• शनिबार ११-१२-२०८०/Saturday 02-24-2024
डबली

बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा २ दिने ‘साहित्यिक–सांस्कृतिक महोत्सव’ हुने

काठमाडौं । ‘बुढानीलकण्ठ साहित्यिक सांस्कृतिक महोत्सव २०८०’ आयोजना हुने भएको छ। बुढानीलकण्ठ नगरपालिकाको आयोजनामा फागुन ११ र १२ गते दुई दिने महोत्सव हुने भएको हो।

 

साहित्यकार तथा संस्कृतिविद्हरु, नगरसभा सदस्य, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महाशाखा, शाखा प्रमुख, कर्मचारीलगायतको उपस्थिति रहेको नगरपालिका सभाहलमा आयोजित एक कार्यक्रममार्फत महोत्सवको संयोजन समेत रहेकी उपप्रमुख अनिता लामाद्वारा महोत्सवबारे जानकारी दिइयो। महोत्सव आयोजक समितिका सदस्य तथा साहित्यकार बाबु त्रिपाठीले फागुन ११ र १२ गते गरी दुई दिन आयोजना हुने कार्यक्रमको तालिका प्रस्तुत गरेका थिए।

 

पहिलो दिन फाल्गुन ११ गतेको कार्यक्रम बुढानीलकण्ठ नगरपालिका १३ स्थित चुनिखेल र दोस्रो दिनको कार्यक्रम बुढानीलकण्ठ मन्दिर परिसरमा महोत्सव आयोजना हुनेछ। महोत्सवमा दर्जनौं राष्ट्रिय कलाकार, ५० जनाभन्दा बढी कवि, आख्यानकार, संस्कृतिविद्लगायत विद्यालयका विद्यार्थीहरुहरुको उपस्थिति रहने बताइएको छ।

 

विभिन्न नगरपालिका प्रमुखहरुबीच सामाजिक, राजनीतिक, उद्योग, व्यवसाय, खेलकुद, स्वास्थ्य, पर्यटन, नाटक तथा रंगमञ्च, गजललगायत बहुविधा तथा क्षेत्रहरुलाई समेट्दै  अन्तरक्रियात्मक कार्यक्रमहरु महोत्सवमा समेटिएका छन्। सांस्कृतिक सद्भाव र सम्भावनाको आदानप्रदान गर्ने यस महोत्सवमा स्थानीय सांस्कृतिक झाँकीहरुको प्रस्तुतिसमेत समेटिने छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार