सरकार र शिक्षकहरूबीच वार्ता सुरु

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच गृहमन्त्रालयमा वार्ता सुरू भएको छ। विद्यालय शिक्षा विधेयकविरुद्ध तीन दिनदेखि आन्दोलरत शिक्षकसँग सरकारले केही बेरअघिबाट वार्ता सुरू गरेको हो।
वार्तामा सरकारले शिक्षकको माग सम्बोधन गरी आजै सहमतिमा पुग्ने गरी कार्य प्रक्रिया अघि बढाएको जनाएको छ । आन्दोलनरत शिक्षकहरुको माग सम्बोधनबारे शिक्षा मन्त्रालयले सहमतिको ड्राफ्ट तयार गरेको बताइएको छ । दुई पक्षीय बैठकअघि शिक्षा मन्त्रालयका सचिवको नेतृत्वमा शिक्षकका प्रतिनिधि वार्तामा बसिसकेका छन् ।
वार्तामा शिक्षक कर्मचारीहरूलाई मागका विषयमा आफ्नो धारणा राख्ने समय दिइएको छ । त्यसपछि सरकारको तर्फबाट सरकारी वार्ता टोलीले आफ्नो धारणा राख्नेछ । विद्यालय शिक्षा विधेयकमा विमति जनाउँदै असोज ३ गतेदेखि शिक्षक कर्मचारीहरू आन्दोलन गर्दै आएका छन् । उनीहरूले विधेयकमा विभिन्न १८ बुँदे माग संशोधनको माग राख्दै आएका छन् । आन्दोलनरत शिक्षकहरूले आन्दोलन र वार्तालाई सँगसँगै अघि बढाएका हुन् ।
यसअघि सरकार र शिक्षकबीच शुक्रबार बिहान ८ बजे वार्ता बस्ने भनिए पनि आन्तरिक तयारी अपुग भएपछि वार्ताको समय दिउँसोका लागि धकेलिन पुगेको थियो ।
प्रतिकृया दिनुहोस