• शुक्रबार १०-१३-२०७९/Friday 01-27-2023
अर्थ

साग–सब्जीको महत्व

कुरो आजभन्दा ५० वर्ष पहिलेको र त्यो भन्दा पनि अगाडिको हो । यानी २०३० को दशक र त्यो भन्दा पनि पहिलेको वखत । त्यतिबेला आज जस्तो छाकै पिच्छे मासु खाने चलन थिएन । त्यतिबेलाका मध्यम वर्ग वा अलि बढी सम्भ्रान्तहरूको घरमा पनि दिनहुँ मासु पाक्दैन थियो । तर हप्तामा एकदिन खासगरी शनिबार भने सबैजसो घरमा मासु पाक्थ्यो। शनिबार र चाडवाडको बेला टोल टोलमा खसी काटेर भाग लगाएर बेचिन्थ्यो । एक भागको १५–२० रुपैयाँ । एक भागमा करिव एक धार्नी मासु । त्यस्तो भागको मासुमा खसीको शरीरको सबै भागको मासु बराबर भाग लगाएर हालिएको हुन्थ्यो, त्यसैले अझ बढी स्वादिलो । तर १५–२० रुपैयाँ पनि त्यतिबेला ठूलै रकम हुने गर्दथ्यो ।

 

ब्रोइलर कुखुरा त त्यतिबेला पाइँदै पाइँदैन थियो । केही समय पछि भने भर्खर खुल्न शुरु भएका कुनै कुनै कोल्डस्टोरमा मात्र कलकत्तादेखि ल्याइएका बरफमा जमेका ब्रोइलर कुखुराहरू र माछाहरू पाइन्थे र ती अन्य मासुभन्दा महँगो पर्दथे । नत्र लोकल (साखिनी) कुखुरा नै घरैमा काटेर खाने गर्दथे मानिसहरू । सम्भ्रान्तको भान्सामा जङ्गली कालिज र मृगका मासु र सुकुटी पनि पुग्दथे । बाहुनको घरमा कुखुरा नचल्ने,तर अलिक टाठोबाठो बाहुनले भने लुकाएर काटेर खान्थे ।  मदवाली तथा नेवार जातीहरू राँगाको मासु पनि खाने गर्दथे । बङ्गुरको मासु खानेहरू पनि थिए । तर ब्राह्मण, क्षेत्री, ठकुरी आदिमा भने बङ्गुर र राँगा बर्जित थिए । त्यस्तै अधिकांश नेवार जातीले पनि बङ्गुरको मासु खाँदैनथे । साउने तथा माघे सङ्क्रान्ति र दशैँ–तिहार र बिहेका भोज–भतेरमा बँदेलको मासु खाने प्रचलन थियो । पहाडी इलाकामा बोका, खसी, पाडा आदि भाग लगाएर बेच्ने चलन अझ पनि छँदैछ । चाडबाड तथा देवालीमा आआफ्ना धर्मकर्म अनुसार बोका, भेँडा, राँगा, हाँस, कुखुरा आदि बलि दिने चलन त पुरानै भइहाल्यो । माछा खान रुचाउनेले जनकपुर, वीरगञ्ज, त्रिशुनी तथा अन्य ठाउँबाट नातेदार आउँदा आलो वा सुकेको माछा मगाउँथे । सुकेका माछा काठमाडौँको असनमा पनि व्यापारीहरूले बेच्दथे । नेवार जातीको पुजा र भोजमा सुकेको माछा र हाँसको अण्डाको निकै महत्व हुने ।

 

त्यतिबेलाका गाउँरूपी शहरका ठाउँ ठाउँमा बगरेका मासु पसलहरू हुन्थे । आज जस्तो किलोग्राम, ग्रामको चलन थिएन त्यतिबेला । छटाक, पाउ, धार्नीको जमाना थियो त्यो । एक छटाक भनेको एक पाउ भन्दा पनि निक्कै थोरै । त्यसमाथि आधा छटाक मासु किन्ने पनि भेटिन्थे । स्वयम् महाकवि लक्ष्मीप्रसाद देवकोटा खुबै मासु खानु पर्ने तर रकम अभावले गर्दा खसीको मासु पाउ वा छटाकमा नै गुजारा चलाउँथे अरे । विशेष गरी शनिबार भागको मासु किन्नेले भने एक वा दुई भाग, वा सानो परिवारले आधा भाग पनि मासु किन्थे ।

 

होटलमा गएर माछा–मासु खाने चलन त्यति थिएन उ बेलामा । काठमाडौँका सौखिनहरू कालुचा तथा शहर (असन, इन्द्रचोक, नयाँ सडक) मा रहेका एकाध होटेलमा गएर खसी, कुखुरा र राँगाको मासुका परिकारहरू खान्थे वा घरमा लग्थे । कालुचाको कुखुराको मासु ज्यादै प्रख्यात भएकोले उसको इस्र्या गर्नेहरूले एक चोटी उसले कौवा काटेर खुवाउँछ भनेर उसको बदनाम गर्ने पनि कोशिश गरे । कैयन् सोझा नेपालीले कौवा मारेर मासु बेच्न कति गाह्रो छ भन्ने कुरा नसोचेर त्यहाँ जान पनि छोडे निकै समयसम्म । त्यस्तै खसीको मासु धेरै बिक्ने पसलमा बाख्रीको मासु बेच्छ भनेर बदनाम गर्ने हल्लाखोर गिरोह पनि हुने गर्दथे भने केही बगरेहरूले त्यतिबेला र अहिले पनि बाख्रीको र मरेका चौपायाको मासु पनि बेच्न छोड्दैनन् । त्यतिबेला हालको नेपाल वायुसेवा निगमको नयाँ सडकस्थित भवनको पश्चिमपट्टि सङ्कटा मन्दिर पस्ने ठाउँ निर माथिल्लो तल्लामा भिमफेदी नानीचाको पसल नामको खसीका विभिन्न परिकार पाइने होटेल पनि थियो । नक्सालमा एकजना तुईचा भन्ने व्यक्तिले आलुका विभिन्न परिकार बेचेर पनि निक्कै धेरै पैसा कमाएको थियो । काठमाडौँको डिल्लीबजारमा भएको सिंहबहादुरको चटामरी पसल जस्ता नेवारी परिकार तथा पकुवा मासु पाइने प्रख्यात पसल तिनै वटा शहरका ठाउँ ठाउँमा थिए । पोखराको भाउजुको होटेल, विराटनगरको बाजेको होटेल, वीरगञ्जको माइस्थान बाहिरका बगडी खाने होटेलहरू, बनेपाको कालो घर आदि माछा–मासुका विभिन्न परिकार पाइने प्रख्यात होटेलहरू मुलुकका विभिन्न ठाउँमा छरिएर रहेका थिए । तर हिजो आज जस्तो अति आधुनिक होटेल–रेष्टुरेन्टहरू र जुनसुकै गाउँ–शहरमा पनि हुने ठूला साना होटेलहरू त्यतिबेला हुँदैनथे। काठमाडौँमा पछि केही अति मिठो मःमः बनाउने होटेल खुले भने साँझपख सडकपेटीमा बसेर मःमः पकाएर खुवाउने नाङ्ले पसलहरू पनि धेरै ठाउँमा खुलेका थिए ।   

 

सागसब्जीको कुरा गर्दा हिजो आज धेरै जस्तो जुनै पनि तरकारी जुनसुकै मौषममा पनि पाइन्छ । काउली, बन्दागोभी, मुला, गाजर, काँक्रो, मकै आदिबाह्रै मासमा पाइन्छन् । यसो हुनुमा विभिन्न प्रकारको रसायनिक मलको प्रयोग हुनु, वातावरणलाई वातानुकुलित गर्न टनेल खेती गर्नु, विभिन्न खाले हावापानी भएका टाढा टाढाका क्षेत्रबाट जताततै तरकारी ढुवानी गरेर विक्री गर्नु आदि प्रमुख कारण भएका छन् । तर बाह्रै महिना सबैखाले तरकारी उपलब्ध हुने भएता पनि पहिले जस्तो आआफ्नो खास समयमा उब्जने तरकारी भन्दा हालका तरकारीहरूमा स्वाद खासै हुँदैन । 

 

उतिबेला काउली असोज महिनाको प्रारम्भतिर पाइन शुरु हुन्थ्यो भने जाडो बढेर शित पसेपछि बल्ल काउलीको स्वाद मिठो हुन थाल्थ्यो । भण्टा पनि वीरगञ्जदेखि ल्याएर बेचिन्थ्यो । वीरगञ्जे भण्टा र ताप्के भनेपछि प्रख्यात हुन्थ्यो त्यतिबेला । त्यस्तै लालबन्दीको गोलभेँडा । मिठो मुला कि त काठमाडौँ उपत्यकामा नै उमारिन्थ्यो या रानीपौवा वा त्रिशुलीदेखि ल्याएर बेचिन्थ्यो ।अल्लारे उमेरमा काँक्रो र मुला चोर्न खेतबारीमा पस्दा ज्यापुलेलखेटेका घटना सम्झँदा आज पनि आङ सिरिङ्ग हुन्छ । झरीको याममा पोखरामा पाइने हिमाली टुसाको पनि त्यतिकै माग हुने गर्दथ्यो ।

 

त्यतिबेलाका सागसब्जी ज्यादै स्वादिला हुन्थे । जाडोयामको रायोको साग र डुकु, चम्सुर–पालुङ्गो, धनिया, लसुन–प्याज, भण्टा, सलगम, मुला, ग्याँठकोबी, तरुल, पिँडालु, मटर कोसा, गोलभेँडा जे जस्ता तरकारी पनि अति मिठा हुने । त्यस्तै गर्मी यामका काँक्रा, गाजर, फर्सी, घिरौँला, चिचिण्डो, लौका, भटमास, मकै आदि पनि त्यत्तिकै स्वादिला । आलुको त कुरै छोडौँ । विभिन्न यामका नयाँ तथा पुराना, ठूला तथा साना आलु । 

 

राजधानीमा खपत हुने सागसब्जी काठमाडौँ उपत्यका र सेरोफेरोबाटै आपुर्ति हुने जमाना । उपत्यकाको थिमी, भक्तपुर, मनहराको किनारा, साँखु, हरिसिद्धि, बालाजु, स्वयम्भू, काठमाडौँ उपत्यका वरिपरिका काँठ क्षेत्र, सिंहदरबारको पुर्वपट्टिको धोबीखोलाको फाँट र हुँदा हुँदा हालको दूरसञ्चार र वाणिज्य, कृषि विकास बैङ्कको प्रधान कार्यालय रहेको सिंहदरवार प्लाजा समेत तरकारी उत्पादनको निम्ति ज्यादै प्रख्यात । हालको भृकुटीमण्डप रहेको क्षेत्रसमेत तरकारी बारी भएको जमाना । त्यसमाथि धुनीबेसी, ककनी, रानीपौवा, बनेपा आदिबाट समेत मौषमी तरकारीको ओइरो लाग्ने । अब त यी सबै क्षेत्रमा घर बनेर कुरुपताको पराकाष्ठा नाघिसक्यो भने राजधानीका नदी नाला समेत अति नै प्रदूषित भएका छन् । काठमाडौँ मात्र होइन, मुलुकका सबैजसा घना जनसंख्या भएका क्षेत्रको लागि आवश्यक साग–सब्जी र खाद्य पदार्थ भारत तथा अन्य मुलुकबाट आयात गर्नुपर्ने अवस्था छ हिजो आज । 

 

दशैँ ताकादेखि लप्सी, ट्याम्मटर, भोगटे, काँठे ज्यामिर, निबुवा, चश्मे कागती, सुन्तला आदिको बहार लाग्न शुरु हुने त्यतिबेला । आश्विनदेखि शुरु हुने मुटु काँप्ने जाडोका दिनहरूमा घाममा बसेर यस्ता अमिला फलपूmल साँधेर खाँदा र बदाम छोडाउँदै खाँदाको आनन्दै अर्कै । बुढापाकाहरू ‘ल है जाडोमा जति सकिन्छ हरिया परिया सागपात र अमिला फलपूmल खाएर सुख्खा र गर्मीयामको निम्ति तयार हुनुपर्छ’ भन्ने गर्दथे ।   

 

त्यतिबेलाका तरकारीहरू स्वादिला हुनुमा धेरै कारणहरू रहेका थिए । राजधानीको या तराई पहाड जहाँको कुरा गर्दा पनि त्यतिबेलाको मौषम ज्यादै अनुकुल प्रकारको हुने । पानीको छेलोखेलो र मलिलो माटो । रसायनिक मलको प्रयोग नगण्ड मात्रामा हुने जमाना । प्राङ्गारिक मलमा नै किसानहरू रमाउने जमाना । गाईवस्तुको मलको तीव्र प्रयोग । काठमाडौँ उपत्यकामा त झन् मानव मलकै प्रयोग । त्यतिबेला अहिले जस्तो घर घरका दिसा–पिसाब तथा प्राङ्गारिक मल बन्न सक्ने फोहर नदीमा फ्याँक्ने चलन थिएन । घर घरमा सेफ्टी ट्याङ्क हुन्थे । किसानहरू घर घरमा आएर खर्पन भरी मानव मल राखेर खेतका ड्याङहरूमा खनाउँथे । रसिलो भाग बिरुवाले सोसिहाल्थ्यो भने सुकेको मल गोडमेल गर्दा र खेत खन्दा माटोमा मिसिएर खेतै उर्वर हुन जान्थ्यो । त्यस्तै नदी नालामा रसायनिक पदार्थ नबग्ने भएकाले स्वच्छ पानी जमिन मुनी जम्मा हुन जान्थ्यो भने नदी नालाबाट कुलो बनाएर लगेको पानी पनि ज्यादै सङ्ग्लो हुन्थ्यो ।

 

चीनजस्तो विशाल मुलुकले केही वर्ष अघिसम्म पनि हङकङबाट रेलमा भरीभराउ गरेर मानव मल आफ्ना खेतको उर्वरा शक्ति बढाउन खरिद गर्ने गरेको थियो रे । तर हामी कहाँ खासगरी २०४० को दशकदेखि भएका सेफ्टी ट्याङ्क पनि पुरेर ढलमा दिसा–पिसाब तथा विभिन्न उद्योगका रसायनिक पदार्थहरूबगाएर नदी नालामा पु¥याउने परिपाटीले एकातिर प्राङ्गारिक मलको विशाल स्रोत नै खतम हुन गयो भने अर्कोतिर हाम्रा नदीनाला ज्यादै नै प्रदूषित हुन पुगे ।

 

घरघरमा करेसा बारी र फलफुलका बोट हुन्थे त्यतिबेला । कैयन् सागसब्जी, मकै, काक्रा, फर्सी, धान जस्ता तरकारी र अनाज तथा अम्बा, कागती, भोगटे, नास्पाती, हलुवाबेद, केरा आदि जस्ता फलफुल घरघरै फल्ने गर्दथे । सबैका घरमा यथेष्ट करेसा बारी हुन्थे । तर समय बित्दै गएपछि राजधानी पनि ठूलो हुँदै गयो र यहाँ जमीनको भाउ बढ्दै जानाले र किसानकै छोराछोरीले समेत खेती किसानीमा त्यति चाख लिन छोडेकाले जग्गा बेच्ने र घर बनाउने कामले प्रश्रय पाउँदै गयो र आखिर आज आएर निकै कम क्षेत्र मात्र खेतीको लागि उपयुक्त छ हाम्रो राजधानी शहरभित्र ।

 

हराभरा वातावरण र पानीको प्रचुरता भएपछि तापक्रम पनि धेरै नबढ्ने । सँधै शितलताको अनुभव हुने । काठमाडौँमा गर्मीयाममा समेत पङ्खा चाहिँदैन थियो । रेफ्रिजिरेटरको त चलन नै थिएन । सुराही र माटोको गाग्रीमा राखेको पानी ज्यादै चिसो र मिठो पनि हुने । जाडोयाममा धाराको पानी नै जम्ने र सेतो तुसारो पर्ने चौरहरूमा । खेतमा काम गर्ने ज्यापुहरू कालो भादगाउँले टोपी थापेर त्यसैबाट पानी खान्थे, खाजा खाने समयमा खेतमा च्युरा, भटमास, आलु, मासु र जाँड खान्थे । कहिले काहीँ हामी नजिक छौँ भने उनीहरूको खाजा चखाउँथे पनि । हामीलाई यी सब कुराले ज्यादै आकर्षित गर्दथ्यो ।

 

सुख्खायाम यानी गर्मी मौषमको लागि गृहिणीहरू तितौरा, मस्यौरा, मुलाको चाना, करेला, गुन्द्रुक आदि सुकाएर सिसी भरी भरेर राख्दथे । गर्मीमा वा सुख्खा ठाउँहरूमा साग खान नपाइने भएरै गुन्द्रक बनाउन सिकेका होलान् हाम्रा पुर्खाहरूले ।

 

आज आएर नेपालका उच्च पहाडि क्षेत्रमा पनि गर्मी बढ्दै गएको छ, पानीको चरम अभाव छ र विभिन्न खाले रोगका महामारीसमेत उकालो चढ्दै पहिलेका रोग मुक्त क्षेत्रहरूमा समेत प्रत्येक वर्ष पुग्दैछन् । गाउँघरबाट कृषिमा लाग्नु पर्ने युवा पिँढी विस्थापित भएर विदेशिइरहेका छन् भने प्रायः महिला र वृद्धवृद्धाले आफ्नो उपभोगको निम्ति केही उब्जनी गर्ने वाहेक धेरै खेतीगर्न नसकेर खेतीयोग्य जमीन बाँझा हुँदै गएका छन् । युवा पिँढीले खेती छोड्नुको मुख्य कारण खेतीमा ज्यादै धेरै मेहनत चाहिने, सिँचाईको निम्ति यथेष्ट पानी चाहिने र माटोको उर्वरा शक्ति बढाउन मलखादको व्यवस्था हुनुपर्ने अनि खेतीको उत्पादन बढाउन उच्चकोटीको विउ–विजन पनि चाहिने । यो सबको निम्ति पैसा चाहिने र यदि पैसा भयो भने पनि बजारमा यस्ता अत्यावश्यक वस्तुको आपुर्तिमा कमी हुने र कुनै तहका सरकारबाट पनि सहयोग नपाउने । फेरी यति दुख कष्ट गरेर उत्पादन गरेको वस्तुको बजार र मूल्य नै नपाइने । अनि के को खेती गर्नु ।

 

उता काठमाडौँ उपत्यका र तराईका पनि उर्वर खेतमा काम गर्ने किसानका नयाँ पिँढीका सन्तानलेपुर्खाले जसरी मेहनत गरेर किसानी गर्न नरुचाउने वा नसक्ने र सबैलाई या त उच्च अध्ययनको निम्ति वा रोजगारीको निम्ति मुलुक बाहिर जानै पर्ने । यस्तो अवस्थामा पहिले पहिले हामीले खान पाएका जस्ता स्वच्छ र मिठा साग–सब्जी कताबाट खान पाउनु । कम खेतीमा धेरै उब्जनी गर्ने नाममा विश्वभर रसायनिक मलको प्रयोग बढेको, हामी कहाँ आयात हुने तरकारी र फलफुललाई छिटो छिटो पकाउन विभिन्न खालको विषादीको प्रयोग हुने गरेकोले पनि हिजो आज खानाकै कारण मानिसहरूमा विभिन्न खालका भयानक रोगहरू लागेर कलिलै उमेरमा अकालमा ज्यानसम्म जाने गरेको छ ।  गाई–वस्तु तथा मासुको लागि पालिने पशुपंक्षीले समेत चरन क्षेत्रको अभाव र दाना–पानी सबै प्रदूषित भएको कारणले गर्दा पहिले जस्तो स्वच्छ र स्वस्थ हुन पाएका छैनन् भने उनिहरूको दूध तथा मासुबाट समेत विभिन्न रोगहरू सर्ने गरेका छन् ।

 

अझैं  पनि सरकारले चाहेको खण्डमा कृषिको सर्वोपरि विकास गरेर मुलुकका जनतालाई स्वच्छ खाद्य वस्तु उपभोग गर्ने वातावरणको सिर्जना गर्न सक्दछ । तर हालै सम्पन्न आम निर्वाचनमा आम जनताले देखाएको अभिमतलाई समेत वास्ता नगरी आफ्नो सरकार बनाउन र आफु शक्तिशाली बन्न तथा आफ्नै स्वार्थमा लिप्न हुन मात्र अधिकांश नेताहरू लागी परेको देख्दा नेपाली जनताले सोचे जस्तो स्वस्थ वातावरण कुनै पनि क्षेत्रमा तत्काल आउला जस्तो संकेत देखिएको छैन । यो नै हाम्रो देशको सबैभन्दा ठूलो विडम्बना हो ।  

 

-लेखक विकास अर्थशास्त्री र पुर्व बैंकर हुन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार