• शुक्रबार ८-१५-२०८०/Friday 12-01-2023
डबली

'क्यामरासँगै जीवन पनि चल्दै छ'

२०३२–३३ सालतिर अहिलेको तुलनामा मुस्किलले पाँच प्रतिशत मात्र सवारी साधनहरु बाटोमा गुड्थे । त्यसलाई पनि केही समयका लागि मुल सडकमा निस्कन बन्देज गरिन्थ्यो । बाटोमा बसेका गाईगोरुलाई धपाउन पुलिसहरु आइपुग्थे  । बाटो दिउँसै बढार, कुँडार गरेर सडक किनारमा सेतो चुन छर्केपछि थाहा हुन्थ्यो, राजाको सवारी हुँदैछ । हामीतिर फर्किएर बसेका पुलिसले हामीलाई घरको पेटीबाट ओर्लन दिँदैन्थ्यो  । म आफ्नो घरको पेटीमा उभिएको हुन्थेँ । गल्ली भित्र घर भएका मानिस पनि हाम्रो घरको पेटीमा उभिन आइपुग्थे । एउटा सेतो बाइक रातो घुमेको बत्ती बाल्दै गएपछि राजाको सवारी हुन्थ्यो । राजा वीरेन्द्र रानी ऐश्वर्यलाई सँगै राखेर मोटर आफैं हाँकेर आउँथे । पेटी माथि उभिएकाहरु राजालाई नमस्कार गर्थे । हामी स–साना बच्चालाई भने ताली बजाउन लगाइन्थ्यो । हामी हत्केला रातो हुनेगरी ताली पिटथ्यौँ । रानी यदाकदा बाटोमा उभिएकालाई नमस्कार फर्काउँथिन् । तर राजा भने मतलव गर्दैन्थे । हाम्रो घरको बाटो पकनाजोल भएर राजा ओहोर दोहोर गरिरहन्थे । कहिले कालधारामा रहेको मामाको घरमा आएको भन्थे भने त कहिले शनिवार शोभा भगवती दर्शन गर्न गएको भन्थे ।

 

एक दिन मेरो नजरमा सधैको भन्दा भिन्न दृश्य पर्यो । एकजना विदेशी क्यामरा लिएर बाटोमा उभिएका थिए । उनलाई  बाटोमा उभिन र यताउता डुल्न दिइएको थियो । उनी कहिले हाम्रो फोटो खिच्थे त कहिले बन्द झ्यालको चेपबाट लुकेर बाहिर हेरिरहेकाहरुको फोटो खिच्थे । सधैझै राजाको सवारी भयो । ती विदेशीले क्यामराको लेन्स राजाको मोटरतिर सोझ्याए । झन्डै राजाको मोटर छेउमै पुगेका उनलाई कुनै प्रहरीले रोकेन । बरू राजाले नै देब्रे हात उठाएर उनको क्यामरामा हेर्दै मुस्कुराए । यो दृश्य पछि खै किन हो, मेरो मनमा क्यामरा प्रति मोह जागेर आयो ।

 

माथी कोठाको दराजमा १२० एमएमको फिल्म लाग्ने क्यामरा थियो । तर, चलाउन भने पाइदैन्थ्यो  । एकदिन बडो आँट गरेर क्यामरामा हात पुर्याए । क्यामरा लिएर ओल्टाईपल्टाई गर्दै थिएँ । बुबाले देखि हाल्नुभयो । सोचेको थिएँ, अब मरिने भइयो । तर, उल्टै बुबाले क्यामरा खोल्ने, फिल्म लोड गर्ने र फोकस गर्ने तरिका सिकाइ दिनुभयो । पहिले धमिलो देखिएको मान्छे फोकस भए पछि प्रस्ट देखिन्थ्यो । मलाई यसमा साह्रै रमाइलो लाग्न थाल्यो । म फुर्सद भयो कि यसैगरी क्यामरामा फोकस गरेर खेल्न थालेँ । स्कुल जाँदा बाटोमा अमृत स्टुडियो नामको फोटो खिच्ने पसल पथ्र्यो । त्यहाँको बच्चा पनि मेरो स्कुलमा सँगै पढ्थे । म उनी कहाँ जान थालेँ ।  त्यहाँबाट पनि केही सिक्ने अवसर मिल्यो । पिकनिकमा कसैले क्यामरा ल्यायो भने म फोटो खिच्न अघि सरिहाल्थे । हात निखारिँदै गयो । स्कुल जीवन पछि क्याम्पस तिर लागियो । आईएको पढाई सकिएपछि बिए नगर्दै काम गर्ने सोच पलाएको थियो । सोचे फोटोग्राफर नै किन नबन्ने रु फोटो त खिच्न सकिन्थ्यो तर सैद्धान्तिक ज्ञान थिएन । त्यसको लागि फोटोग्राफीसँगै डार्करुम प्रिन्ट सिक्न नेपाल फोटोग्राफी इन्स्टिच्युटमा डिप्लोमा गरे । फोटोग्राफी अध्ययनका क्रममा हामीले खिचेका तस्वीर केही पत्र पत्रिकामा छापिन्थ्यो । तस्बिरसँगै आफ्नो नाम छापिँदा रमाइलो लाग्थ्यो । चिनेजानेकाहरुले तिमीले खिचेको फोटो त आजको पत्रिकामा छापिएको छ नी भन्दा झन मनै फुरुंग हुन्थ्यो । यसरी बिस्तारै क्यामराको नशा लाग्न थाल्यो । अब राम्रो क्यामराको आवश्यकता थियो । त्यो पनि साइँलो भिनाजुले मेरो मनको कुरा बुझेर  उहाँलाई कुनै विदेशीले दिएको क्यामरा मलाई दिएर मेरो आवश्यकता पूरा गरिदिनुभयो । ३५ एम एम र १०५ एम एम लेन्स सहितको यासिका एफ एक्स थ्री क्यामराले मेरो फोटोग्राफीमा निखार ल्यायो ।

 

साप्ताहिक पत्रिका दृष्टि, देशान्तर, हङकङबाट प्रकाशित हुने नेपाल पोष्ट, ओभरसिज म्यागजिन देखि हिमालय टाइम्स दैनिकमा समेत काम गर्न थालियो, पछि जागिरकै रुपमा हिमालय टाइम्समा काम गर्न थालेपछि भने आफुलाई पुर्णरुपमा फोटो पत्रकार भएको महशुस भयो  । त्यसपछि नयाँ सडक दैनिक, नेपाल समाचारपत्र हुँदै कान्तिपुरसम्म आइपुग्दा स्वदेश मात्र नभएर विदेशमा सम्म रिपोर्टिङका लागि पुग्ने अवसर मिल्यो । बेलाबेला राज्य र विभिन्न संस्थाबाट प्राप्त पदक,सम्मान, तालिम र विभिन्न प्रतियोगितामा मिलेको पुरस्कारका कारण हौसला झन् बढ्दै गयो ।

 

एनलग क्यामराबाट ब्ल्याक एन्ड ह्वाइट फुस्रो कागजमा छापिने बेला सुरु गरिएको फोटोग्राफी अहिले डिजिटल प्रविधिबाट चिल्लो कागजमा र सीधै अनलाइनमा पुग्ने भइसकेको छ । क्यामरासँगै जीवन पनि चल्दै छ । तर, क्यामरा  भने नयाँ नयाँ हुँदै आइरहेको छन् । क्यामरा नयाँ आएपनि म भने उमेरले पुरानो पुरानो हुँदै गइरहेको छु । तर सन्तुष्ट छु , ढुक्क छु अनि आफ्नो पेशा प्रति मख्ख छु ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार