• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
पत्रपत्रिका

आजदेखि मेलम्चीको पानी वितरण

 

काठमाडौँ । मेलम्चीको पानी तेस्रो पटक उपत्यकाका धारामा पुग्दैछ । गत असार १७ गतेबाट मेलम्चीको पानी वितरण बन्द थियो ।

 

खानेपानीमन्त्री उमाकान्त चौधरीले शुक्रबार बिहान महाँकालस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी छोड्नुहुनेछ । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार सुन्दरीजल प्रशोधन केन्द्रबाट बिहीबार काठमाडौँ भण्डार केन्द्रका लागि पानी छोडिएको छ । उहाँले यस पटक लगातार कम्तीमा छ महिना पानी वितरण गरिने जानकारी दिनुभयो । 

 

यसअघि २०७७ चैतमा पहिलो पटक मेलम्चीको पानी अस्थायी रूपमा राजधानी ल्याइएको थियो । मेलम्ची खोलामा आएको बाढीपहिरोका कारण क्षति पुगेपछि वितरण बन्द गरिएको थियो र २०७८ चैतमा दोस्रो पटक मेलम्चीको पानी वितरण थालिएको थियो । 

 

सुरुङबाट प्रतिसेकेन्ड करिब पाँच सय लिटर पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा जम्मा भइरहेको छ । उपत्यकामा क्रमशः दैनिक १७ करोड लिटर पानी वितरण गरिनेछ । काठमाडौँ उपत्यका खानेपानी आयोजनाअन्तर्गतका विभिन्न स्रोतबाट सङ्कलित १० करोड लिटर पानी पनि वितरण गरिनेछ ।

 

उहाँका अनुसार उपत्यकामा १० वटा ट्याङ्की निर्माण गर्नुपर्नेमा नौवटाको निर्माण सम्पन्न भइसकेको छ भने भक्तपुरको कटुञ्जेमा पानी ट्याङ्की निर्माणाधीन अवस्थामा छ ।

 

आयोजनाका अनुसार आरुबारी, महाँकाल चौर, बाँसबारी, पानीपोखरी, बालाजु र ललितपुरको खुमलटारमा ट्याङ्की निर्माण गरिसकिएको छ । ती ट्याङ्कीमा ७४ हजार पाँच सय घनमिटर पानी सङ्कलन हुनेछ ।भउचप्रसाद यादव,गोरखापत्र 

    

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार