• शनिबार ११-१२-२०८०/Saturday 02-24-2024
रंगमञ्च

पहिलो पटक कक्षा ६ मा भर्ना हुँदा...

म एक किसान परिवारमा जन्मे हुर्केको केटो । मेरो घर धादिङको दुर्गम पहाडको बस्ती कल्लेरीमा पर्छ । कहिल्यै ठुला सपना नदेख्ने गाउँले केटो सामान्य सरकारी स्कुलमा कक्षा चारबाट एबिसिडि पढेको हुँ । त्यतिबेला अहिलेको जस्तो आधुनिक शिक्षा केही थिएन । दुई घण्टाको बाटो हिडेर स्कुल पुगिन्थ्यो । त्यो बालापनमा धेरै रोचक यात्रा भए । स्कुलको कक्षाभन्दा बाटोको यात्रा निकै रमाइलो थियो ।  स्कुलमा हुने बिभिन्न उत्सव, जात्रा, देवीपुजा, वायू, कुलपुजा, भजन (वालन) रोदी, दोहोरी पढाइ भन्दा कयौं गुना रोचक हुन्थे । 

 

पहिलो पटक कक्षा ६ मा भर्ना हुँदा चप्पल लगाएर स्कुल गएको थिए । आफुलाई धनी महाजन भएको जस्तो लागेको थियो । उकालो ओरालो बाटो हिड्दा दुई दिनमै चप्पल चुडिँन्थ्यो । त्यसपछि म चप्पल नहुनेहरु सरह बने । यो देखेर म माथी सबै हाँसे र मलाइ लाज लाग्यो । त्यो एउटा मेरो लागि नाटकीय क्षण थियो । तीन घण्टा हिडेर सडक बाटोमा गाडी हेर्न र मोटरको धुवाँ सुघ्न आउथें । सायद त्यही लतले मलाई सहरसम्म ल्याएको थियो होला ।

 

बाल्य अवस्थामा मलाई मादल बजाउन निक्कै रहर लाग्थ्यो । म केही मादल बजाउने दाईहरुबाट निकै प्रभावित भएको थिए । गीत गाउने तरुनीहरुको बिचमा बसेर जोसले मादल बजाउने तिनीहरु हिरो जस्तो लाग्थ्यो । अहिले ती कुराहरु सम्झिंदा मलाइ कलाकार बनाउने प्रभावकारी तत्वहरु तीनै हुन कि जस्तो पनि लाग्छ ।

 

२०४७ पछि बसाइ सरेर बाराको मध्य तराईमा बिताएको किशोर समयले मलाई बहुभाषी बहुसांस्कृतिक बनायो । स्कुल सकियो, सहरको सपनाले मनमा बास लियो । शहर आएको एकबर्ष पछि मैले कहिले नसोचेको बाटो रोजे । यो भन्दा अगाडी कुनै सपना थिएन । कलाकारिताको त कुरै छोडौ । घर परिवार आफन्तमा कसैले पत्याएनन ,उनीहरु भन्थे ‘के त राजेश हमाल जस्तो बन्न सक्छस ? नाथे चल्ला’ । अहिले पनि मलाइ कलाकार हो भनेर पत्याउदैनन् । ‘तपाई फिल्ममा नआउने पनि के कलाकार’ ? । नाटकलाई सम्मानित कलाको दर्जा पाउन मुश्किल छ । मेरो गाउँ र सहरमा मैले लडेको सोचको लडाइ हजारौं माइल टाढा छ । जसको मिलन हुन हजारौं बर्ष लाग्ने छ ।

 

बीस बर्षको नाट्य यात्रामा सायद तिनै अनेकन सामाजिक सांस्कृतिक कर्ममा हुर्केको समाज मेरो स्रोत भएको छ । अहिले सम्झंदा नाटकमा बिताएका दुईदशक पत्तै नपाइ बितेछ जस्तो लाग्छ ।  २०५२ सालदेखि लगातार नाटकमा काम गरिरहँदा अनेकन उतार चढावहरु आए । सामाजिक राजनीतिक र व्यक्तिगत सबै हिसावले । राजनीति र सामाजिक विसंगतीका बिपक्षमा अनेकौं नाटक भए । ती नाटकहरुले राजनीतिक सामाजिक सोचमा निक्कै बदलाव ल्यायो, नाटक सधैं राज्य वा शक्तिको बिपक्षमा नै उभिंदो रहेछ । व्यक्तिवादी विचारले अमानवीय बन्दै गएको सम्बन्धहरुलाई पुन गास्न र  सम्वेदित बनाउन लडिरहँदो रहेछ ।

 

नाटकमा अभिनेता र निर्देशकको रुपमा काम गर्दा आफुलाई पनि सच्याउने अवसर मिलेको छ ।  नाटक कै शिलशिलामा देश बिदेशको यात्रा गर्दा हामीले आफ्नो रंगमञ्चिय भाषा शैली बनाउन नसकेको भान हुन्छ । 

 

अध्यनको बिशाल महासागर भनेको प्रकृती र मानव विज्ञान नै हो । कहिलेकाहीं सोच्ने गर्दछु संसारभरीका मानिसहरुलाई के कुराले दौडाइरहेको छ ? ती सारा के के सपना बुनेर हिड्दा हुन । हरेकले देख्ने सपनाका बाछिटाहरुलाई चिस्याउँछ कि नाई । सारा मानिसहरुको बीचमा म चाहीं कस्तो सपना बोकेर हिड्दै छु ? मैले बाचेको जीवनको रंग अरु मानिस सरह नै त हो तर कहाँ गएर यो मेरो रंग फरक छ ? सायद मञ्चमा वा नाटकमा बाँचेको समयको रंग जीवन भने पक्का फरक छ । खरानी बन्दै गरेर त्यहि खरानीबाट पुनर्जन्म पाएको फिनिस्क चरो जस्तै ।

 

यो रंगयात्रामा फिनिस्क चरो जस्तै बारबार मर्दै बाँच्दै आशाको मुस्कान भर्दै यो समयमा डिलसम्म ल्याइ पुर्याउनु शक्ति के हो ? रंगमञ्च नै हो  । रंगयात्रामा जोडिएका साथीभाई कलाकार र दर्शक नै हो । जहाँ म असामान्य सपनाहरु देख्ने गर्छु । जसले म जस्ता मानिसहरुलाई हानि पुर्याउँदैन । सद्भाव प्रेम, अनेकौ प्रश्नहरु जन्माउँछ  ।


 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार