• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
बिश्व

थप योगदान दिन नसक्ने भन्दै न्यूजील्यान्डकी प्रधानमन्त्रीको राजीनामा

न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्न ले अर्को महिना आफूले पदबाट राजीनामा दिने घोषणा गरेकी छिन्।आफूले देशका लागि “थप योगदान दिन नसक्ने” भन्दै उनले राजीनामा घोषणा गरिन्।

 

विगत ६ वर्षयता देशको नेतृत्वमा रहेकी आर्डर्नले आफ्नो कार्यकाल कति “चुनौतीपूर्ण” थियो भन्ने बताउँदै गर्दा उनको गला अवरुद्ध भएको थियो।उनले फेब्रुअरी ७ अघि नै लेबर पार्टीको नेताबाट राजीनामा दिनेछिन्। उनको उत्तराधिकारी चयन गर्न अब पार्टीमा मतदान हुनेछ।न्यूजील्यान्डमा आगामी अक्टोबर १४ मा आम निर्वाचन हुँदै छ।हाल ४२ वर्षकी आर्डर्नले ग्रीष्मकालीन बिदामा बसेको बेला आफ्नो भविष्यबारे चिन्तन गरेको बताएकी छन्।

 

 

“मैले त्यो अवधिमा अब अगाडि बढ्न के गर्नुपर्छ भन्ने कुरा पत्ता लगाउन सक्छु कि भन्ने आशा गरेकी थिएँ तर दुर्भाग्यवश मैले त्यसो गर्न सकिनँ। अब पनि म पदमा बसिरहनु भनेको न्यूजील्यान्डको लागि हानी पुर्‍याउनु हो,” उनले आफ्नो कार्यकालको समीक्षा गर्दै पत्रकारहरूसँग भनिन्।

 

सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री निर्वाचित भएकी आर्डर्न त्यसबेला विश्वकै सबैभन्दा कान्छी महिला प्रधानमन्त्री थिइन्।त्यसको एक वर्षपछि पदमै रहँदा बच्चालाई जन्म दिने उनी दोस्रो विश्व नेता बनिन्।उनले न्यूजील्यान्डलाई कोभिड महामारी, आर्थिक मन्दी, क्राइस्ट चर्च गोलीकान्ड र ह्वाइट आइल्यान्ड ज्वालामुखी विस्फोटको कठिन समयमा नेतृत्व दिइन्।बीबीसी

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार