• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

हाँसो र नृत्यका बादशाह

मुम्बई । कलाकारको सफलताको खास मापदण्ड के के हुन् । कुन पक्षलाई प्रमुख मानेर कलाकारको मुल्यांकन हुन्छ ? यी प्रश्नका अलग अलग जवाफ आउन सक्छन् । तर ती जुनै जवाफमा अरु कुरा छुटेपनी दर्शक वा श्रोता पक्कै छुटदैनन् । प्रत्येक सफल कलाकारले आफ्नो छुट्टै छाप बनाएका छन् र त्यही छाप मनपराउने लाखौं फ्यान हुन्छन् । 

 

यस्तै बलिउडमा आफनो भिन्न छाप बनाएका कलाकार हुन गोबिन्दा । गोबिन्दाको नाम सुन्ना साथ जो कोहीको पनि मुहारमा मुस्कान आइहाल्छ । उनाले फिल्ममा गरेको नृत्यलाई त झन दर्शकले बिर्सन सक्दैनन् । कुनै समय बलिउडमा एकछत्र राज गरेका बलिउड कलाकार गोविन्दाको पूरा नाम गोबिन्द अरुण आहुजा हो । २१ डिसेम्बर १९६३ मा जन्मिएका यीनका पिताको नाम अरुण आहुजा हो । अरुण आहुजा पनि बलिउडमा कुनै समय नायक थिए । यो फरक कुरा हो कि उनी बलिउडमा खासै हिट हुन सकेनन् । उनका पिता अरुण आहुजाले अभिनय गरेको एउटा राम्रो सिनेमा औरत हो, जसको निर्देशन मेहबुब खानले गरेका थिए । 

 

अरुण आहुजाले आफनो जीवनकालमा करिब ३० फिल्ममा अभिनय गरेका थिए । एक फिल्म निर्माणबाट भएको घाटा मिलाउन उनले आफनो मन पेरेको घर बेचेका थिए । घर बेचेर यिनको परिवार उत्तरी मुम्बईमा सरेको थियो जहाँ गोविन्दा जन्म भयो । उनको आमाको नाम निर्माला देवी हो । आफू जे बने त्यसको सम्पुर्ण श्रेय उनले आफ्नी आमालाई दिने गरेका छन् । गोविन्दाको अभिनय यात्रा पहिलो फिल्म ‘इलजाम’ मा शुरु भएको थियो । यो फिल्म जुन १९८६ मा रिलिज भएको थियोे । तर गोविन्दा मुख्य भुमिकामा रहेर अभिनय गरेको पहिलो फिल्म भने ‘तनबदन’ हो ।

 

पहिलो फिल्म नै हिट दिएका गोविन्दाको ‘जिते हे सान से’, ‘शोला और सबनम’, ‘आँखे’, ‘कुल्ली नम्बर वान’, ‘दिवाने मस्ताने’, ‘पार्टनर’ आदि हिट फिल्महरु रहेका छन् । यी अभिनेताको कमिक टाइमिङ र डान्स यति पेर्फेक्ट मानिन्छ कि यिनीसंग अभिनय गर्न धेरै कलाकार हच्च्किने गर्थे । 

 

बलिउडमा नृत्य गर्ने कलाकाहरुहरुको नाम लिनु पर्दा मिथुन र गोविन्दाको नाम संधै अगाडि आउँछ । धेरै पटक यो बिवाद पनि हुने गरेको थियो कि यी दुई मध्य कसको नृत्य उत्कृष्ट ? यसबारेमा गोबिन्दा सधै भन्ने गर्थे कि मिथुन चक्रबर्ती मेरो गुरु हुन् उनकै फिल्म ‘डिस्को डान्सर’ हेरेपछि मैले नृत्यबारे धेरै कुरा थाहा पाएको हुँ । यस्तै फिल्म ‘खुद्धार’ को सुटिङको बेला गोविन्दा गम्भीर घाइते भएका थिए ।

 

सन् १९९३ मा प्रदर्शनमा आएको फिल्म ‘आँखे’ त्यस बर्षको उनको सबैभन्दा हिट फिल्म थियो । एउटा यस्तो बेला पनि थियो जतिबेला गोविन्दाको फिल्ममा कादर खान र शक्ति कपुर अनिवार्य जस्तै थिए । धेरै निर्मातालाई लाग्थ्यो कि यी तीन भए फिल्म हिट हुन्छ । फिल्म संख्याले पनि यो पुष्टि गर्छ, जस्तो गोविन्दाले शक्ति कपुरसँग ४२ र कादर खानसँग ४१ फिल्ममा काम गरेका छन् । यी तिनै कलाकार संगै भएका फिल्मको संख्या २३ वटा जति छ । गोविन्दाले सबैभन्दा धेरै संगै काम गरेका नायिकाहरुमा करिश्मा कपुर, जुहि चावला, रबिना टन्डन र रानी मुखर्जी हुन् ।

 

गोविन्दले खेल्न अस्वीकार गरेका केही चर्चित फिल्महरुमा ताल, गदर र देवदास हुन । सुभाष घई निर्देशित फिल्म ‘ताल’ मा अनिल कपुरले गरेको अभिनय पहिला गोविन्दालाई अफर गरिएको थियो । त्यस्तै संजय लीला भञ्साली निर्देशित फिल्म देवदास मा ज्याकी श्राफले गरेको भुमिका पनि पहिला गोविन्दालाई अफर गरिएको थियो । तर उनले आफु प्रमुख भुमिकामा मात्र अभिनय गर्ने भएकोले साइड कलाकारको रुपमा अभिनय गर्न अस्वीकार गरेका थिए । यस्तै गोविन्दालाई हलिउड फिल्म ‘अवतार’ को लागि पनि अफर गरिएको चर्चा चलेको थियो र साथै गोविन्दाले जेम्स क्यामरुनलाई यस फिल्मको नाम अवतार राख्न सुझाएको कुराले पनि बलिउडलाई धेरै नै तताएको थियो । यतीसम्म कि गोविन्दाको यो कुरालाई सामाजिक सञ्जालमा ट्रोल नै बनाइएको थियो । 

 

फिल्म ‘हसिना मान जायगी’ का लागि गोविन्दाले बेस्ट कमेडियनको फिल्मफेयर अवार्ड पाएका थिए  भने फिल्म ‘साजन चले ससुराल’ का लागि फिल्मफेयर स्पेसल अवार्डबाट गोविन्दालाई सम्मानित ग।िएको थियो । गोविन्दाले आफुले यो सम्मान र माया अवार्ड भन्दा ठूलो भएको एक कार्यक्रममा बताएका थिए  । बीबीसीले सन् १९९९ मा गरेको एक अनलाइन सर्वेक्षणमा उनी बिश्वकै १० औ उत्कृष्ट स्टेज कलाकारमा छानिएका थिए । सन् २००४ देखि २००९ सम्म भारतीय कांग्रेस तर्फबाट सांसद रहेका गोविन्दाले अहिले राजनीति छोडिसकेका छन् । इन्डियन लिडरसिप कन्क्लेभले यिनलाई सन् २०१६ मा ‘एक्टर अफ द डिकेड’ को सम्मान दिएको थियो ।

 

फिल्ममा दोस्रो इनिङ गरिरहेका गोविन्द धेरै कलाकारका प्रेरणाका श्रोत हुन् । बलिउड कलाकार रणबिर सिंह गोविन्दाको बिग फ्यान हुन् । जी टिभीबाट प्रसारण हुने डान्स कन्टेस्टको जज रहिसकेका गोविन्दा बिबादमा पनि उत्तिकै परे । जुनियर एक्टर सन्तोष राय माथी उनले अपना ‘सपना मनी मनी’ फिल्मको सेटमा गरेको झगडाको कुरा पनि बलिउडमा धेरै नै चर्चाको बिषय बन्यो  ।  ६ सन्तानमा सबैभन्दा कान्छा रहेका गोबिन्दलाई माया गरेर बोलाइने नाम चिची हो । सलमान खान संग लभ एण्ड हेट सम्बन्ध रहेका गोविन्दा आजकल बलिउडमा आफू एक्लो भएको बताउने गर्छन् । नेपाली मुलकी सुनितासँग बिबाह गरेका गोविन्दाको दुई सन्तान छन् । छोरीको नाम टिना आहुजा हो भने छोराको यशबर्धन हो । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार