• शुक्रबार ८-१५-२०८०/Friday 12-01-2023
खेलकुद

नेपाल र हङकङको भिडन्त

काठमाडौं।  महिला टि–२० सिरिजअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल हङकङसित खेल्ने छ । उक्त खेल बिहान ११ः४५ बजे सुरु हुने छ । पहिलो खेलमा पराजित नेपाल आजको खेल जित्नैपर्ने दबाबमा छ । हङकङ भने पहिलो खेलमा बुधबार जापानसित विजयी भएको थियो ।

 

आजको खेल जितेमा हङकङले उपाधि भिडन्त पक्का गर्ने छ । समूह चरणको अर्को खेल अहिले ७ः१५ बजे जापान र तान्जानियाबीच हुँदै छ । नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो ।

 

हङकङमा जारी सिरिजमा आयोजक हङ्कङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आइसिसी बरियतामा तान्जानिया १९औँ स्थानमा छ भने नेपाल २१औँ स्थानमा छ । यस्तै बरियतामा हङकङ २२औँ तथा जापान ५१औँ स्थानमा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेल आगामी मङ्सिर २ गते जापानसित खेल्ने छ । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् । 

 

टोलीमा कप्तान इन्दु बर्मा, उपकप्तान बिन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पूजा महतो, रोमा थापा र सम्झना खड्का छन् । नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार