• शनिबार ११-१२-२०८०/Saturday 02-24-2024
स्वास्थ्य

गुलियो खान मन होला, तर चिनीले खोस्न सक्छ खुसी

काठमाडौं । दिल्लीकी १५ वर्षीया रियाको गर्दन, काखी र ‌औँलाको कापको छालामा पिगमेन्टेशन अर्थात् गहिरो रङ्गको दाग देखिएर समस्या भइरहेको थियो। छालाका डाक्टरले उनलाई एन्डोक्रिनलजिस्टकहाँ पठाइदिए। जाँच गर्दा रियाको भोको पेटमा उनको ब्लड सुगर ११५ र खाना खाएपछि १८० पाइयो। डाक्टरहरूका अनुसार भोको पेटको ब्लड सुगर १०० र खाना खाएपछिको ब्लड सुगर १४० सम्म सामान्य मानिन्छ।

 

रियाको उपचार गरिरहेका डा। सुरेन्द्रकुमार भन्छन्, “रिया जङ्क फूड खान्थिन् र उनको परिवारमा मधुमेह भएको इतिहास थियो। उनी कसरत पनि गर्ने गरेकी थिइनन्। यदि बुवाआमालाई मधुमेह छ भने छोराछोरीलाई पनि मधुमेह हुने खतरा ५० प्रतिशत हुन्छ।”

 

अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयस्थित पीडिएट्रिक एन्डोक्रिनलजिस्ट तथा 'सुगर, द बिटर ट्रूथ' पुस्तकका लेखक डा. रोबर्ट लस्टिगका अनुसार वयस्कहरूलाई हुने मधुमेह अब बालबालिकामा देखिन थालेको छ। खाद्य पदार्थहरूमा कार्बोहाइड्रेट, चिल्लो र प्रोटीन पाइन्छ। मानव शरीरलाई ऊर्जाका निम्ति कार्बोहाइड्रेटको आवश्यकता पर्छ। कैयौँ खाद्य पदार्थमा प्राकृतिक रूपमा कार्बोहाइड्रेट पाइन्छ। चिनीमा कार्बोहाइड्रेट हुन्छ। चिनीबाहेक अरू सामान्य कार्बोहाइड्रेट पाइने चामल अथवा आटाका परिकार हाम्रो पेटमा पुगेपछि हाम्रो आन्द्राले ग्लूकोज निकाल्छ।

 

ग्लूकोजले शरीरमा इन्धनको काम गर्छ, अर्थात् यसबाट ऊर्जा प्राप्त हुन्छ। मुम्बईस्थित डाइबीटीज केअर सेन्टरमा कार्यरत डा। राजीव कोविल र डा. सुरेन्द्र कुमार इन्स्युलिन रेसिस्टेन्सबारे बुझाउँदै भन्छन्, “इन्स्युलिन हर्मोनले हाम्रो शरीरमा चालकको काम गर्छ। त्यसले ग्लूकोजलाई मिर्गौला र मुटुसहित अन्य कोशिकामा पुर्‍याउँछ।”

 

“इन्स्युलिनको मात्रा बढेपछि यसले काम गर्न बन्द गर्छ। त्यस्तो अवस्थामा ग्लूकोज अन्य विकल्पमार्फत्‌ प्रवेश गर्ने प्रयास गर्छ जसबाट कोशिकामा समस्या उत्पन्न हुन्छ। अनि त्यही ग्लूकोज हाम्रो शरीरमा बोसोको रूपमा जम्मा हुन थाल्छ र हामीलाई समस्या हुन थाल्छ।” चिकित्सकहरूका अनुसार त्यसबाट हाम्रो शरीरमा चिनीको मात्रा बढ्न थाल्छ र विभिन्न रोगले शरीरलाई सताउन थाल्छ। त्यसबाट मधुमेह, रक्तचाप, मुटुसम्बन्धी रोग र क्यान्सरको समेत खतरा रहन्छ। बीबीसी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार