• आइतबार १-२-२०८१/Sunday 04-14-2024
देश/प्रदेश

विश्व सामाजिक मञ्चको १६ औँ बैठक,सामाजिक न्याय, विकास, लोकतन्त्र र सशक्तिकरणका मुद्दाहरूमा बहस

काठमाडौं । विश्व सामाजिक मञ्चको १६औँ बैठक  काठमाडौँमा आज सम्पन्न हुदैंछ ।  विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय नागरिक सङ्गठनको भेलासहित आयोजित पाँच दिने उक्त कार्यक्रममा सामाजिक न्याय, विकास लोकतन्त्र र सशक्तिकरणका मुद्दाहरूमा बहस आयोजना गरिएको थियो ।

 

वातावरणीय दिगोपन, विश्वव्यापी वित्तीय प्रणाली, लैङ्गिक समानता र महिला अधिकार, श्रम अधिकार र प्रवास, शान्ति, न्याय र मानव अधिकार तथा आदिवासी जनजातिका अधिकारबारे बहस र छलफलहरु भए ।

 

 यस्तै विजया विकास स्रोत केन्द्रले शनिबार आयोजना गरेको कार्यक्रममा विज्ञहरूले आवाजविहीन र सीमान्तकृत समुदायलाई माथी उठ्न यस्ता मञ्चको आवश्यकता बढ्दै गएको बताए । विज्ञहरूले  नागरिक आन्दोलन र संलग्नताले लोकतान्त्रिक मूल्यमान्यतालाई सुदृढ पार्ने र सामाजिक न्यायको वातावरण तयार पार्ने बताए । नेपाल ल क्याम्पसमा ‘सामाजिक न्यायको स्थानीयकरण: लोकतन्त्रमा नागरिक संलग्नताको आन्दोलन’ भन्ने नाराका साथ कार्यक्रम सञ्चालन भएको थियो ।

 

'कार्यात्मक लोकतन्त्र र सरकारी गतिविधिहरूमा जनताको अर्थपूर्ण संलग्नताको लागि सूचना आवश्यक छ,'भारतको सतारक नागरिक संगठन(आरटीआई)का संस्थापक अञ्जली भारद्वाजले भनिन्।

 

 प्यानल छलफलमा आफ्नो धारणा राख्दै भारद्वाजले सूचनाको अभावमा नागरिक शक्तिहीन, कमजोर र अधिकारबाट वञ्चित हुनेमा जोड दिइन । उनले सूचनाको हक (आरटीआई) ले भारतमा कसरी परिवर्तन ल्यायो भन्ने पनि बताइन् । 

 

त्यस्तै, पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले सामाजिक न्याय सुनिश्चित गर्न न्यायिक सक्रियता अपनाउनुपर्ने सुझाव दिइन । उनले नेपालमा धेरै प्रकारका भेदभाव भएकोमा चिन्ता समेत व्यक्त गरिन । कार्कीले  संविधानले प्रत्याभूत गरेका नागरिकका मौलिक हकको कार्यान्वयनका लागि सामाजिक न्यायलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न अग्रगामी कदम चाल्न समेत अनुरोध गरिन ।

 

 प्यानल छलफलमा 'द स्टोरी किचन'का अध्यक्ष जया लुइन्टेलले समाजमा तीनवटा आयामः आवाज, ज्ञान र शक्तिलाई कुनै पनि समुदाय वा राज्यमा सामाजिक न्यायको स्थितिको विश्लेषण गर्न अध्ययन गर्न सकिने धारणा राखिन्।उनले महिला, लैङ्गिक तथा यौनिक अल्पसंख्यक लगायत सीमान्तकृत समुदायका जनताको आवाजलाई सुनुवाइ र सम्बोधन नगरेसम्म सामाजिक न्यायको उपलब्धि अधुरै रहने बताइन् ।

 

 छलफलमा भिडीआरसीका कार्यकारी निर्देशक केशवप्रसाद सापकोटाले सामाजिक न्यायमा योगदान पुर्‍याउन भिडीआरसीले विभिन्न मोर्चामा कसरी काम गरिरहेको छ भन्ने समेत जानकारी दिए। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार