• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
पत्रपत्रिका

सम्झौताविपरीत होटल, रेस्टुरेन्ट, लज र अस्पताल

पशुपति क्षेत्र विकास कोषसँग भएको सम्झौताविपरीत पशुपतिनाथको नाममा रहेको नौ रोपनी नौ आना जग्गा मारवाडी सेवा समिति नेपालले कब्जा गरेको छ । पशुपतिनाथ मन्दिर संरक्षण र पशुपतिनाथको नाममा रहेको सम्पत्ति संरक्षण गर्न कोषसँग गरिएको सम्झौताविपरीत धर्मशाला सञ्चालन गर्न भनी दिएको जग्गामा सेवा समितिले अरू नै संरचना बनाएर व्यवसाय सञ्चालन गर्दै आएको छ । 

 

धर्मशाला सञ्चालन गर्ने सम्झौता भए पनि सेवा समितिले काठमाडौँको गौशालास्थित पशुपतिनाथ मन्दिरको जग्गामा होटल, रेस्टुरेन्ट, लजसहितको व्यापार व्यवसाय सञ्चालन गरेको पशुपति क्षेत्र विकास कोषले आरोप लगाएको छ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतिरमण अधिकारीका अनुसार विसं. २०६० जेठ १२ गते भएको सम्झौताविपरीत सेवा समितिले धर्मशालामा व्यवसाय सञ्चालन गरिरहेको हो । 

 

सम्झौताअनुसार सेवा समितिले वार्षिक ५१ हजार रुपियाँ कोषलाई बुझाउनुपर्छ । ‘सहयोग’ शीर्षकमा उक्त रकम बुझाउने र समयानुकूल सम्झौता नवीकरण गर्ने भनिएको थियो । तर समितिले पशुपतिनाथ मन्दिरको जग्गामा ‘मोहियानी हक’ भएको दाबी गर्दै सम्झौता नवीकरण गर्न वा धर्मशाला छोड्न अस्वीकार गर्दै आएको छ । उल्टै थप संरचना बनाएर सम्पत्ति हत्याएको छ । उहाँले भन्नुभयो, “कोष र मारवाडी सेवा समितिबीच भएको सम्झौताबमोजिम गौशाला धर्मशालाभित्र निर्माण गरिने संरचनाहरूमा कोषको स्वीकृति लिनुपर्ने हुन्छ । तर समितिले नियमको पालना नगरी पक्की संरचना खडा गरी व्यवसाय सञ्चालन गरेको छ ।”

 

उहाँले कोषसँगको सम्झौताअनुसार गौशाला धर्मशाला परिसरमा मारवाडी सेवा समितिले पसल सञ्चालन गर्न नपाउने बताउँदै जर्सी गाईपालन गरी दुग्ध व्यवसाय सञ्चालन गर्न नपाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तर सम्झौताविपरीत गौशालाभित्रै अस्पताल सञ्चालन गरेपछि हामीले जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढाएका हौँ ।” अशोक अधिकारी/गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार