• बुधबार ३-१३-२०८१/Wednesday 06-26-2024
पत्रपत्रिका

हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा

काठमाडौँ । चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ को तयारी अन्तिम चरणमा पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जनाएको छ ।  

 

‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको यो एक्स्पोको उद्‍घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट गर्ने तयारी भइरहेको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र लगानी बोर्ड नेपालको संरक्षकत्वमा आयोजना हुने हाइड्रो एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास छ । 

 

नेपाल सरकारले भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत् दीर्घकालीन रूपमा निर्यात गर्ने सम्झौता गरिसकेको, सन् २०३५ भित्र २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने मार्गचित्र निर्माण भइसकेको तथा तेस्रो लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजना हुने यो एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण हुने इप्पानद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

 

ऊर्जा देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग जोडिएकाले यसलाई मूर्त रूप दिने गरी निजी क्षेत्रबाट यो भव्य एक्स्पो आयोजना गरिएको हो । नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ठुलो सम्भावनाबारे ज्ञान र सूचना आदानप्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने इप्पानको अपेक्षा छ ।

 

एक्स्पोमा ऊर्जा विकाससँग सरोकार राख्ने सरकारी तथा गैरसरकारी निकाय, विश्वविद्यालय र कलेज, स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनी, दातृ निकाय, कूटनीतिक नियोगहरू, मित्र राष्ट्र, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैङ्क तथा वित्तीय संस्था, बिमा कम्पनीलगायत सबै सरोकारवाला निकायका प्रतिनिधि, प्रबुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञलगायतलाई एकै थलोमा उपस्थित गराएर ऊर्जा समृद्धिका विभिन्न आयामबारे नीतिगत बहसका साथै नयाँ नयाँ प्रविधि र उपकरणको प्रदर्शनी गर्न झन्डै एक दर्जनभन्दा बढी देशको सहभागिता निश्चित भएको इप्पानले जनाएको छ ।गोरखापत्र 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार