• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

मध्यम 'डिसेम्बर फल्स'

एउटा समय यस्तो थियो जहाँ नेपाली चलचित्रमा दर्शक पाउनै गाह्रो हुन्थ्यो तर अहिले त्यो समय फेरिएको छ। नेपाली चलचित्रमा दर्शकको रुचि दिन प्रतिदिन बढ्दै गएको छ, जुन कुरा चलचित्र ‘डिसेम्बर फल्स’ले प्रस्ट्याउँछ। 

 

दुई प्रेमीबीचको प्रेम, रोमान्स र धोकाको मिश्रण हो चलचित्र ‘डिसेम्बर फल्स’ । सम्राट् (आर्यन सिग्देल) र सदीक्षा (उपासना सिंह ठकुरी) को मायाप्रेमको कथा हो, चलचित्र। सदीक्षा एउटा नर्स हुनुहुन्छ र उहाँलाई पाउन सम्राट् जस्तोसुकै परिस्थितिबाट पनि गुज्रन तयार हुनुहुन्छ। सदीक्षा असल, सबैको भलो चिताउने नर्स हुँदाहुँदै पनि उहाँबाट हुन गएको एउटा सानो गल्तीले उहाँलाई जिन्दगीभर दुःख दिइरहन्छ। त्यही गल्तीले गर्दा उहाँमाथि धेरै उतारचढावको परिस्थिति आइलाग्छ। यता सम्राट्सँगको प्रेम गहिरिँदै जाँदा सदीक्षाको त्यो गल्ती सम्राट्ले थाहा पाउँछ र कसै गरेर पनि सम्राट् सदीक्षालाई त्यो समस्याबाट पार गर्न सफल हुन्छ। चलचित्रमा एकातर्फ सम्राट् र सदीक्षाको मायाप्रेमलाई पस्कन खोजिएको छ भने अर्कोतर्फ कथामा तब ट्विस्ट आउँछ जब सदीक्षाले गरेको त्यो सानो गल्तीले उनलाई पछ्याइरहेको हुन्छ। 

 

चलचित्रमा नर्सको जीवनमा आउने उत्तारचढावको कथालाई बिल्कुलै भिन्न ढङ्गबाट प्रस्तुत गर्न खोजिएको छ। एउटी नर्सले राम्रोसँग व्यवस्थित जीवन बिताइरहेकी छिन् तर उनको विगतले उनलाई खोज्दै आएको ठाउँमा विचलित हुन लागेको कुरा चलचित्रले दर्शाउँछ। 

 

त्यस्तै चलचित्रमा सम्राट्का भाइको भूमिकामा देखिएका समीर ९सलोन बस्नेत०को भूमिका पनि उत्तिकै महत्वपूर्ण देखाइएको छ। समीरले आफ्ना दाजुले देखाएको मायाप्रेम र साथ सहयोगले पनि चलचित्रमा धेरै कुराको तुक राख्छ। चाहे त्यो सदीक्षासँग विछोड हुँदाको समय होस् या सदीक्षामाथि आइपर्ने अफ्ठ्यारोका बेला सम्राट्लाई गर्ने सहयोग होस्। 

 

चलचित्र मध्यान्तरसम्म खासै जम्न सकेको छैन। उही पुरानो जोडजाड र घिसिपिटी कथाले चलचित्र मध्यान्तरसम्म तानिएको छ। मध्यान्तरपछि भने चलचित्रले दर्शकलाई तताउने काम गर्छ। नायक आर्यन सिग्देलको एक्सन र नायिका उपासना सिंह ठकुरीमाथि आएको समस्याजस्ता कुराको कथाले चलचित्रलाई तताउने काम गर्छ। चलचित्रको कथा मध्यान्तरपछि मात्र सुरु हुन्छ भन्दा खासै फरक पर्दैन। 

 

चलचित्रमा चकलेटी नायकको छवि बनाउनुभएका नायक आर्यनको भूमिकालाई ठीकठाक भन्नुपर्छ। यस चलचित्रमा उहाँलाई दर्शकले चकलेटी भूमिकामा भन्दा पनि रिस र आवेग भरिएको भूमिकामा देख्नुहुन्छ। त्यस्तै नायिका उपासनाकै वरिपरि चलचित्रको कथा घुमेको हुँदा उहाँको भूमिकामा खासै खोट लगाउने ठाउँ देखिँदैन। उहाँको अभिनय मध्यम छ। अन्य कलाकारहरू सलोन बस्नेत, शिवहरि पौडेल, शिशिर राणा, नगेन्द्र रिसालको भूमिकाले पनि चलचित्रको धेरै कुरा प्रस्ट्याउने काम गर्छ। चलचित्रमा पत्रकार नरेश भट्टराईको पनि अभिनय रहेको छ तर उहाँको भूमिका किन राखिएको हो त्यो अलि प्रस्ट छैन।  

 

निर्देशक प्रविन झाको निर्देशकीय पक्षलाई ठीकठाक भन्नुपर्छ। निर्देशकले चलचित्र हेर्ने दर्शकलाई अवश्य नै चलचित्र अवधिभर कौतुहल पैदा गराउने खालको कथा पस्कन खोज्नुभएको छ। जसले दर्शकमा अवश्य नै उत्साहित हुन सक्छन् तर दर्शक धेरै ठाउँमा बोरिङ पनि महसुस गर्छन्।  सुकृत नेपाल/गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार