• शनिबार ११-१२-२०८०/Saturday 02-24-2024
पत्रपत्रिका

उपभोग्य वस्तुको भाउ बिस प्रतिशतले बढ्यो

काठमाडौं । पछिल्लो पटक दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ । पछिल्लो एक वर्षको बिचमा भाउ नबढेको उपभोग्य वस्तु नै छैन । एक हजार रुपियाँले चार जनाको परिवारलाई दुई छाक टार्न गाह्रो भएको अनुभव घरेलु श्रमिकका रूपमा काम गर्ने सन्जुमाया गुरुङले सुनाउनुभयो ।

 

उहाँले भन्नुभयो, “काम गरेको ठाउँमा तलब बढेको छैन, एक वर्षको बिचमा खाने कुराको भाउ बढेर कहाँ पुग्यो कसरी बाँच्ने हो ? गरिबलाई त बाँच्नै गाह्रो भइसक्यो ।” सबैभन्दा सस्तो चामलको भाउ प्रतिकेजी ८० रुपियाँ पुगेको छ, खाने कुरा तरकारी सबै यसै गरी बढेको छ । सन्जुमाया त एउटा प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । महँगीको मारमा दैनिक काम गरेर कमाएको ज्यालाले परिवार पाल्नुपर्ने र न्यून आय भएका आमउपभोक्ता परेका छन् ।  

 

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गएको एक वर्षको बिचमा सबैजसो उपभोग्य वस्तुको भाउ औसतमा २० प्रतिशतले महँगिएको छ । सङ्घका अध्यक्ष पवित्र वज्राचार्यले एक वर्षयताका हरेक उपभोग्य वस्तुको मूल्य विश्लेषण गरेर हेर्दा कुनै १० देखि ५० प्रतिशतसम्म महँगिए पनि औसतमा २० प्रतिशत महँगो भएको पाइएको जानकारी दिनुभयो । 

 

सङ्घका अनुसार गत माघमा प्रतिकेजी ६५ देखि ७० रुपियाँ रहेको गहुँको आँटा बढेर ९५ रुपियाँ हुँदै अहिले ८० रुपियाँमा कारोबार भएको छ । यस्तै मैदा प्रतिकेजी ६५ रुपियाँबाट ११० रुपियाँसम्म पुगेर अहिले घटेर प्रतिकेजी ७५ रुपियाँमा किनबेच भइरहेको छ ।  सङ्घका अध्यक्ष वज्राचार्यले गहुँको आँटा र मैदाको भाउ केही घटे पनि यसबाट तयार गरिने बिस्कुट र पाउरोटीका परिकार नघटेको बताउनुभयो । चामल, दाल, गेडागुडी, चिउरालगायतका सामान १० देखि १५ प्रतिशतसम्म महँगिएको उहाँको भनाइ छ ।सीता शर्मा/ गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार