• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
अर्थ

तीन लाइफ इन्स्योरेन्स मर्ज भएर बनेको हिमालयनको एकीकृत कारोबार सुरु

काठमाडौं । साबिकका प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्स गाभिएर बनेको हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले वैशाख २६गतेबाट औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको छ । 

 

यी तीन कम्पनीले एक वर्षअघि (२०७९ वैशाख २९ गते) मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए । एक वर्षको अवधिमा मर्जर प्रक्रिया पूरा गरी हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको हो । 


नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा एकीकृत कारोबारको औपचारिक शुभारम्भ गर्नुभएको थियो । उहाँले नयाँ कम्पनीको प्रमाणपत्र समेत हस्तान्तरण गर्नुभएको थियो ।
 

समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले जीवन बीमा आमजनताको जीवनमा अपरिहार्य रहेकोले गरिब र न्यून आय भएका जनताको बीचमा पुगेर जीवन बीमाव् यवसाय गर्न निर्देशन दिनुभयो । उहाँले तीनवटा कम्पनी गाभिएर हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरेकोमा कम्पनी सम्बद्ध सबैलाई बधाई ज्ञापन गर्दै सफलताको शुभकामना दिनुभयो । यो शुभारम्भ नेपाली बीमा कम्पनीहरुकालागि ऐतिहासिक भएको उहाँको टिप्पणी छ । तीनवटा कम्पनी एक आपसमा गाभिँदा ठूलो चुक्ता पुँजीभई कम्पनी थप शक्तिशाली बनेको पनि उहाँले बताउनुभयो । 

 

मंगलबार कम्पनीका अध्यक्ष सुलभ अग्रवालले नेपाल बीमा प्राधिकरणमा आयोजित कार्यक्रममा अध्यक्ष सिलवाल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको थियो । 


एकीकृत कारोबार शुभारम्भ समारोहमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजलाल कर्णले एक वर्ष मर्जर अभियानमा सक्रिय सबैमा कृतज्ञता ज्ञापन गर्दै आगामी दिनमा देशकै नम्बर १ कम्पनी बनेर बीमा सेवाप्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 


गतवर्ष चैतमा नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको चुक्तापुँजी बढाउने नीति ल्याएपछि जीवन बीमा कम्पनीतर्फ यी तीन कम्पनीले पहिलो पटक मर्जर सम्झौता गरेका थिए । यी कम्पनीले तीनवटा संस्था गाभ्ने चुनौती पूर्ण काम सफलतापूर्वक सम्पन्न गरेका छन् । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार