३-२०८१/Wednesday 06-26-2024
मनोरञ्जन

चलचित्र ‘रावायण’मा समावेश गीतमा भारतीय गायकगायिकाहरुको स्वर

काठमाडौं । छायांकनरत फिल्म ‘रावायण’मा रहेका तीन गीतको भारतमा रेकर्ड गरिएको छ । फिल्मको शीर्ष गीत, रोमान्टिक गीत र आइटम गीत रेकर्ड गरिएको हो ।

 

शीर्ष गीतमा भारतीय गायक नकासा अजीजको स्वर छ । नकासाले बलिउड फिल्म ‘बजरंगी भाइजान’को ‘सेल्फी ले ले रे’, ‘फेन्टम’को ‘अफगान जलेबी’, ‘आर राजकुमार’को ‘सारी के फल से’, ‘ट्युबलाइट’को ‘नाँच मेरी जान’ र ‘उचाइँ’को ‘केटी को’ जस्ता गीतमा स्वर दिएका छन् ।

 

त्यस्तै फिल्मको रोमान्टिक गीतमा कुनाल गान्जावालाको स्वर छ । कुनालले बलिउड फिल्म ‘मर्डर’को ‘भिघे ओठ तेरे’, ‘पार्टनर’को ‘दुपट्टा तेरा’, ‘शीसा’को ‘यार को मेने’, ‘काल’को ‘काल धमाल’, ‘धुम’को ‘सलामे’लगायतका चर्चित गीत गाएका छन् ।

 

त्यस्तै अर्को गीतमा गायिका सोनु कक्करको स्वर छ । सोनुले ‘रावायण’का लागि आइटम गीत गाएकी हुन् । सोनुले गाएका बलिउड फिलम ‘दम’ को ‘बाबु जी जरा धिरे चलो’, ‘ब्लू’को ‘ब्लू थिम’, ‘जिष्म २’ को ‘ये कसुर’, ‘क्वीन’ को ‘लण्डन’ लोकप्रिय छन् ।

 

तीनवटै गीतमा भारतीय संगीतकार रेवन सिंह र निरज सिंहको संगीत छ । संगीतकार रेवन भारतमा रुचाइएका संगीतकार, गायक, गीतकार, ब्याकग्राउण्ड स्कोरर, वाद्यवादक हुन् ।

 

भारतीय चर्चित संगीतकार कैलाश खेरको स्टुडियो कैलाश खेर स्टुडियोका संगीतकार, साउण्ड इञ्जिनियर र मिक्सिङ इञ्जिनियर निरज २० वर्ष बढी समयदेखि बलिउडमा संगीत क्षेत्रमा सक्रिय छन् । मुम्बई विश्वविद्यालयबाट पास आउट रहेका रेवनले बलिउडका चर्चित गायकगायिका र संगीतकार, साउण्ड इञ्जिनियर र मिक्सिङ इञ्जिनियरसँग काम गरिसकेका छन् ।

 

निर्देशक सुदर्शन थापाले नेपालमा संगीत तयार पारेर भारतमा गई गीत रेकर्ड गर्ने चलन भइरहँदा आफूले भने सबै काम भारतमा नै गरेको बताए ।चलचित्रमा पूजा शर्मा, पल शाह, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल र प्रदीप ढकाललगायतको अभिनय छ ।

 

फिल्ममा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको एक्सन छ । फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार